जनमत सङ्ग्रहमा – झापा

लिला उदसी, वरिष्ठ अधिवक्ता

जुल्फीकर अली भुट्टोका विरुद्धमा मृत्यु दण्डको फैसला सुनाए पनि कार्यान्वयन भै हाल्ला भन्ने त मलाइ लागेको थिएन । मृत्युदण्ड कार्यान्वयन भयो । यस पछि यसको ज्वार भाटा नेपाल सम्म व्यवस्था हल्लाउने गरी आउला जस्तो पनि लागेको थिएन । यी कुराहरू मेरो अनुमानका प्रतिकूल नै भए । भित्री सतहका कारण जे सुकै हुन् , बाहिरी आवरणमा भने यस्तै नै भए । एक किसिमले भुट्टोको फाँसी समेतका कारणबाट नेपालमा जनमत सङ्ग्रहको घोषणा भयो ।

काठमाण्डौमा विद्यार्थीहरू भुट्टोका फाँसीको विरुद्धमा विरोधपत्र दिन पाकिस्तानी राजदुतावास जाँदै थिए । प्रहरीले विद्यार्थीका विरुद्धमा ठूलो ज्यादती गर्यो । लाठी प्रहारले धेरै विद्यार्थी अङ्ग भङ्ग भए । प्रहरीले खेद्दै जाँदा विद्यार्थीहरू असकल होस्टलमा पसेर लुके । त्यहाँ पनि प्रहरीले खोजेर विद्यार्थीलाई निर्मम रूपले कुटपिट गर्यो र तीन तला माथिबाट समेत झारी दियो । धेरै विद्यार्थी घाइते, अपाङ्ग र अङ्गभङ्ग भए ।
प्रहरी ज्यादतीका बिरुद्धमा विद्यार्थी आन्दोलन सङ्गठित र तीव्र बन्दै गयो । यसको आकार बढ्दै गयो र देश व्यापी बन्दै गयो । अन्य क्षेत्र र समूह समेत विद्यार्थी आन्दोलनलाई समर्थन गर्दै आफू पनि आन्दोलित हुँदै गए । यसले देश व्यापी स्वरूप लियो । विद्यार्थीका शैक्षिक माग पनि थपिदैं गए । अन्य समुदायका माग समेत अगाडी बढे । विद्यार्थीका माग वारे अध्ययन गरेर प्रतिवेदन दिन शाही आयोग पनि गठन भयो । आन्दोलन भने अनवरत चली रहयो ।
त्यो समयमा म पूर्ण कालिन कानुन व्यवसायी थिएँ । चन्द्रगडीमा वकालत गर्थें र डेरा पनि चन्द्रगडीमा नै बस्थें । कृष्ण सिटौला पनि पूर्ण कालिन कानुन व्यवसायी भएर चन्द्रगडीमा नै बस्नु हुन्थ्यो । मेरा श्रीमती केटाकेटी बुधबारेमा नै थिए । त्यो समयमा कृष्ण सिटौलाको विवाह गर्न बाँकी नै थियो । कृष्ण सिटौला र म दिउसो त धेरै समय अदालतमा हुन्थ्यौ । साँझ बिहान पनि कुनै बहानामा एक अर्काका फर्म वा डेरामा सँगै हुन्थ्यौ । हामीलाई कानुन व्यवसायले मात्र मानसिक तृप्ति दिएको थिएन । राजनीति, मुलुकको वातावरण र मुलुकको भविष्यका बारेमा हामी अलिक धेरै कुरा गर्थ्यौ । यी विषयमा तत्काल झापामा रहेका कानुन व्यवसायी, प्राध्यापक, पत्रकार शिक्षक बौद्धिक समूह सम्म अनौपचारिक रूपमा हाम्रा छलफल चल्थे । छलफल पनि के भन्ने ? गफ गाफ आदान प्रदान हुन्थे ।
मुलुकमा विद्यार्थी आन्दोलनले रफ्तार लिदै गरेका बेलामा कृष्णजी र मैले विद्यार्थी साथीहरूसम्म गफ पुर्यायौ । मुलुकको विद्यार्थी आन्दोलनको ज्वारभाटाले मेची कलेजका विद्यार्थीलाई पनि तताउँदै थियो । ने वि संघ र अखिल दुवै तिरका विद्यार्थी नेताहरू आन्दोलन उठाउन लागी परेका बुझेपछि हामीलाई अलिक सन्तोष लाग्यो । पञ्चायतको दबदबा चरम अवस्थामा पुगेको समय थियो, त्यो । झापा विद्रोहको निर्मम र कठोर दमनले विद्यार्थी, युवा र अन्य परिवर्तन रुचाउने समूहलाई गतिविधि गर्न चुनौती थियो । उता नेपाली काङ्ग्रेसले पनि ¬¬ओखलढुङ्गा काण्डदेखि हतियार पक्राउ र गिरफ्तारी काण्ड समेतको क्षति व्यहोरेको थियो । दुवै तर्फका धेरै नेता कार्यकर्ता जेलमा थिए । त्यति