एमालेको नेपाल समूहले ‘पिपुल्स भोलेन्टियर’ गठन गर्ने

A notice in Nepali from Mechinagar Ward No. 10

५ साउन, काठमाडौं:  एमाले वरिष्‍ठ नेता माधवकुमार नेपाल पक्षको युवा संघले ‘पिपुल्स् भोलेन्टियर’ नामक संगठन बनाउने भएको छ।

उक्त संगठन ४३औँ पुष्पलाल स्मृति दिवसका अवसरमा ७ साउनमा घोषणा गर्ने तयारीमा नेपाल पक्षको युवा संघ छ। भक्तपुर सूर्यविनायकमा आयोजना हुने कार्यक्रममा ‘पिपुल्स भोलेन्टियर’ घोषणा गरिँदैछ।

एमाले अध्यक्ष केपी ओली पक्षले युथफोर्स ब्युँताएपछि नेपाल समूहले ‘अखिल फोर्स’ नाममा समानान्तर संगठन स्थापना गरिसकेको छ। केन्द्रदेखि जिल्ला र स्थानीय तहसम्म समानान्तर कमिटीहरू गठन गर्दै नेपाल समूहले ओली समूहसँग विद्रोह गरेको थियो, ती सबै कमिटी कायम राखेर युवा वर्गलाई समेट्दै नेपाल समूह समानान्तर गतिविधिमा निरन्तर अडिग देखिएको छ।

ओली समूहले मंगलबार ‘आईटी आर्मी’ नामक अर्को संगठन पनि घोषणा गरेको छ, जसको संयोजक माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका पूर्वमन्त्री प्रभु साह छन्।

‘पिपुल्स भोलेन्टियर’का संयोजक अशोक रावलका अनुसार वरिष्‍ठ नेता नेपालको प्रमुख आतिथ्यतामा उक्त संगठन घोषणा गर्ने तय भएको छ। कार्यक्रममा ‘पिपुल्स भोलेन्टियर’को ५० सदस्यीय केन्द्रीय कमान्ड फोर्स घोषणा गर्ने तय भएको छ।

काठमाडौं, ललितपुर, भक्तपुरसहित प्रत्येक प्रदेशको टिम घोषणा गरिने रावलले जानकारी दिए। ‘पिपुल्स भोलेन्टियर’ देशव्यापी संरचना गठनसहित प्रदेशदेखि वडासम्म पुग्ने तयारी रहेको रावलले बताए।

उनका अनुसार ‘पिपुल्स भोलेन्टियर’को संरचना प्रमुख, उपप्रमुख र सचिवको रहने छ। खासगरी, समाजसेवामा केन्द्रित रही काम गर्ने उद्देश्यका साथ ‘पिपुल्स भोलेन्टियर’को गठन थालिएको रावलले बताए। ‘सामाजिक मुद्दामा काम गर्ने भन्दैमा प्रतिकारमा नउत्रिने भन्‍ने होइन,’ उनले भने, ‘हामी जाइलाग्दैनौँ तर कोही हाम्रो नेता-कार्यकर्तामाथि जाइलाग्छ भने प्रतिकार गर्छौँ।’

युवा संघ नेपालको युवा शक्ति विभागलाई नै ‘पिपुल्स भोलेन्टियर’मा रूपान्तरण गरिएको उनले बताए। ‘राष्‍ट्रिय युवा संघले युथ फोर्स गठन गरेपछि उनीहरूका गलत गतिविधि पनि युवा शक्तिको नाम आउने भएकाले पिपुल्स भोलेन्टियरको आवश्यकता परेको हो,’ रावलले भने। समाजमा विद्यमान बेथितिविरुद्ध लड्ने ‘पिपुल्स भोलेन्टियर’को तयारी छ। र, नेताहरूको घर घेराउ र पुत्ला दहन गर्ने अराजक क्रियाकलाप र प्रवृत्तिविरुद्ध पिपुल्स भोलेन्टियरमार्फत जवाफ दिइने उनले बताए।

‘पिपुल्स भोलेन्टियर’ युवा संघ नेपालको विभाग रहेको र राष्‍ट्रिय युवा संघ नेपालको युथ फोर्सजस्तो मार्चपास नगरिने उनले बताए। काठमाडौंका विभिन्‍न अस्पतालमा सरसफाइ अभियानबाट ‘पिपुल्स भोलेन्टियर’को सुरुवाती कार्य गर्ने उनले बताए। ‘सामाजिक समस्याविरुद्ध गतिविधि गर्नेछौँ,’ उनले भने। यसअघि युवा संघको युवा शक्ति विभागले कैलाली टीकापुरस्थित उपप्रभात प्रादेशिक अस्पतालमा ५२ दिनसम्म निःशुल्क खाना वितरणलगायत गतिविधि गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.