१३ साउन, काँकरभिट्टा : सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब हिमालयन शेर्पाका गोललरक्षक प्रशिक्षक मिन बस्नेतले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् । प्रशिक्षक बस्नेतले नयाँ सिजनको लिगका लागि शेर्पासँगको सम्झौता नवीकरण गरेका हुन् । महाबिर क्लब, एपिएफ र जावलाखेल क्लबका पूर्व गोलरक्षक बस्नेत अघिल्लो सिजन पनि शेर्पामै आबद्द थिए ।
झापा मेचीनगर नगरपालिका–६ काँकडभिट्टाका स्थायी बासिन्दा बस्नेतले १० बर्ष ए डिभिजन क्लबकाे गाेलपाेष्टमा विताएका थिए । २०६० सालबाट महाविरमा ३ बर्ष, एपिएफमा २ बर्ष र जावलाखेलमा ५ बर्ष गोलपोष्ट सम्हालेका थिए । त्यसपछिको अवधिमा गृह जिल्लाको क्लब झापा–११ र बी डिभिजन क्लब पुलचोकको गोलपोष्ट सम्हालेका थिए । ५ औ राष्ट्रिय खेलकुदमा स्वर्ण जीतेको पुर्वाञ्चल टिमका समेत मुख्य सदस्य हुन् ।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल) मा बस्नेत धनगढी एफसीको गोलकिपर प्रशिक्षक रहेका थिए । धनगढी उपविजेता बनेको थियो । गोलकिपिङ लेभल वान प्रशिक्षक बस्नेतले २०१९ मा नेपाली महिला यु–१६ टोलीको प्रशिक्षकको समेत भुमिका निर्वाह गरेका छन् ।
शेर्पाले नयाँ सिजनको लागि मुख्य प्रशिक्षकमा झापाकै युगल किशोर राईलाई अनुबन्ध गरिसकेको छ । एनएसएलमा राई धनगढीको मुख्य प्रशिक्षक रहेका थिए । नयाँ सिजनको ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु हुनेछ ।

