बेला चन्द्रगडीमा खुङ्खार पञ्च र प्रशासकको जमघट थियो । अञ्चलाधीश लीलाराज बिष्ट, प्र जि अ दान बहादुर शाही, जिल्ला पञ्चायतको सभापति पी सी मुखिया आदि थिए । बाहिरी भित्री प्रयत्न पश्चात् विद्यार्थीहरूको एउटा जुलुस त निस्कियो । मेची कलेजबाट शुरु भएको जुलुस बजार छेउ पुग्न लाग्दा चन्द्रगडीबाट गएको प्रहरीको जत्थाले निर्मम रूपमा लाठी प्रहार गर्यो । निहत्था विद्यार्थीलाई घाइते बनायो । छात्राहरूलाई गाली गलौज र लछार पछार गरियो । यसको नेतृत्व स्वयं प्र जि अ दानबहादुर शाहीले गरेका थिए । पुष्प सिटौला त निकै दिन अस्पताल पनि बसे ।
मेची कलेजका विद्यार्थीहरूको जुलुसमा गरेको अभद्र व्यवहार र लाठी चार्जको कारणबाट झापामा पञ्च र प्रशासनको धेरै बदनाम भयो । अञ्चलाधीश लीलाराज बिष्ट स्वयम् लागेर घटनाको बचाउ गर्न धेरै प्रयास गरे । पञ्चहरूको भेला गराएर समेत प्रतिकार गर्न प्रयास भयो । त्यस्तो प्रतिकार सभामा समेत विद्यार्थीहरू राजकुमार पोखरेल, मुना किरण डाँगीले उनैलाई प्रहार गरेर नाङ्गो बनाइ दिए । सबै प्रयास निरर्थक हुदै गयो । उता राजधानीमा शाही आयोग बनेर विद्यार्थीका विरुद्धमा भएको ज्यादतीको अध्ययन गर्न थालेको घटनाले पञ्च प्रशासनको मनोवल गिर्दै गयो । विद्यार्थी, युवा र आन्दोलन पक्षधरको मनोवल बढ्दै गयो । विद्यार्थी ज्यादतीका बिरुद्धमा तथा विद्यार्थी आन्दोलनको पक्षमा झापाका कानुन व्यवसायीहरूले प्रकाशन गरेको वक्तव्यले आन्दोलनमा ऊर्जाको काम गरेको चर्चा रहेको थियो । उता राजधानीमा केही विद्यार्थी नेताले आन्दोलन रोक्न खोजे । बिना निष्कर्ष आन्दोलन रोक्न आम विद्यार्थी जगत सहमत भएन । परिणाम स्वरूप विद्यार्थी नेताहरू बलबहादुर के सी, शरण विक्रम मल्ल, कैलाश कार्की आदिले आम विद्यार्थीबाट अपमानित पनि हुनु पर्यो । बायु सेवा निगम र गोरखापत्र संस्थानमा तोडफोड पनि भयो ।
ठीक यस्तै बेलामा २०३६ साल जेठ १० गते जनमत सङ्ग्रहको घोषणा भयो, राजा वीरेन्द्रबाट । सुधारिएको पञ्चायत रोज्ने कि ? बहुदलीय व्यवस्था ? यो भनेको निर्दलीय पञ्चायती व्यवस्थामा पहिलो पटक गम्भीर तर वैधानिक प्रश्न लाग्यो । पञ्च, पञ्चायती मानसिकताका प्रशासकहरू तिलमिलाए । आन्दोलनकारीको हौसला सिँढी चढ्यो । हठात् जस्तै घोषणा भएको जनमत सङ्ग्रहमा को कसरी अगाडी जाने ? अलिक दिन निकै अलमल देखा पर्यो । घोषणा अप्रत्याशित जस्तै थियो । दलहरू त भूमिगत थिए । उनलाई एकत्रित भएर धारणा सार्वजनिक गर्न पनि समय लाग्यो । काङ्ग्रेसको त झापाको मियो नै सी के प्रसाई हुनुहुन्थ्यो । झापा काङ्ग्रेस वहाँकै वरिपरि थियो । कम्युनिस्टहरू त छरपस्ट थिए । अरूको त कम हिसाब थियो । झापामा बर्चस्व रहेको झापा विद्रोही, को के हुँदै माले सम्म पुगेको थियो । विद्रोह कालको जघन्य दमनका कारण अलिक कडा भूमिगत थियो । त्यसमा पनि केन्द्रीय दृष्टिकोणको पर्खाइमा थियो होला । विद्रोह कालका पुराना मानिसहरू किनारामा नै थिए । धेरै जेल र प्रवासमा थिए । वास्तवमा झापामा विद्रोहको मात्रा भन्दा दमनको मात्रा ज्यादै घनत्वको थियो ।
