झापामा स्व–मृत्युवरणका घट्नामा वृद्धि

उदासीनता आत्महत्याको मुख्य कारण

A notice in Nepali from Mechinagar Ward No. 10

७ साउन, काँकरभिट्टा : आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा झापामा झुण्डिएर आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेका कारण जिल्ला प्रहरी कार्यालय झापामा समेत विभिन्न खाले अपराधका घटनामा वृद्धि भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा दुईसय रहेको झुण्डिएर आत्महत्या गर्नेको संख्या अर्काे आर्थिक वर्षमा १ सय ५६ दशमलव ५ प्रतिशत थपियो । गत आर्थिक वर्ष २०७७/०७८ मा त्यो संख्या बढेर ३ सय १३ पुग्यो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्षमा जिल्लाका विभिन्न ठाउँमा १ सय २३ पुरुष, ५६ महिला, ७ बालक, ११ बालिका तथा विदेशी पुरुष २ र महिला १ गरी कुल २ सय जनाले झुण्डिएर आत्महत्या गरेका थिए । गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका अलग अलग स्थानमा १ सय ९७ पुरुष, ८२ महिला, ८ बालक, २४ बालिका, विदेशी पुरुष र महिला १/१ जनाले झुण्डिएर आत्महत्या गरेको अभिलेख प्रहरी कार्यालयमा छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/०७८ मा विष सेवन गरी आत्महत्या गर्नेको संख्या भने जिल्लामा घटेको छ । अघिल्लो आर्थिक वर्षमा ११ पुरुष, ७ महिला, बाल बालिका १/१ गरी २० जनाले विष सेवन गरेर आत्महत्या गरेका थिए । जिल्ला प्रहरी कार्यालय झापाले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७७/०७८ मा भने ९ पुरुष र ८ महिला गरी जम्मा १७ जना वा अघिल्लो वर्षको तुलनामा ३ जना कमिले विष सेवन गरेर आत्महत्या गरेको उल्लेख छ । गत आर्थिक वर्ष २०७७/०७८ मा भिरबाट हाम फालेर २ जना पुरुषको मृत्यु भएको थियो । आर्थिक वर्ष २०७६/०७७ मा धारिलो हतियारले घाटी रेटेर पुरुष २ र महिला १ गरी ३ जनाले आत्महत्या गरेका थिए ।

यसरी प्रहरीको दुईवर्षको अपराध तथ्याङ्क हेर्दा आत्महत्याका घटना बढेको स्पष्ट हुन्छ । अघिल्लो आर्थिक वर्ष २०७६/०७७ मा झुण्डिएर, विष सेवन गरेर तथा धरिलो हतियारले घाटी रेटेर २ सय २३ जनाले आत्महत्या गरेका थिए । तर, गत आर्थिक वर्ष २०७७/०७८ मा यो संख्या १ सय ९ जनाले बढेर ३ सय ३२ मा पुग्यो । प्रहरीको तथ्याङ्कले जिल्लामा आत्महत्या गर्नेहरूको संख्या वर्षेनी बढ्दै गएको देखाउँछ । अन्य देशमा जस्तै नेपालमा पनि आत्महत्या जनस्वास्थ्यको प्रमुख चुनौती र समस्या मानिएको छ । अनुसन्धानकर्ताहरूका अनुसार आत्महत्याको बढी जोखिममा युवा र किशोरकिशोरी हुन्छन् । प्रायः महिलाहरु पुरुषहरुको तुलनामा बढी आत्महत्याको प्रयास गर्छन् । तर, तथ्याङ्कका अनुसार खतरनाक तरीका अपनाउने हुनाले पुरुषहरुले महिलाको अनुपातमा बढी आत्महत्या गरेको पाइन्छ ।

विश्वमा आत्महत्याका माध्यमहरु मध्ये विष सेवन, झुण्डिएर तथा शरीरमा आगो लगाएर गर्ने आत्महत्या प्रमुख रहेको विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख छ । नेपालमा आत्महत्याको अवस्थाबारे चर्चा गर्दा प्रत्येक वर्ष सरदर ४ हजार ६ सय ७४ व्यक्तिले आत्महत्या गर्ने गरेको नेपाल प्रहरीको तथ्याङ्क छ । महानगरीय प्रहरी कार्यालय काठमाडौंमा प्रत्येक हप्ता कम्तिमा १० वटा आत्महत्या सम्बन्धी घटना दर्ता हुने गरेका छन्, जसमा अधिकांश महिला छन् ।

विश्वमा आत्महत्याको जोखिममा नेपाल सातौं स्थानमा छ भने महिलामा तेस्रो स्थानमा छ । नेपाल लगायत विकासशील मुलुकहरुमा आत्महत्या सम्बन्धी विभिन्न सामाजिक लाञ्छना, धार्मिक कारण र सामाजिक मनोवृत्ति, उपयुक्त अभिलेखीकरणको अभाव तथा सीमित अनुसन्धान आदिका कारण भरपर्दो रुपमा तथ्याङ्कको कमी छ ।

उदासीनतालाई आत्महत्याको मुख्य कारण मानिन्छ । सामान्यतः धेरै दिक्दारी लाग्नु, मुडमा आवश्यकता भन्दा बढी उतार–चढाव आउनु, आफूलाई एकदमै दयनीय अवस्थाको ठान्नु, जीवनप्रति रुचि नहुनु, भविश्यप्रति कुनै आशा नलाग्नु आदि उदासीनताका कारणहरु हुन् । उदासीनताले आत्महत्यालाई बढावा दिने गरेका कारण मानिसले आत्महत्या गर्ने मानसिक रोग विशेषज्ञहरुको भनाई छ । त्यसैगरी दीर्घ रोग पनि आत्महत्याको अर्काे कारण हो । रक्सी र अन्य लागूऔषधको दुरुपयोग आत्महत्याको अर्को कारण रहेको विज्ञहरुको भनाई छ । जब मानिसले समस्या समाधानका कुनै उपाय देख्दैन, त्यतिबेला उसले आत्महत्याको बाटो रोज्ने विज्ञहरुको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.