सप्तरी। सप्तरीमा बाढीले बगाउँदा एक बालकको मृत्यु भएको छ।बुधबार अपरान्ह साढे ४ बजे बलान बिहुल गाउँपालिका वडा नम्बर ४ बेल्ही बस्ने १३ वर्षीय सन्तोष भण्डारीलाई बाढीले बगाएको हो।
उनका बुवा किसुनदेव भण्डारी खेतमा काम गरिरहेका थिए। बुवालाई खाजा पुर्याउन जाँदा खोलामा आएको बाढीले बालक सन्तोष भण्डारीलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले जानकारी दिए। खोलाले बगाउँदा बालक बेपत्ता भएका थिए।
बेपत्ता भण्डारीलाई प्रहरीले पानीमा खोजतलास गर्दा भारतको मधुबनी मझौरास्थित बलान खोला छेउमा फेला परेको हो। बालकको पोष्टमार्टम गरी मृतकका आफन्तलाई शव बुझाइसकिएको छ।
प्रहरीले स-साना बालबालिकाहरुलाई नजिकको पोखरी, नहर कुलो, तलाउ लगायतमा नपठाउन अनुरोध गरेको छ।

