यस्तो परिस्थितिमा जनमत सङ्ग्रह वारे दलहरूको प्रतिकृया पूर्ण रूपमा आइ सकेको थिएन । हामी पञ्चायतका विरुद्धमा एउटा जुलुस निकाल्न हतारिएका थियौ । जनमत सङ्ग्रहको घोषणाबाट पञ्चहरू ओइलाएका थिए । उनमा झड्का लागेको थियो । भद्रपुरमा एक दिन, हामी अलिक धेरै काङ्ग्रेस र थोरै वामपन्थी भएर सल्लाह गर्यौ । एउटा जुलुस निकाल्ने तय भयो । मुलुकमा फाट्ट ¬— फुट्ट पञ्चायतका विरुद्धमा जुलुस निस्कन थालेका थिए । हामीले बुधवार भद्रपुरमा हाटको दिन पर्ने भएकोले जुलुस निकाल्ने दिन तय गर्यौ । अञ्चलाधीश लीलाराज बिष्ट र प्र जी अ दानबहादुर शाहीले पञ्चायत विरुद्धको जुलुस सहन सक्छन् जस्तो लागेको थिएन । संयोग हामीले जुलुस निकाल्ने भनेको दिन २०३६ साल जेठ १६ गते बिहानै जनमत सङ्ग्रहमा, आफूलाई लागेको विचारको पक्षमा प्रचार प्रसार गर्न पाइने भनेर दरबारको विज्ञप्ति आयो । हामीलाई जुलुस निकाल्न सहज भयो ।
सहज त भयो तर मानिसमा पञ्चायतका बिरुद्धमा निस्कन डर हराएको थिएन । हाम्रो सूचनाको संयन्त्र कमजोर थियो । हामी त व्यक्ति जस्तै मात्र थियौ । सङ्गठन थिएन । अहिले जस्तो साधनको उपलब्धता पनि थिएन । तोकिएको समयमा हामी जुलुस शुरु गर्ने भनिएको स्थान भद्रपुर भन्सारमा पुग्यौ । निकै समय कुर्दा पनि ५० जना जति मात्र मानिस भयौ । बीचमा अरू मानिस थपिएलान् भनेर हामीले जुलुस शुरु गर्यौ । बीचबाट मानिस खासै थपिएनन् । बहुदलको पक्षमा पञ्चायतको विरुद्धमा नारा सुनेर मानिसहरूमा अनेक आशङ्का र भय सिर्जना भएको अनुमान हुन्थ्यो । जुलुस लिएर हामी भद्रपुर नगरपालिका छेउको खाली जमिन सम्म गयौ । त्यहाँ पुगेर एउटा रिक्सामा चढेर कृष्ण सिटौला, उत्तर चापागाँई र मैले बोल्यौ । मानिसहरू पञ्चायतका कुरा सुन्न उत्सुक थिए । डराएका थिए । घर भित्र र पसलमा छलिएर हाम्रा कुरा सुनेका थिए । पञ्चायतकै बिरुद्धमा झापामा त्यो पहिलो जुलुस र सभा थियो ।
भोलिपल्ट सी के प्रसाईले मलाइ एउटा पत्र पठाउनु भयो । भद्रपुरको कार्यक्रमका लागि धन्यवाद दिनु भएको थियो । साथै शनिबार बिहान शनिश्चरे बजारमा कार्यक्रम राखिएकोले मलाइ बोल्न बोलाउनु भएको थियो । म त्यो कार्यक्रममा सहभागी भएँ । द्रोणाचार्यजी केचनामा बस्नु हुन्थ्यो । अरू गतिविधिमा कम समय दिएर एउटा सानु मिल चलाउनु हुन्थ्यो । मैले पनि खबर गरेको थिएँ । वहाँमा पनि कौतूहल जागेछ । वहाँ चन्द्रगडी आउनु भयो । हामीले विस्तृत छलफल शुरु गर्यौ । सी के प्रसाईले अनारमनीमा एउटा कार्यक्रम राखेर बोलाउनु भयो । हामी गयौ, तर त्यहाँ काङ्ग्रेस समर्थक युवा र विद्यार्थीले “राजतन्त्र जिन्दाबाद” भनेर नारा लगाएकाले हामी किनारा लाग्यौ । जुलुसमा सामेल भएनौ । भोलिपल्ट द्रोणजी र मैले सी के प्रसाईलाई वहाँकै घर देवी वस्तिमा गएर भेट्यौ र राजतन्त्रको समर्थनको जुलुसमा हामी सहभागी हुन नसक्ने कुरा राख्यौ । वहाँले धारणा बनाएर म तपाइहरूलाई खबर गर्छु भन्नुभयो । त्यसपछि दमकमा भएको कार्यक्रममा हामी सहभागी भयौ । माथि बाट कार्यक्रम अलग — अलग गर्नु भनेर खबर आएको छ भनेर सी के प्रसाईले हामीलाई खबर गर्नु भयो र हामीले कार्यक्रम गर्दा सक्तो सहयोग गर्छु, आपसी सहयोगमा अघि बढौं भनेर प्रस्ताव राख्नु भएको थियो । हामीले वहाँको प्रस्ताव सहजै स्वीकार गर्यौ ।
