दाङ। बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्ने बस्ती स्थानान्तरणको माग सम्बोधन नभएको भन्दै दाङको एक मतदान केन्द्रका स्थानीयले सामूहिक रूपमा निर्वाचन बहिष्कार गरेका छन्। बबई गाउँपालिका–१ स्थित जनता आधारभूत विद्यालय मतदान केन्द्रमा दिनभरमा जम्मा ९ मत मात्र खसेको छ।
निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र बसोबास गर्ने मतदाताहरूले लामो समयदेखि आफूहरूलाई अन्यत्र सुरक्षित स्थानमा सार्नुपर्ने माग राख्दै आएका थिए। तर, पटक–पटकका निर्वाचनमा प्रतिबद्धता गरिए पनि माग पूरा नभएको भन्दै बबई–१ र ७ का बासिन्दाले यसपटक मतदानमा भाग नलिने अडान लिएका हुन्।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार, निकुञ्ज क्षेत्रभन्दा बाहिर बसोबास गर्ने ९ जना मतदाताले मात्र मतदान प्रक्रियामा सहभागिता जनाएका छन्। बाँकी मतदाताहरू दिनभर मतदान केन्द्रमा नपुगेपछि यो केन्द्रमा खसेको मत संख्या ‘एकल अङ्क’ (Single Digit) मा सीमित भएको हो। मतदान अधिकृत र सुरक्षाकर्मीहरू दिनभर कुरेर बसे पनि स्थानीयको अडानका कारण मतदानको प्रतिशत नगन्य देखिएको छ।


























