‘गद्दार’ भनिएका माधव नेपाल बन्लान् त ‘दोस्रो अध्यक्ष’ ?

A notice in Nepali from Mechinagar Ward No. 10

७ साउन, काठमाण्डौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टीको दोस्रो अध्यक्ष बनाउन तयार रहेको घोषणा गरेका छन् । बुधबार ललितपुरको च्यासलमा आयोजित केन्द्रीय कमिटीको बैठकमा बोल्दै अध्यक्ष ओलीले भने, ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे, मैले भनेको छु– एकताका लागि आए दोस्रो अध्यक्ष दिन तयार छु ।’

पछिल्लो समय एमाले अध्यक्ष ओलीका अभिव्यक्ति अस्थिर देखिन थालेका छन् । उनले तीन दिनअघि बालकोटको बार्दलीबाट माधवकुमार नेपाललाई गद्दार घोषणा गर्दै उनलाई एमालेमा माफी नहुने घोषणा गरेका थिए ।

तर, बुधबार एकाएक उनले हदैसम्म लचक हुने बताउँदै माधव नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको सुनाए ।

बालुवाटारबाट बालकोट सरेका दिन आफ्नै निवासको बादर्लीबाट गरेको सम्बोधनमा ओलीले माधव नेपाललाई गद्दार घोषणा गर्दै भनेका थिए, ‘पार्टी निर्णय र निर्देशन उल्लंघन गर्ने माधव नेपाल कम्युनिस्ट आन्दोलनकै गद्दार हुन् । उनलाई अब एमालेमा कुनै ठाउँ दिन सकिँदैन, गद्दारी गर्नेहरुलाई कारवाही नगर्ने हो भने पार्टी–पार्टीका रुपमा रहन सक्दैन । कोही सुध्रिएर आउँछन् भने ठिकै छ, तर माधव नेपाललाई ठाउँ छैन ।’

माधव नेपाललाई गद्दार घोषणा गरेपछि ओली समूहको बैठकले शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ नेतालाई चौबीस घण्टे स्पष्टीकरण सोधिसकेको छ । तर, कारवाही किन नगर्ने भन्दै स्पष्टीकरण सोधेकै समयावधिमा ओलीले माधवलाई दोस्रो अध्यक्ष दिन तयार रहेको घोषणा गरेका छन् ।

नेकपा एमालेमा माधव नेपालबाहेक अरु नेताहरुलाई समेट्ने रणनीति ओली पक्षले लिएको एमाले नेताहरु बताउँछन् । केपी ओली निकट एक नेता भन्छन्, ‘माधव नेपाल आउँदैनन् भन्नेमा हामी सबै विश्वस्त छौं, त्यसैले नेपालबाहेक अरुलाई समेट्ने हाम्रो रणनीति छ ।’

माधव नेपाललाई दोस्रो अध्यक्ष दिने ‘कार्ड’ सँगै ओली पक्षले माधव नेपाल बाहेकको एमाले परिकल्पना गरेको देखिन्छ । के यो परिकल्पना व्यवहारमा साकार हुन सम्भव छ त ?

केपी ओली पक्षकै नेताहरु माधव नेपालले दोस्रो अध्यक्ष खानेमा ढुक्क छैनन् । माधव नेपाल धेरै पर पुगिसकेको र उनले दोस्रो अध्यक्षको प्रस्ताव स्वीकार नगर्ने ओली पक्षका नेताहरुको बुझाइ छ ।

स्वयं केपी ओलीले नै बुधबारको बैठकमा यस्तो संकेत गरिसकेका छन् । सो बैठकमा ओलीले भनेका थिए, ‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष मागे । मैले भनेको छु, पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन तयार छु । मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन, अनेक बाहना खोजिएको छ ।’

बुधबारको बैठकमा केपी ओलीले यो पनि स्पष्ट पारेका थिए कि माधव पक्षले खोजिरहेको पावर सेयरिङ गर्न उनी तयार छैनन् । एमाले स्रोतका अनुसार बैठकमा ओलीले भनेका थिए, ‘केन्द्रीय कमिटीमा बहुमत चाहियो भनिरहेका छन् । किन ? हामीलाई पार्टीबाट निकाल्न ? ढुक्क हुनुस् कमरेडहरु, त्यसो हुन दिइने छैन । किनकि, यस्तो अभ्यास उनीहरुले पहिले पनि गरेका छन् ।’

के भन्छन् माधव पक्षका नेता ?

उता, माधव नेपाललाई दोस्रो अध्यक्ष खाऊ भन्दा पनि नमानेको देखाएर उनलाई एकताविरोधी सिद्ध गर्ने प्रयास ओली पक्षका नेताहरुले गरिरहेको माधव नेपाल पक्षका नेताको आरोप छ ।

माधव नेपाल पक्षका नेता जगन्नाथ खतिवडाका अनुसार माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्ताव ओली पक्षको चालबाजी मात्रै हो । उनी भन्छन्, ‘एमाले अध्यक्ष केपी ओलीले भनेजस्तो माधव नेपाल दोस्रो अध्यक्ष बनेर ओलीसँग मिल्न कुनै हालतमा सम्भव छैन । माधव नेपाल दोस्रो अध्यक्षका रुपमा ओलीसँग मिल्न जानुहुन्न । उहाँले अध्यक्ष हुनका लागि यो प्रयास गरेको पनि होइन ।’

खतिवडा अगाडि भन्छन्, ‘ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिन्छु भनेर जे प्रचार गरिरहेका छन्, त्यो कुनै जालमा हालेर माधव नेपाललाई अध्यक्षकै लागि मरिहत्ते गरेको रहेछ भनेर लोभी पात्रको रुपमा चित्रित गर्ने षड्यन्त्र हो ।’

ओलीले माधव नेपाललाई दोस्रो अध्यक्ष दिने नभएर संसद विघटन गरेर अपराध गरेको हुनाले आफूले चाहिँ पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने खतिवडाको माग छ ।

साभार : रातोपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.