यता मैले र द्रोणजीले काङ्ग्रेसको भेलामा सहभागी भएको र बोलेको बारेमा झापामा बाहिर देखिएको वामपन्थी र समर्थक समूह प्रसन्न र उत्साहित देखिन्थ्यो । पार्टीका अलिक पुराना र भित्री मानिसहरू प्रश्न उठाउथे । हामीले व्यक्तिगत हैसियतमा बोलेको कुरा वहाँहरूलाई उचित लागेको थिएन । उता पार्टीको कुरा बाहिर आइरहेको थियो । “जनमत सङ्ग्रह धोका हो, देशी विदेशी षडयन्त्र हो यसको बहिष्कार र भन्डाफोर गरौ ”— भन्ने विचार र नारा आयो । हामीले अलिक धेरै छलफल गर्यौ र सहमत हुन सकेनौ । हामी केही व्यक्तिहरू देशभक्त प्रगतिशील समूह भनेर अगाडी बढ्ने र बहुदलको प्रचार प्रसारमा लाग्ने टुङ्गोमा पुग्यौ ।
हामीले अधिवक्ता नरेश कुमार वर्माको संयोजकत्वमा एउटा समूह बनायौ । द्रोणजी र म त्यसमा बस्यौ । राजनीतिक व्यक्तिका रूपमा गोपालकृष्ण प्रसाई र मदन खपाङ्गी त्यसमा रहनु भयो । सूर्य उप्रेती, खड्ग उप्रेती र अन्य साथीहरू पनि रहनुभयो । गोपाल कृष्ण प्रसाईजीको आफ्नै अभियान पनि थियो । नन्दकुमार प्रसाई पनि जेलबाट छुटेर आउनु भएको थियो वहाँको पनि आफ्नै अभियान थियो । हामीले वहाँसँग मिलेर पनि सभा गर्यौ । आषाढ महिनातिर सुरङ्गमा ठूली आम सभा भएको थियो । ने क पा मा ले ले हाम्रो कार्य रुचाएन । विरोध गर्यो । विडम्बना जस्तै थियो पार्टीका मानिस, समर्थक, विद्यार्थी, युवा हाम्रो कार्यक्रममा आएर हामीलाई सहयोग गर्थे । पार्टीले जनमत सङ्ग्रहको बहिष्कारको नारा घन्काएको थियो ।
उता मालेले बहुदलका प्रचार सभामा दखल दिन थालेको थियो । हेटौँडामा गणेशमान सरिक सभामा झडप भएको थियो । त्यस्तै अरू तिरका सभामा पनि विवाद हुँदै थियो । झापामा भने यस्तो कुनै समस्या भएन । हामीले झापामा मनमोहन अधिकारीलाई बोलाएर सम्बोधन गराउने योजना बनायौ । तयारी गरेर श्रावण ५ गते विर्तामोडमा एउटा भव्य आमसभा भयो । मालेका भित्री बाहिरी सङ्गठनका मानिस थिए । नेपाली काङ्ग्रेसले परोक्ष सहयोग गरेको थियो । मनमोहनको धारणा सुन्न बुझ्न ठूलो मात्रामा सर्वसाधारणको उपस्थिति थियो । त्यति बेला विर्तामोडमा भरपर्दो कोही वामपन्थी मित्र तथा सहयोगी थिएनन् । द्रोणजी र म बिहानै भद्रपुरबाट विर्तामोड पुग्यौ । अहिलेको टेलिकम जाने बाटोको मोडबाट पश्चिम साइटमा ठूलो खुला चौर थियो । हर्कलाल गिरीजीको मद्दत लिएर दुईवटा खाट खोजेर ल्यायौ र त्यहाँ तीनवटा कुर्सी राख्यौ । अगाडी माइक राख्ने एउटा टेवल थियो । दिउसो भव्य आमसभा भयो । आधिकारिक वामपन्थी दृष्टिकोण सहित बहुदलको प्रचारमा झापामा त्यो आमसभा ऐतिहासिक रहेको थियो । राजकुमार पोखरेलको खटाइ र योगदान मेरो स्मृतिमा ताजै छ ।
त्यो आमसभा लगत्तै विराटनगरमा भरतमोहन अधिकारीले एउटा भेला भनेर बोलाउनु भएको थियो । गोपालकृष्ण प्रसाई र मदन खपाङ्गीलाई पनि बोलाउनु भएको रहेछ । धरान, धनकुटा, तेह्रथुम लगायत पूर्वाञ्चलका धेरै मित्रहरू थिए । भरतमोहनले पूर्वकोशी पुनर्गठन गर्न प्रस्ताव राख्नु भयो । पूर्व कोशी पुनर्गठनको कुरामा भेला लगभग सहमत भएन । सबै कम्युनिस्टहरूलाई एकत्रित गर्ने गरी कम्युनिस्ट एकता केन्द्र स्थापना गर्ने कुरा भएको थियो तर त्यसको केही दिनमा मनमोहन अधिकारी अध्यक्ष रहेको कम्युनिस्ट पार्टी गठन भएको घोषणा गर्नु भयो । त्यो भेलामा पाँच पूर्व शर्तका बारेमा