मेचीनगरमा पूर्णखोप सम्बनिध गोष्ठी

A notice in Nepali from Mechinagar Ward No. 10

मेचीनगर, २९ माघ ÷ स्थानीय तहबाटै योजना बनाएर खोप लगाउन छुटेका बालबालिकाको खोजी कार्य गरेर पूर्णखोप सुनिश्चितता दिलाउने तथा दीगोपना कायम राख्ने उद्घेशयले खोपसेवा सुदृढिकरण सम्बनिध नगरपालिकास्तरीय दुईदिने योजना तथा अभिमुखीकरण गोष्ठी विहीबार मेचीनगरमा सम्पन्न भएको छ ।

नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझा, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, विभिन्न जनप्रतिनिधिहरु,नगरका विभिन्न स्वास्थ्य शाखा प्रमुख खोपकर्तालगायतको उपस्थितीमा भएको गोष्ठीमा स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले सहजीकरण गर्नुभएको थियो । उहाँले खोपको महत्वका बारेमा प्रकाश पादैं हरेक नेपालीको औसत आयुसम्म पुग्न ५० प्रतिशत भूमिका खोपले खेलेको प्रष्ट पार्नुभयो ।

खोप कार्यक्रमको माध्यमबाट नेपालमा बाल मातृ मृत्युदरमा कमि आउनुका साथै विफर रोग उन्मुलन समेत भइसकेको बताउदैं यादवले खोप सेवा प्राप्त गर्नु हरेक बालबालिकाको नैसर्गिक अधिकार हो भने खोप सेवा प्रदान गर्नु स्वास्थ्यकर्मीको जिम्मेवारी पनि रहेको जानकारी दिनुभयो ।

धेरै बालबालिकाहरु विभिन्न खोपबाट बञ्चित हुन सक्ने र अनेक रोगको महामारीको प्रवल सम्भावना रहने हुँदा खोप कार्यक्रमलाई निरन्तरता दिनुपर्ने स्वास्थ्य संस्थाबाट प्रदान हुने कार्यक्रमहरुमध्ये खोप एउटा प्राथमिकतामा पर्ने यादवले जानकारी दिनुभयो ।

नगरप्रमुख विमल आचार्यले मेचीनगरक्षेत्रका धेरै मानिसहरुको पहँुच अहिलेपनि स्वास्थ्यमा नपुगेको भन्दैं स्वास्थ्यको पहँुचबाट टाढा टाढा रहेका नगरवासीलाई घर घरमै स्वास्थ्य सेवा प्रदान गर्न र स्वास्थ्य सेवाबाट बञ्चित हुन नदिन स्वास्थ्यकर्मीहरुले भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । खोपको पहुँचदेखि बाहिर रहेकाले हरेक बालबालिकालाई खोपकेन्द्र सम्म पुर्याउनु प्रत्येक अभिभावको दायित्व रहेको भन्दैं नगरप्रमुख आचार्यले खोप पाउनु हरेक वालवालिकाको नैसर्गिक अधिकार भएकाले हरेक अभिभावकले आफ्ना बालबालिकालाई खोपकेन्द्रसम्म पुर्याएर खोप लगाउनु अभिभावकहरुको मुख्य कर्तव्य रहेको बताउनुभयो ।

पूर्णखोप सुनिश्चीतता तथा दीगोपना कायम राख्न तथा भावी दिनमा आउने महामारी रोगबाट बच्न पनि खोेप आवश्यकता भएकाले प्रत्येक बच्चालाई खोप लगाउनबाट कसैले पनि बञ्चित गर्न नहुने उहाँको भनाई थियो । सरकारले खोपलाई उच्च प्राथमिकतामा राखेका कारण सरकारी लक्ष्य पुरा गर्न हरेक समुदाय लाग्नुपर्ने उहाँको तर्क थियो । प्रमुख आचार्यले हरेक वर्ष सञ्चालन हुने राष्ट्रिय खोप कार्यक्रम दादुरा रुबेला, पोलियोलगायत सवै प्र्रकारका खोप अभियानमा सहभागी हुन आम नगरवासीमा आग्रह समेत गर्नुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले खोप लगाउन छुटेका हरेक बच्चालाई खोपकेन्द्र सम्म लगेर खोप लगाउन आग्र्रह गदैं खोप लिनबाट कुनै पनि बालबालिका छुट्न नहुने धारणा व्यक्त गर्नुभयो । बजारमा जसरी खोपका बारेमा नकरात्मक प्रचारहरु आइरहेका छन् त्यसको पछि नलागेर सवैले आफ्ना बालबालिकालाई समयमै खोपकेन्द्रमा लगेर खोप लगाउन समेत उहाँले सवैमा आग्रह गर्नुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नगरपालिकाले हाल सञ्चालन गदैं गरेको स्वास्थ्य सेवालाई वृहद बनाएर लैजानुपर्ने बताउनुभयो ।

चेतना र शिक्षा अभावका कारण अहिले पनि खोपलिनबाट धेरै बालबालिका बञ्चित भएकाले स्वास्थ्यकर्मी र महिला स्वयम््सेविकाहरु खोपलिनबाट छुटेका बालबालिका खोज्दैं हरेकका घर गाउँ टोल छिर्ने स्वास्थ्य शाखाले जनाएको छ । आफ्ना घर आगनमा आउने स्वास्थ्यकर्मी र महिला स्वयम््सेविकाहरुलाई सवैले आ आफ्नोक्षेत्रबाट सहयोग गर्नुपर्ने शाखाको भनाई छ ।

पूर्णखोप लिन छ्टेका बालबालिकाहरुको खोजी कार्य गहनरुपले भएको, सवैलाई पूर्ण खोप प्रदान गरेको तथा अभिलेख अध्यवधिक भएको, वडाको वास्तविक तथ्याङ्क प्राप्त भएको, जनप्रतिनिधि तथा समुदाय एवम् अभिभावकहरुबाट पूर्णरुपमा सहयोग प्राप्त भएको १५ वटै वडाका वडाखोप समन्वय समितिबाट पूर्ण खोप दिगोपना कायम रहेको प्रस्ताव कार्य सर्वसममले पारित भएको १५ वटै वडा कार्यालयबाट प्रमाणिकरण भइ आएको र खोजी कार्यको अनुगमन वृहदरुपमा हुनुलाइ कार्यक्रमको सवल पक्षका रुपमा लिनुपर्ने यादवले बताउनुभयो । नगरको धुलावारी प्राथमिक स्वास्थ्य केन्द्र, दुहागढी, धाइजन, बाहुनडाँगी, ज्यमिरगढी र काँकरभिट्टा स्वास्थ्य चौकीले खोपसेवा प्रदान गदैं आएको छ । मेचीनगर नगरपालिका २०७५ असार ७ गते विधिवतरुपमा पूर्णखोप नगरपालिका घोषणा भईसकेको छ । ‘खोज र खोप ’ भन्ने नीति अनुरुप नगरका १५ वटै वडामा स्वास्थ्यकर्मी तथा महिला स्वयम् सेविकाहरु परिचालन गरीएको छ ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत बालकृष्ण भण्डारीले समग्र झापा जिल्लाको खोपको अवस्था र प्रगतिका बारेमा जानकारी दिनुभयो । स्वास्थ्य केन्द्र, दुहागढी, धाइजनका प्रमुख सविता सापकोटाले सञ्चालन गरेको कार्यक्रममा कार्यपालिका सदस्य कृष्ण कनाल, विन्दा प्रसाई नगर सदस्य छोटबहादुर राईलगायतले आ आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.