स्वयंसेवी कार्यमा स्काउट सधैं अग्रपंक्तिमा : प्रधानमन्त्री ओली

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं, असार ५ : प्रधानमन्त्री केपी ओलीले देशलाई जुनसुकै संकट परेका बेला पनि उद्धार, राहतलगायतका स्वयंसेवी कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिदैं आएको उल्लेख गर्दै त्यस किसिमको प्रशंसनीय र अनुकरणीय कार्यप्रति  धन्यवाद ज्ञापन गर्नुभएको छ।

नेपाल स्काउटको  ७० औं स्थापना दिवसको अवसरमा शुभकामना दिँदै उहाँले नेपाल स्काउटले गरेको कामको प्रशंसा गर्दै उन्नत मानवीय भावनाले ओतप्रोत, नैतिक धरातलयुक्त र विकसित मुलुक बनाउन स्काउटले खेलेको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको छ।

देशले लिएका उद्देश्यहरु, देशले अपनाएका नीतिहरु स्काउटका उद्देश्यहरुसँग मिल्दाजुल्दा रहेको उहाँले बताउनु भयो। आजको सरकार युवाहरुको साथ र स्काउटको साथमा रहेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ।

‘आजको सरकार बालवालिकाहरुको साथमा छ। म तपाईंहरुको साथमा छु। हामीले लामो समय संर्घष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौँ र लोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरु स्थापना गरेका छौँ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘यिनै विधि र प्रणालीमा उभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल–सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएका छौँ। हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो।’

यस्ताे छ शुभकामना सन्देशकाे पूर्णपाठ

सम्पूर्ण स्काउट दिदिबहीनी तथा दाजुभाइहरु
सर्वप्रथम नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा सम्पूर्ण स्काउटहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । यस अवसरमा उन्नत मानवीय भावनाले ओतप्रोत, नैतिक धरातलयुक्त र विकसित मुलुक बनाउन दत्तचित्तले सक्रिय स्काउट दिदीबहिनी तथा दाजुभाइहरुको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

बालबालिका तथा युवाहरुमा शारीरीक, बौद्धिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भवनाको विकास गराई उनीहरुलाई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यका साथ विश्वमा सन् १९०७ र नेपालमा बिसं २००९ (सन् १९५२) मा स्काउट अभियानको सुरुवात भएको थियो । त्यसयताका सात दशकमा मुलुकले विभिन्न क्षेत्रमा धेरै परिर्वतनहरु हासिल गरिसकेको छ ।

देश परिर्वतनका संवाहक हाम्रा वालवालिका तथा युवाहरुलाई चरित्रवान, स्वयंसेवी, नैतिकवान र स्वावलम्वी शिक्षा सिकाई उनीहरुलाई सानै उमेरदेखि साहासिक क्रियाकलाप, विपद् व्यवस्थापन, सामुदायिक कार्य र स्वध्ययनमा लगाउन नेपाल स्काउटको भूमिका उल्लेखनीय रहँदै आएको छ । फलस्वरुप देशलाई जुनसुकै संकट परेका बेला पनि उद्दार, राहत लगायतका स्वयंसेवी कार्यमा स्काउट सधैं अग्रपंक्तिमा उभिदैं आएको छ ।

कोभिड १९ महामारीको दोस्रो लहरमा पनि गत वर्ष झैं देशभरिका स्काउट स्वयमसेवकहरु दिनरात नभनी शब व्यवस्थापन लगायत विभिन्न स्वयम्सेवी कार्यमा सक्रियताका साथ खटिंदै आएका छन् । यस्तो प्रशंसनीय र अनुकरणीय कार्यप्रति म हार्दिक धन्यवाद र सम्मान व्यक्त गर्न चाहान्छु ।

आज हाम्रो देशले लिएका उद्देश्यहरु, हाम्रो देशले लिएको बाटो, देशले अपनाएका नीतिहरु र हामीले निर्धारण गरेका आजका लक्ष्यहरु स्काउटका उद्देश्यहरुसँग मिल्दाजुल्दा छन् । आजको सरकार युवाहरुको साथमा छ । आजको सरकार स्काउटको साथमा छ ।

आजको सरकार बालवालिकाहरुको साथमा छ । म तपाईंहरुको साथमा छु । हामीले लामो समय संर्घष गरेर लोकतान्त्रिक प्रणाली ल्याएका छौँ रलोकतन्त्रलाई कार्यान्वयन गर्नका लागि प्रणाली र विधिहरु स्थापना गरेका छौँ । यिनै विधि र प्रणालीमाउभिएर, यसलाई विकसित गरेर हामीले समृद्ध नेपाल-सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएका छौँ । हाम्रो यात्रा सुशासन तर्फको हो, विकास तर्फको हो ।