धेरै छलफल भएको थियो । पाँच पूर्व शर्तमा जनमत सङ्ग्रह गर्न अन्तरिम सरकार, पञ्चायतका सबै तह विघटन, राजनीतिक कारणबाट लगाएका मुद्दा फिर्ता, आममाफी र १८ बर्ष पुगेकालाइ मताधिकार जस्ता कुरा थिए । साथै पाँच पूर्व शर्तका बारेमा २०३६ साल भाद्र २४ गते देशव्यापी प्रदर्शन गर्ने कार्यक्रम थियो । भाद्र २४ को कार्यक्रममा आठ वामपन्थी दल र स्वतन्त्र वामपन्थी समूह सरिक भै प्रभावकारी रूपमा सम्पन्न भयो । ने क पा मा ले र नेपाली काङ्ग्रेसले भने विरोध गरेका थिए ।
विराटनगरको भेलामा मैले एउटा वक्तव्यको कुरा उठाएको थिएँ । त्यो वक्तव्य २०२९ साल माघतिर पूर्व कोशीका चार नेताबाट सार्वजनिक गरिएको थियो । मात्रृभुमि साप्ताहिकमा छापिएको थियो ।
त्यो वक्तव्यमा झापा विद्रोहलाई व्यक्तिगत अपराधी कार्य भन्दै कारबाहीको कुरा पनि उठाइएको थियो । लाग्छ, त्यो समय सम्म सरकारले झापा विद्रोहलाई पहिचान गरि सकेको थिएन । त्यसको एक बर्ष अगाडी पूर्व कोशीले मनमोहन अधिकारी सम्पादक रहेको नव युग नामको एउटा पत्रिका प्रकाशन गरेको थियो । त्यसमा हतियार सहितको आन्दोलनको वकालत गरिएको थियो । उता चीनमा सांस्कृतिक क्रान्ति चरम चुलीमा पुगेको बेला थियो । भारतमा नक्सलवादी आन्दोलन उत्कर्षमा पुगेको थियो । यस्तो अवस्थामा झापा विद्रोहलाई पहिचान गर्न सरकारलाई जटिल भैँ रहेका बेलामा त्यो वक्तव्यले सुखानीमा पाँचजनाको हत्या गर्न सरकारले आँट पायो भन्ने एउटा विश्लेषण छ । त्यो वक्तव्य नआएको भए त्यो दिनको हत्या टर्ने थियो भनिन्छ ।
मालेको जनमत सङ्ग्रहको बहिष्कार र काङ्ग्रेसको पाँच पूर्व शर्तको विरोधलाई मैले पहेलीका रूपमा पाएको छु । वास्तवमा पाँच पूर्व शर्त पूरा हुँदा यसको सबै भन्दा फाइदा काङ्ग्रेस र माले लाई पुग्थ्यो । मालेका नेता, कार्यकर्ता, समर्थक धेरै नेल जेल भोगी रहेका थिए । निर्वासनमा थिए । काङ्ग्रेसमा पनि उस्तै हाल थियो । गिरिजा प्रसाद कोइराला लगायत धेरै त निर्वासनमा भारतमा थिए । धेरैको नाममा मुद्दा थियो । वारेण्ट थियो । २०३७ साल वैशाख १ गतेको आम माफी पश्चात् मात्र उनीहरू नेपाल आउन सकेका थिए । झापा विद्रोहीहरूलाई भने त्यो आम माफीले पनि छोएन । पञ्चायतको जीत पछि सूर्यवहादुर थापा प्रधानमन्त्री भएर झापा आउँदा हामीले सशक्त रूपमा झापाली वन्दीहरूको कुरा उठायौ तर उपयुक्त सुनवाइ भएन । त्यति बेला पाँच पूर्व शर्त पूरा हुने थिए वा थिएनन् अर्को प्रश्न हो तर तत्काल मुलुकमा कृयाशिल पञ्चायत बाहेकका शक्ति पाँच पूर्व शर्तको पक्षमा संघर्षरत रहेका भए त्यसले दुईवटा अवस्था उत्पन्न गर्ने थियो । पहिलो त पाँच मध्ये कुनै पनि माग पूरा हुँदा पञ्चायत परास्त हुने आधार थपिदैं जाने थियो । पञ्चायतका तह विघटन र अन्तरिम सरकार गठनले त पञ्चायत ढले सरहकै परिणाम आइ हाल्ने थियो । अर्को कुरा पञ्चहरू जनमत सङ्ग्रहको घोषणा लगत्तै पराजित मानसिकतामा थिए । क्रमस उनीहरू बौरिदैं गए र षडयन्त्र गर्दै गए । आफ्नै सरकार, आफ्नै आयोग, आफ्नै हातमा ढुकुटी भएपछि निर्दल बालाहरू वलिया बन्दे गए । बहुदल बालाहरू आपसी द्वन्द्व र विवादमा फस्दै गए ।
