विर्तामोडमा दैनिक शव फेला पर्न थालेपछि स्थानीय त्रसित

३० असार, मेचीनगर : गएको ५ पुसमा बिर्तामोड नगरपालिका –२ चैतुबारीमा स्थानीय बिरबल राजवंशीकी श्रीमती ४२ वर्षीया दिनोसरी राजवंशीको शव खेतमा फेला पर्यो ।

गत चैत २२ गते बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको शव मेचीनगर— १२ चाराआलीस्थित पूर्व–पश्चिम राजमार्गदेखि सय मिटरपूर्व प्रगति सामुदायिक वनभित्र फेला पर्यो ।

निरौलाको शंकास्पद मृत्यु भनिरहेका बखत तीन दिनपछि अर्जुनधारा—६ कालीझोडा बस्ने ५० वर्षीय गौतम परियारको लाश बिर्तामोडको सुगम पेट्रोल पम्प छेउको झाडीमा फेला परेको थियोे ।

यी माथिका घटनाको प्रहरीले अनुसन्धान गरिरहेको छ । उनीहरुको कसैले हत्या गर्यो वा आफै आत्महत्या गरेका हुन् त प्रहरी ठया्क्कै यहि हो भन्न सक्ने अवस्थामा छैन् ।

यी सवै घटनालाई ‘दुधका दुध पानीको पानी छुट्याउन’ नसकिरहेका बखत २८ असारमा बिर्तामोड नगरपालिका–५ सुगम पेट्रोल पम्म नजिकै बिर्तामोड–५ की २६ वर्षीया सिर्जना बस्नेतको शव फेला पर्यो । यी सबै घटनाको पुष्टि जिल्ला प्रहरी कार्यालय झापाले गरीसकेको छ ।

निरौलाको शव जंगलमा भेटिएको घटना सेलाउन नपाउँदै परियारको शव फेला पर्नुले स्थानीयवासीमा त्रास भइरहेका बखत पुनः यस्तै प्रकृति घटना दोहोरिनुले स्थानीयले चिन्ता ब्यक्त गरेका छन् ।

निरौलाको अपहरणपछि रहस्यमय तरिकाले हत्या भएको उनका ससुरा गणेश कार्कीले आशंका गदैं ज्वाइँको हत्या भएकोले पीडित परिवारले उचित न्याय पाउनु पर्ने माग राख्दैं अपराधीलाई प्रहरीले चाँडोभन्दा चाँडो पक्राउ गरी सार्वजनिक गर्नुपर्ने अडान लिए । परियारको पनि कसैले हत्या गरेको हुन सक्ने अनुमान त्यसवेला सर्वसाधारणले गरेका थिए ।

सिर्जना बस्नेतको शवको प्रकृति र प्रहरीको प्रारम्भिक अनुमान भने मृत्यु शंकास्पद रहेको भन्दै घटनाबारे थप अनुसन्धान भइरहेको छ । सिर्जनाको शव अर्धनग्न अवस्थामा फेला परेको र हत्या आशंकामा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एहरी उपरीक्षक सानुराम भट्टराईसहितको टोली घटना स्थल पुग्यो । यतिमात्र होइन घटनाको सत्यतथ्यका लागि तालिम प्राप्त कुकुर समेत ल्याएको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट करिब पाँच सय मिटर पूर्वमा पर्छ सिर्जनाको शव फेला परेको घटनास्थल ।

यसरी अहिले विर्तामोड क्षेत्रमामा एक पछि अर्काे शव फेला पर्न थालेपछि र अपराधका घटनामा वृद्धि भए पछि स्थानीयले चिन्ता ब्यक्त गरेका छन् । एकपछि अर्को अपराध बढ्दै गएपछि बिर्तामोडमा सुरक्षा चुनौती देखिएका कारण स्थानीयवासी त्रसित बनेका छन् । बिर्तामोडको मुख्य शहरमा यसरी शव भेटिँदा सुरक्षा व्यवस्थामाथि नै स्थानीयले प्रश्न उठाउन थालेका छन् । हुन त् स्थानीय सरकार समेत स्थानीयवासीको जीउधनको शान्ति सुरक्षाका लागि जिम्मेवार बन्नुपर्छ ।

शायद त्यही भएर बिर्तामोड नगरपालिकाले नगरभित्रको शान्ति सुरक्षालाई थप व्यवस्थित बनाई नगरबासीलाई सुरक्षित भएको महसुस हुने गरी आवश्यक प्रबन्ध मिलाउन प्रहरी प्रशासनसँग माग गरेको थियो । विर्तामोडक्षेत्रमा मानिसका दैनिकजसो शव फेला पर्न थाले पछि र दिनहुँ व्यक्ति हत्या भइरहँदा बिर्तामोडबासी अत्यन्तै दुखित र चिन्तित बनेका भन्दै नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पत्रमार्फत ध्यानाकर्षण गराउनु नभएको भने होइन् ।