विभिन्न पक्षहरुबाट भएको अवरोधका वाबजुद हाम्रा हरेक पाइला समृद्ध देश निर्माण गर्ने र जनतालाई सुखी बनाउने काममा अग्रसर छन् ।

विकास र समृद्धिको यस राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालवद्ध प्रयास सहयोगी हुने छ भन्ने मैले विश्वास लिएको छु । प्रचुर प्राकृतिक स्रोत र विविधतायुक्त मौलिक संस्कृतिको यस देशलाई हामीले सुशासन र विकासतर्फ हिंडाइरहेका छौँ ।

नेपाललाई हामी गरिवीबाट सम्पन्नतातिर र पछौटेपनबाट विकासतिर अग्रसर गराइरहेका छौँ । यसै मार्फत नेपाललाई सम्पन्न राष्ट्रको रुपमा चिनाउन हामी कृतसंकल्पित छौँ ।

नेपालस्काउटमा आवद्ध अनुशासित हाम्रो नयाँ पिँढीका प्रयासहरुले यस जीवनमय र उर्भर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने छ भन्ने मेरो विश्वास छ । नेपाल स्काउट नितान्त बालाबालिका र युवाहरुमा सर्वपक्षीय विकासका लागि अनौपचारिक शिक्षा प्रदान गर्ने निकाय हो ।

मैले संरक्षकत्व ग्रहण गरिसकेपछि यस संस्थामा युवाहरुको सहभागिता र सक्रियता उल्लेखनीय रुपमा वृद्धि भएको छ । नेपाल स्काउटले बालबालिकाहरुलाई सशक्त बनाउन समसामयिक, रोचक र प्रभावकारी कार्यक्रमहरु सफलता पूर्वक गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय रोभरमुट, ज्याम्बोरी, प्रदेश स्तरका तालिम लगायतका कयौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा हजारौं बालाबलिका तथा युवाहरु सहभागी भई ज्ञान र अनुभव प्राप्त गरिरहेका छन् । स्काउट र बालाबलिकाहरुका समस्या, गुनासो, जिज्ञासा र सुझावहरुलाई प्रत्यक्ष बुझ्न मेरै उपस्थितिमा ‘बालबालिकासँग प्रधानमन्त्री’ कार्यक्रमको सुरुवात गरी हरेक वर्ष यसलाई निरन्तरता दिइएको छ ।

नेपाल स्काउटको संगठनलाई संविधान अनुकुल बनाउन सातै प्रदेश र ७५३ वटै स्थानीय पालिकामा विस्तार गरिएको छ र अन्तर्राष्ट्रिय सम्बन्धमा समेत व्यापक सुधार भई नेपाल एसिया प्रशान्त क्षेत्रमै एउटा नमुना र अब्बल स्काउट सदस्यराष्ट्र बन्न सफल भएको छ ।

देशका हरेक विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तार गर्न नेपाल सरकारले आगामी आर्थिक वर्षभित्र देशका १३ हजार सामुदायिक विद्यालयमा स्काउट एकाई सञ्चालन गर्ने घोषणा समेत गरिसकेको छ ।

स्काउट शिक्षा मार्फत अब हरेक बालबालिका र युवाहरुलाई सक्षम, स्वावलम्वी र राष्ट्रप्रेमी बनाई, सामाजिक जागरण र विपद् व्यवस्थापनको क्षेत्रमा स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा first responder को रुपमा परिचालन गर्न म सम्बन्धित सबैमा ध्यानाकर्षण समेत गराउन चहान्छु ।

विश्वव्यापी महामारीको यस संकटपूर्ण घडीमा सरकारले तोकेका सुरक्षा सावधानीका मापदण्डहरुलाई कडाइका साथ पालना गर्दै विस्तारै जनजीवन सहजता तर्फ उन्मुख हुनेमा म विश्वस्त छु। यस विषम् परिस्थितिवीच यसपालीको स्काउट स्थापना दिवस घरमै बसेर अनलाईन प्रविधिमार्फत मनाउन पनि म सबैमा आह्वान गर्दछु।

अन्त्यमा, नेपाल स्काउटको ७० औँ स्थापना दिवसको अवसरमा सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।
५ असार २०७८
केपी शर्मा ओली

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.