मलाइ लाग्छ, सबै बहुदल बादीले पाँच पूर्व शर्तलाइ आत्मसाथ गरेको भए र त्यसका लागि अलिक ठूलो आन्दोलन उठाउन सकेको भए पाँच पूर्व शर्त पनि पुरा हुने थियो र २०३७ सालमा नै नेपालमा बहुदल आउने थियो । पञ्चहरूको कुनै षडयन्त्र र शक्तिले बहुदल रोक्न सक्ने थिएन । भन्न ता मानिसहरू भन्छन्, त्यति बेलै बहुदल आएको भए बहुदल थेगिने थिएन । त्यसो त अहिले पनि कुन गतिलो गरी थेगिएको छ र ? एउटा कुरा भने निश्चित रूपमा वी पी कोइरालालाई लागेको थियो _” जनमत सङ्ग्रहको दौरानमा कुनै पनि नामबाट संघर्ष वा आन्दोलन भयो भने त्यसको ठूलो फाइदा कम्युनिस्टले पाउनेछन् ।“ त्यो कुरा त सत्य पनि थियो । त्यही कुरा सोचेर वी पी ले पुष्प लालको संयुक्त संघर्ष प्रस्ताव सधैँ इन्कार गरिरहनु भयो । वी पी ले मात्र हैन, फुटेर टुक्रा ¬— टुक्रा भएका कम्युनिस्टहरूले पनि पुष्पलाललाइ गद्दार भने । संयुक्त संघर्ष कुरै मानेनन् । संयुक्त संघर्ष नगरेसम्म पञ्चायत ढल्दै ढलेन । पुष्पकालको निधन पश्चात् मात्र पुष्पलालको गद्दार पद हरायो । २०३६ सालमा एक दिन हामीले चन्द्रगडी हाइस्कूलको प्राङ्गणमा पुष्पलाल जयन्ती मनायौ । मालेका साथीहरूले परबाट रमिता हेरे । कार्यक्रममा सहभागी भएनन् । २०४६ सालमा संयुक्त संघर्ष गरेर मात्र पञ्चायत ढल्यो । काङ्ग्रेस त वी पी रहे सम्म वी पी को पर्याय थियो । मालेले जनमत सङ्ग्रहको बहिष्कार गरेको कुरा अहिलेसम्म मैले बुझ्न सकेको छैन । अलिक अप्रिय त लाग्ला, तर जनमत सङ्ग्रह लाइ देशी विदेशी षडयन्त्र भनेर बहिष्कारको नारा दिने माले पनि कतै देशी विदेशीको षडयन्त्रमा परेको त हैन ? मेरो मनमा अनुत्तरित प्रश्न उठि रहन्छ ।
२०३६ साल, बहुदलको प्रचारमा अगाडी बढिरहेको थियो । पञ्चहरू क्रमस उठी रहेका थिए । बन जङ्गल सखाप हुँदै थियो । भ्रष्टाचारका अनेक काण्ड उठिरहेका थिए । पञ्चहरू एकत्रित हुदै बहुदलका विरुद्ध आक्रामक बन्दै गए । हामी बहुदलको प्रचारमा लागि रहयो । काङ्ग्रेस पनि आफ्नै हिडीरह्यो । बहुदलवादीहरूको अन्तर विरोध र छरिएको अवस्थाको पञ्चहरूले खूब फाइदा उठाए । सूर्यवहादुर थापाले प्रधानमन्त्री बनेर निर्दललाई जिताउन जे सुकै गरे । उता मालेले ठाउँ — ठाउँका काङ्ग्रेसका सभाहरू बिथोल्ने प्रयास गर्दै रहयो । २०३६ साल फाल्गुन ७ गते झापामा गणेश मानको कार्यक्रम थियो । वहाँ बसेको स्थानमा विरोधपत्र दिन जाँदा चन्द्र भण्डारीको समूह सँग विवाद भएको थियो ।
नेपाली काङ्ग्रेसको शक्ति झापामा पूर्वरूपले लागेको थियो । सी के प्रसाईको नेतृत्वमा वर्षभरि जस्तो कार्यक्रम चल्यो । त्यो समयमा काङ्ग्रेसका पुराना नेता पनि झापामा धेरै थिए । फत्तेबहादुर बुढाथोकी, तुर्सा हेमरम, दल कृष्ण श्रेष्ठ, डिल्ली प्रसाद सिटौला, पूर्णानन्द दाहाल, अम्बिका रिजाल, जीत बहादुर पुरी लगायत नेताहरू पसिना बगाएर खटेका थिए । भित्री सतहमा वामपन्थीको बल रहे पनि आवरणमा काङ्ग्रेस नै देखिन्थ्यो । बर्ष भरि धेरै कार्यक्रम भैँ रहे । केन्द्रबाट गणेशमान लगायतका नेताहरू पनि आए ।
