कार्तिक १७, मेचीनगर: चर्को विरोध र राजनीतिक तथा जनदबाबका बीच झापाको मेचीनगर नगरपालिकाले करार, अस्थायी र ज्यालादारी कर्मचारीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ। आज बिहान बसेको नगर कार्यपालिका बैठकले अघिल्लो निर्णय उल्ट्याउँदै निस्कासन गरिएका सम्पूर्ण कर्मचारीलाई एकमुष्ट रूपमा पुनः बहाली गर्ने निर्णय गरेको हो।
असोज २९ गतेको कार्यपालिका बैठकले संघीय सरकारको परिपत्र कार्यान्वयन गर्ने भन्दै करार, अस्थायी र ज्यालादारी श्रेणीका करिब १३८ जना कर्मचारीलाई एकैपटक निष्कासन गरेको थियो। उक्त निर्णय सार्वजनिक भएपछि नगरपालिकाभित्रै विरोधको लहर फैलिएको थियो।
निस्कासनमा परेका कर्मचारीहरू आन्दोलनमा उत्रिएका थिए भने विभिन्न राजनीतिक दलका स्थानीय नेताहरूले समेत नगरपालिकाको निर्णयको खुलेर विरोध गरेका थिए। सर्वसाधारण, कर्मचारी संघ–संगठन र राजनीतिक तहबाट चर्को दबाब परेपछि अन्ततः मेचीनगरले आफ्नो निर्णय सच्याएको हो।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्नीप्रसाद अधिकारीका अनुसार, बिहानी बैठकले सम्पूर्ण निष्कासन गरिएका कर्मचारीलाई तत्कालीन पदमा फर्काउने निर्णय गरेको हो।
“स्थायी पदपूर्ति भएपछिमात्र ती पदहरू क्रमशः रिक्त हुनेछन्,” अधिकारीले बताए, “आन्दोलनरत कर्मचारीका प्रतिनिधिहरूले पनि स्थायी नियुक्ति भएपछि आफैंँले स्थान खाली गर्ने सहमति जनाएका छन्।”
यसअघि निष्कासनको विरोधमा कर्मचारीहरूले कार्यालयमा तालाबन्दी गर्दै मेचीनगरमा निरन्तर विरोध प्रदर्शन गरेका थिए। आन्दोलनका क्रममा कर्मचारीहरूले “स्थानीय सरकारको अन्यायपूर्ण निर्णय खारेज गर” भन्ने नारासहित सडकमा नारा–जुलुस गरेका थिए।
नगरपालिकाको पछिल्लो निर्णयले आन्दोलनरत कर्मचारीहरूमा राहत र खुसीको वातावरण सृजना गरेको छ।
एक आन्दोलनकारी कर्मचारीले भने, “हामी स्थानीय सेवामा समर्पित भएर काम गरेका थियौं, अन्यायपूर्ण निर्णयले हाम्रा परिवारको चुल्हो निभाउने अवस्था आयो, अहिले पुनः बहालीको निर्णयले राहत मिल्यो।”
स्थानीयवासीहरूका अनुसार, स्थायी दरबन्दी नहुँदा नगरपालिकाको सेवा–सुविधा प्रभावित हुँदै आएको थियो। पुनः बहालीको निर्णयले स्थानीय सेवामा निरन्तरता आउने अपेक्षा गरिएको छ।


























