१० साउन, मेचीनगर : वंगलादेश मात्रै यस्तो मुलुक थियो, जुन देशसंगको व्यापार वर्सेनी नेपालको पक्षमा हुन्थ्यो । कुनै बेला बंगलादेशसंगको व्यापार नेपालका लागि ‘प्रतिष्ठा’ थियो । अव त्यो साख पनि क्रमश जोगाउन मुस्किल देखिन्छ । २०५४ भदौ १४ देखि नेपालले वंगलादेशसंग औपचारिक व्यापार थालेको हो । वितेको आर्थिकवर्ष २०७१/०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री वंगलादेश बढी निर्यात हुने गरेको थियो । तर, पछिल्लो केहीबवर्षदेखि वंगलादेशसंगको व्यापार पनि क्रमशः ओरालो लाग्न थालेको छ ।
पूर्वी काँकरभिट्टा नाका भएर वंंगलादेशसँग हुने व्यपार गत आर्थिक वर्ष २०७७/०७८ मा वंगलादेशको पक्षमा देखिएको छ । त्यो वर्ष नेपालले वंगलादेशसँग ६ अर्ब ४८ करोड ३३ लाख ४३ हजार रुपैयाँ घाटा व्यहोरेको मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा उत्पादित ६७ करोड ३८ लाख ९१ हजार रुपैयाँ मुल्यका मालसामान निर्यात भएको छ भने, ७ अर्ब १५ करोड ७२ लाख ३४ हजार रुपैयाँ मुल्य बराबरको सामान आयात भएको छ । निर्यातभन्दा आयात बढि भएका दुईदेशवीच भएको व्यपार वंगलादेशको पक्षमा बलियो देखिएको मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले बताउनुभयो ।
वितेको आर्थिकवर्ष २०७१/०७२ सम्म आयातका तुलनामा नेपालमा उत्पादित कृषिजन्य सामग्री बढी निर्यात हुने गरेको थियो तर बंगलादेश सरकारले भन्सार दररेट बढाएसँगै नेपालबाट मुसुरो दाल, जडीबुटी, अदुवालगायतका सामग्रीको निर्यात कम भएसँगै आयात बढेको भन्सार अधिकारीहरुको भनाइ छ । आर्थिक वर्ष व २०७६/०७७ मा नेपाल–बङ्गलादेश व्यापार घाटा ३ अर्ब ९९ करोड ९३ लाख ११ हजार रुपैयाँ थियो ।
त्यो वर्ष ९५ करोड ४१ लाख ७५ हजार रुपैयाँको मालसामान आयात हुँदा ४ अर्ब ९५ करोड ३४ लाख ८६ हजार रुपैयाँको नेपाली उत्पादन निर्यात भएको भन्सारको अभिलेख छ । प्रत्येक वर्ष नेपाली सामानको निर्यात घट्दै गएको र बंगलालादेशी सामानको आयात बढ्दै गइरहेको कारण व्यापार घाटा बढेको नोपली भन्सारअधिकारीहरु बताउछन् ।
बंगलादेश निर्यात हुने नेपाली सामानको संख्या ज्यादै न्यून छ । पुगनपुग आधा दर्जन आइटम मात्रै निर्यात हुन्छन् । व्यवसायीहरुका अनुसार बंगलादेशसंगको व्यापारको आधा भन्दा वढी हिस्सा मुसुरो दालले ओगट्छ । खासमा मुसुरोका कारणले मात्रै नेपाल–वंगलादेश व्यापार चलेको व्यवसायीहरुको भनाई छ । नेपालवाट मुसुरोका अतिरिक्त डावर नेपालका उत्पादनहरु मह, हजमोला, चवानप्रास, कपालमा लगाउने तेल प्रमुख रुपमा निर्यात हुन्छ । त्यस्तै चिराइतो, मोजितो, रिठ्ठालगायतका जडिवुडीहरु पनि वंगलादेश निर्यात सूचीमा छन् । वंगलादेशवाट कटन वेष्ट, औषधि, फेव्रिक, जुट, चिनी, दुध पाउडर, आलुलगायत वस्तु आयात हुन्छन् । धेर वस्तु चाहि वंगलादेशले पठाउछ । उल्लेख्य रुपमा नेपाली वस्तु पठाउन अझै सकिएको छैन । वंगलादेशमा नेपाली तरकारीजन्य वस्तु र फलफूलको अत्याधिक माग छ ।

























