काँकरभिट्टामा नेवार समुदायले मनाए नेपाल संवत् ११४७ को नयाँ वर्ष

A notice in Nepali from Mechinagar Ward No. 10
काँकरभिट्टामा नेपाल संवत् ११४७ को अवसरमा आयोजित नेवारी सांस्कृतिक भिन्तुना र्‍याली र लाखे नाच

सुजन प्रधान

झापाको मेचीनगर–६ काँकरभिट्टाका नेवार समुदायले विविध सांस्कृतिक कार्यक्रमसहित नेपाली मौलिक संवत् नेपाल संवत् ११४७ को नयाँ वर्ष मनाएका छन्।

नेपाल संवत्को स्वागतमा नेवाः समाज समितिले लाखे नाचसहितको सांस्कृतिक भिन्तुना र्‍याली तथा औपचारिक शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।

नेपालको ऐतिहासिक तथा मौलिक संवत्को स्वागतार्थ आयोजित र्‍यालीमा स्थानीय नेवार समुदायका साथै विभिन्न संघसंस्था र सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

परम्परागत वेशभूषामा सांस्कृतिक र्‍याली

काँकरभिट्टा नेवाः सामुदायिक भवनबाट बिहान सुरु भएको र्‍यालीले बाहुनडाँगी रोड, पुरानो सुपारी लाइन, पुरानो गाविस रोड, बसपार्क र पञ्चमुखी हनुमान मन्दिरलगायत बजारका मुख्य भागको परिक्रमा गरेको थियो। बजार परिक्रमा गरी पुनः सामुदायिक भवन पुगेको र्‍याली औपचारिक कार्यक्रममा परिणत भएको थियो।

र्‍यालीमा सहभागीहरू नेवारी संस्कृति र पहिचान झल्काउने परम्परागत पोसाकमा सजिएका थिए। पुरुषले दौरा–सुरुवाल (कोथ्य लः) र महिलाले हाकुपटासी लगाएका थिए। कार्यक्रममा दाफा, विभिन्न सांस्कृतिक झाँकी तथा नेवारी संस्कृतिको प्रतीक लाखे नाचसमेत प्रस्तुत गरिएको थियो।

नेपाल संवत् राष्ट्रिय मौलिक संवत् हो : श्रेष्ठ

औपचारिक कार्यक्रममा बोल्दै समितिका सल्लाहकार विष्णुकुमार श्रेष्ठले नेपाल संवत्को ऐतिहासिक महत्वबारे सबै समुदायलाई जानकारी गराउन आवश्यक रहेको बताए।

नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको उल्लेख गर्दै उनले यसको पहिचान र प्रतिष्ठा स्थापित गर्न सबैले पहल गर्नुपर्ने धारणा राखे। नेपाल संवत् कुनै आयातित संवत् नभई राष्ट्रिय मौलिक संवत् भएकाले यसप्रति गर्व गर्नुपर्ने उनको भनाइ थियो।

सबै नेपाली जातजाति र समुदायबीच आपसी सद्भाव कायम राख्दै विभिन्न संस्कृतिको पहिचान र महत्वलाई सम्मान गर्नुपर्ने उनले बताए। नेपाल संवत् नेवार समुदायको मात्र नभई सबै नेपालीको साझा संवत् भएको विषयमा जनचेतना फैलाउनुपर्नेमा उनले जोड दिए।

आयोजक संस्थाका अध्यक्ष कमल गुभाजुले नेवार समुदायको कला, संस्कृति र संस्कारले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए। नेवारी भाषा, लिपि र संस्कृति समुदायको पहिचान भएकाले यसको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ थियो।

भाषा र संस्कृति संरक्षणमा जोड

मिसा खल मेचीनगरकी अध्यक्ष सरिता जोशीले मौलिक पहिचान झल्काउँदै नेवारी संस्कृति संरक्षण गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको बताइन्।

नेवार समुदाय एउटा जातिमात्र नभई सभ्यता पनि भएको उल्लेख गर्दै उनले नयाँ पुस्ताले आफ्नो भाषा, संस्कृति र परम्परालाई निरन्तरता दिनुपर्ने धारणा राखिन्।

नेवार समुदायमा आफ्नो भाषा र संस्कृति छाड्ने प्रवृत्ति बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले नेवारी भाषा बोल्न, संस्कृति मान्न र परम्परागत वेशभूषा लगाउन कसैले पनि हिच्किचाउन नहुने बताइन्।

कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वाको जीवनीबारे पण्डित चक्र जोशीले प्रकाश पारेका थिए। आयोजक संस्थाका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले शंखधर साख्वाले नेपाल संवत् प्रचलनमा ल्याएको ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराएका थिए।

उनका अनुसार शंखधर साख्वालाई विसं २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने विसं २०६५ कात्तिक ७ गते नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरिएको थियो। नेवार समुदायमा प्रचलित म्हः पूजाको दिनदेखि नेपाल संवत्को नयाँ वर्ष सुरु हुने परम्परा छ।

कार्यक्रममा सहभागीहरूले एकापसमा ‘न्हु दँया भिन्तुना’ भन्दै नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए।

नेवाः समाज समितिका अध्यक्ष कमल गुभाजुको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन समितिका सहसचिव भुवनलाल श्रेष्ठले गरेका थिए। कार्यक्रममा मिसा खल मेचीनगरकी अध्यक्ष सरिता जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

Mechinagar Ad 2 (Sidebar)
Mechinagar Ads 1
Mero Viber

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.