२०३६ सालको त हिउँद पनि राजनीतिले तताएको थियो । जाडो थिएन । माले निकट मित्रहरूसँग मेरो पहिला देखि नै यदा — कदा भेट त हुन्थ्यो । एक साँझ डिल्ली मैनाली मेरो डेरामा मलाइ खोज्दै आउनु भयो । धेरै बर्ष पछि भेट भएकोले मैले झन्डै चिनिनँ । मैनाली बन्धुहरू चारै जना राजनीतिमा होमिनु भएको थियो । राधाकृष्ण र चन्द्र प्रकाशको त आफ्नै इतिहास भयो नै । डिल्ली पनि पूर्ण कालिन भएर हिँड्नु भएको थियो । चैतन्य मात्र खुला र दुख पाउँदै बाहिरी काम गर्दै बस्नु भएको मैले बुझेको थिएँ । म सँग भेटघाट सर सल्लाह हुन्थ्यो । डिल्लीलाई मैले भद्रपुरको सगरमाथा छेउको वहाँहरूको घरमा राधाकृष्ण र चन्द्रप्रकाश सँग आउजाउ हुँदा चिनेको थिएँ । त्यति बेला वहाँ स्कूल तिर पढ्नु हुन्थ्यो । मेरो डेरामा लामो समय बस्यौ । वहाँले खान बस्न अन्यत्र जाने भन्नु भयो ।
जनमत सङ्ग्रह र तत्कालको अवस्था बारे लामो कुरा भयो । मैले मालेले जनमत सङ्ग्रह बहिष्कार गरेको कुरामा आफू असन्तुष्ट रहेको बताएँ । नेतृत्व तह सम्म मेरा कुरा राखि दिन पनि अनुरोध गरेँ । त्यति बेला माले गठन भएको एकाध बर्ष मात्र भएको थियो होला । वहाँले भरखरै पार्टीले जनमत सङ्ग्रह बारे नयाँ कुरा गरेको बताउनु भयो । “जनमत सङ्ग्रह नेपाली क्रान्तिको उपज हो, यसको सदुपयोग गरौं “ — भन्ने निर्णय गरेको बताउनु भयो । यसलाई अहिले सार्वजनिक नगरेको र सार्वजनिक नुहुँदै केही फाइदा लीन खोजेको पनि बताउनु भयो । झलनाथ खनाल र गोविन्द नेउपाने लगायतका व्यक्तिहरू राजकाज मुद्दामा चन्द्रगडीमा जेलमा थुनिएका थिए । वहाँहरू मालेका मान्छे भनेर चिनिएका र मालेले जनमत सङ्ग्रह बहिष्कार गर्ने भएकोले माले समर्थित मानिसहरू जेल मुक्त हुने संभावना थिएन । त्यसैले पार्टीको निर्णय सार्वजनिक नगरीकन जनमत सङ्ग्रहको समर्थन गरेको वक्तव्य सार्वजनिक गरेर वहाँहरूलाई छुटाउन सहयोग गर्न मलाइ आग्रह गरिएको थियो । मैले यसका लागि प्रयास गर्ने कुरा बताएँ । मलाइ झलनाथ र गोविन्द नेउपनेले दिने वक्तव्यको प्रति दिनु भयो, डिल्लीजीले । झन्डै दुई घण्टाको वार्ता पछि रमेश पौडेल मेरो कोठामा आएर डिल्ली मैनालीजीलाई लिएर जानु भयो । भोलि पल्ट म जेलमा गएर झलनाथ र गोविन्दलाई भेटै । वहाँहरूले सूचना पाइ सक्नु भएको थियो । त्यसपछि मैले अञ्चलाधीश लीलाराज बिष्टलाई भेटै र वहाँहरूलाई जेलबाट छुटाएर हाम्रो अभियानमा लगाउने भने । वक्तव्य देखाएँ । उनले लगभग विश्वास गरेनन् तर एक दुई दिनमा वहाँहरूलाई बोलाएर भेटेर कुरा गर्ने भने । मैले त्यो समयमा मलाइ पनि बोलाइ दिन आग्रह गरे । मैले २, ३ पटक तागेता गरेपछि मात्र एक दिन बोलाउने काम भयो । म पनि थिएँ । अञ्चलाधीशले वहाँहरूलाई सामान्य कार्यकर्ता ठानेको रहेछ तर भेटमा भएका कुरा कानीबाट उनी तर्सिए । यता उताका कुरा गरेर टारे र छाडेनन् । वहाँहरू एकै चोटि २०३७ साल वैशाख एक गते आममाफीबाट मात्र छुट्नु भयो । शायद, लीलाराज बिष्टले मालेको निर्णयको सूचना पनि पाइ सकेका थिए ।
त्यसपछि मालेका नेता कार्यकर्तासँग भेटघाट अलिक बाकलै भयो । बहुदल प्रचारका सन्दर्भमा वहाँहरूका कार्यकर्ता र सहयोगजीहरूले हामीलाई राम्रो सहयोग गर्न थाल्नु भएको थियो । हाम्रा कार्यक्रमहरू पनि प्रभावकारी बन्दै गएका थिए । झापाको पृथ्वीनगर र सुरुंगामा ठूला — ठूला आमसभा भएका थिए । हामीले मनमोहन अधिकारीलाई बोलाएका थियौ । सुरुगा र पृथ्वी नगरमा मनमोहनले प्रभावकारी सम्बोधन गर्नु भएको थियो । ती आमसभाहरू ज्यादै