मंगलबारमात्रै पनि विर्तामोड नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी गरेर केही महिनायता विर्तामोडका होटल व्यवसायी तिलक निरौला लगायत अन्य दुईजनाको दुःखद मृत्यु भइसकेको भन्दैं ती घटनाको सत्यतथ्य सार्वजनिक हुनुपर्नेमा नगरपालिकाको मान्यता छ, भनेको छ । झापा जिल्लाको प्रमुख व्यापारिक केन्द्र तथा अत्यधिक जनघनत्व रहेको विर्तामोड नगरपालिकाभित्र केही समययता विभिन्न प्रकारका आपराधिक क्रियाकलाप बढ्दै गई शान्ति सुरक्षा माथि ठुलो चुनौती थप भएको नगरपालिकाले समेत महशुस गदैं विर्तामोड नगर क्षेत्रभित्रको शान्ति सुरक्षालाई थप प्रभावकारी बनाई नागरिकहरुको जीउधनकोसुरक्षा गर्न सम्बन्धित निकायहरुमा जोडदार माग समेत गरेको छ । नगरबासीहरुले आफै असुरक्षित भएको महसुस गरिरहेका छन् ।

विर्तामोडक्षेत्रमा यसरी एकपछि अर्काे अपराधका घटना हुनुमा प्रहरी प्रशासनको कमजोरी भएको भन्दैं विर्तामोडवासीले प्रहरीको आलोचना गर्न थालेका छन् । दिनहुँ व्यक्ति हत्या भइरहँदा बिर्तामोडबासीहरु अत्यन्तै दुखित र चिन्तित बनेको भन्दै नगर प्रमुख धु्रवकुमार शिवाकोटीले प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनालाई पत्रमार्फत ध्यानाकर्षण गरएपनि बिर्तामोडको सुरक्षा व्यवस्था सुदृढ हुनुको साटो अपराधले अझ प्रश्रय पाउँदै गएको छ ।

तर,जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई विर्तामोडक्षेत्रमा भइरहेका घटनाका बारेमा अहिले जसरी हल्ला आइरहेको छ त्यस्तो नभएको दावी गर्नुहुन्छ । ‘घटनाका बारेमा प्रहरीले अनुसन्धान गर्छ ढिलो छिटो सत्यतथ्य के हो बाहिर ल्याउँछ’ प्रहरी उपरीक्षक भट्टराईले भन्नुभयो—‘ हत्याको हो कि आत्महत्या हो अनुसन्धान पछि थाहा हुन्छ । होटल व्यवसायी तिलक निरौला जीको विषयमा शुरुमा जसरी कुरा आयो अनुसन्धानले उहाँको हत्या भएको देखाएन् । घटनास्थलमा फेला परेका उहाँले लेखेको चिठ्ठीले उहाँले आत्महत्या गरेको पुष्टि भयो । ’

जनताको जीउधनको सुरक्षा नेपाल प्रहरीले गर्ने भन्दैं उहाँले घटना भएपछि अनुसन्धानमै बाँधा पुग्ने काम कसैले पनि गर्न नहुने बताउनुभयो । नेपाल प्रहरीले घटनाका बारेमा सत्यतथ्य बाहिर ल्याउने र अपराधिलाई कानुनी दायरमा ल्याउँन पछि नपर्ने उहाँको तर्क छ ।  घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुर मगाएर ‘डग सर्च’ गर्छ, शवलाई पोस्टमार्टमका लागि सम्बनिधत ठाउँम ापठाउछ अनि त्यहाँबाट आएको रिपोर्टका आधारमा थप अनुसन्धान गर्ने प्रहरी उपरीक्षक भट्टराईको भनाई छ ।

तर, गएको माघ महिनादेखि इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रमुखको जिम्मेवारी प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले सम्हाल्नुभएको छ । उहाँले नेतृत्व सम्हालेपछि विर्तामोडक्षेत्रमा भएका धेरै घटनामध्ये तीनवटा घटना भएको भन्दैं स्थानीयले प्रहरीको आलोचना गरेका छन् । प्रहरीले सुरक्षा कायम राख्न नसक्दा अपराधका घटनामा बृद्धि भएको नगरबासीहरुको गुनासो छ । केही महिनायता बिर्तामोडमा एकपछि अर्को गर्दै निरन्तर भएका यी घटनाहरुबाट बिर्तामोडवासीले असुरक्षित महसुस गर्दै सुरक्षा निकायप्रति अत्याधिक गुनासोसहित कार्य सम्पादनमा प्रश्न उठाउन थालेका छन् । यसप्रति सम्बन्धित पक्ष जिम्म्ेवार बन्नु पर्दछ । नत्र सुरक्षा निकायप्रति जनविश्वास कमी हुँदै जान्छ ।

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.