प्रभावकारी रहेका थिए । इलामका साथीहरूको आग्रहमा हामीले मनमोहन अधिकारीलाई इलामसम्म पुर्याउने कार्य पनि गर्यौ । इलाममा पनि प्रभावकारी कार्यक्रम भएको थियो । २०३७ साल वैशाख २० गते जनमत सङ्ग्रह तोकिएको थियो । अन्तिम — अन्तिम तिर सबै समूहका कार्यक्रमहरू जोडतोडका साथ चल्दै गए । निर्दलवालाहरु उत्तेजित बन्दै गएका थिए । पैसा, शक्ति, गुण्डागर्दी आदिले गर्दा उनीहरू साह्रै उत्तेजित थिए । धाँधलीका अनेक हल्ला चलेका थिए । बन सखाप भयो । राज्य शक्तिको दुरुपयोग चरम चुलीमा पुग्यो । मत दातालाई धम्क्याउने र अनुचित प्रभाव पार्न निर्दल पक्ष तल्लीन थियो । यता फेरि मालेले जनमत बहिष्कार गर्ने कुरा आएको थियो । तीन दिन शून्य समय भनेर प्रचार प्रसार गर्न नपाइने भनिएको थियो । त्यो भन्दा अघिल्लो दिन तथा प्रचार प्रसारको अन्तिम दिन शान्ति नगरको गढी गाउँ मा कार्यक्रम तोकिएको थियो । स्थानीय मित्रहरूले कार्यक्रमको आयोजना गर्नु भएको थियो । धुलावारीबाट हिडेर जानु पर्दा हामी तोकिएको समय भन्दा अलिक ढिलो पुगेका थियौ । म त्यहाँको वक्ता भनिएको थिएँ । कार्यक्रम भन्दा केही पर एउटा घरमा मलाइ केही साथीहरूले लिएर जानु भयो । त्यहाँ मैले चिनेका नचिनेका साथीहरू थिए । वहाँहरूले मलाइ त्यो अन्तिम सभाबाट नीति गत बहिष्कारको आहान गर्न भन्नु भयो । मैले इन्कार गरेँ । केहीले अलिक दबाबको कुरा गर्नु भयो । म एक बर्ष देखि बहुदलका लागि आवाहन गरेर बोलिरहेछु ,मैले जसरी मेरो परिचय बनाएको पनि छु , अहिले आएर मेरो मान्यताका बिरुद्धमा म बोल्न सक्दिन भने र बरु म बोल्दै नबोल्ने कुरा गरेँ । त्यहाँ बोल्ने भनेर मेरो नाम प्रचार भएको छ, नबोली त हुँदैन पनि भनेर मलाइ बोल्न स्वतन्त्र भनियो । केही साथीहरूलाई मैले असन्तुष्ट देखेँ । कार्यक्रममा केहीले नीति गत बहिष्कारको कुरा गर्नु भयो । मैले सामान्य कुरा गरेर बहुदलमा मतदान गर्न अनुरोध गरेँ । पछि मालेको नामबाट नीतिगत बहिष्कारको आवाहन गरिएको पर्चा पनि वितरण भएको बुझेको थिएँ । झापामा धेरै धाँधलीका वावजुद थोरै मत मात्र निर्दल अगाडी रहयो ।
मेरो मनले अहिले पनि भनिरहेछ, मालेको बहिष्कार र काङ्ग्रेसको पाँच पूर्वशर्तको इन्कारीको कारणले नै २०३६ सालमा निर्दलको विजय भएको हो । यस्तो नभएको भए नेपालमा २०३७ सालमा नै बहुदल आउने थियो । प्रकाशित नतिजा अनुसार झापामा बहुदल पक्षधरले ५४,१९८ र निर्दल पक्षधरले ७२,३३७ मत प्राप्त गरेको थियो । १०,७२१ मत बदर भएको थियो । मुलुकभरि निर्दलले प्राप्त गरेको २४,३३,४५२ मत र बहुदल पक्षमा २०,०७,९६५ बहादुर मत रहेको पाइन्छ । मतदान भैँ सकेपछि जनक शिक्षा सामाग्रीको प्रेसमा चार लाख नक्कली मतपत्र छापेर प्रयोग गरेको कुरा प्रचारमा आएको थियो । जे होस्, धाँधलीका प्रभावहरू नाङ्गो अँखाले पनि देख्न सकिन्थ्यो ।
विशिष्ट धाँधलीबाट २०३७ सालमा सम्पन्न जनमत सङ्ग्रहबाट पञ्चायतको आयु केही बर्ष लम्ब्याउने काम भएको थियो ।
(वरिष्ठ अधिवक्ता लिला उदसीको मुहारपुस्तिकाबाट)

Leave a Reply

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

मेचीनगर नगरपालिकाको सूचना

ताजा समाचार

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.