पूर्वीनाकाबाट निकासी हुने अदुवा हरेक वर्ष ओरालो लाग्दैं

A notice in Nepali from Mechinagar Ward No. 10

२३ साउन, मेचीनगर : चारवर्ष यतादेखि पुर्वीनाकाबाट हुने अदुवा निकासी ओरालो लाग्दै गएको छ । विभिन्न अवरोधका कारण पटक पटक निकासी ठप्प हुदाँ व्यवसायीहरु ठूलो आर्थिक भार खेप्न बाध्य छन् ।

क्वारेन्टिन कार्यालय काँकरभिट्टाको तथ्याङ्कले यसलाई पुष्टि गरेको छ । कार्यालयको तथ्याङ्क हेर्ने हो भने गत आर्थिक वर्ष २०७७/०७८ मा काँकरभिट्टानाका भएर १२ करोड ९६ लाख रुपैयाँ मूल्य बराबरको २ हजार ७ सय मेट्रिक टन अदुवा निकासी भएको छ । जुन परिमाण अघिल्लो आर्थिक वर्ष २०७६/०७७ को तुलनामा न्यून हो । त्यो वर्ष १३ करोड ३० लाख ४ हजार वा ५ हजार २ सय १४ मेट्रिक टन अदुवा निर्यात भएको तथ्याङ्मा उल्लेख छ ।

आर्थिक वर्ष २०७५/०७६ मा नेपालले २२ करोड २८ लाख ३५ हजार रुपैयँँ मुल्य बराबरको ९ हजार ९ सय ४८ मेट्रिक टन अदुवा भारत निकासी गरेको थियो । आर्थिक वर्ष २०७४ /०७५ मा यो नाका भएर ५६ करोड ८६ लाख २८ हजार रुपैयाँ मुल्य बराबरको २४ हजार २ सय ६८ मेट्रिक टन अदुवा भारत र बंगलादेश निकासी भएको कार्यालयले जनाएको छ ।

यसले आर्थिक वर्ष २०७४/०७५ देखि आर्थिक वर्ष २०७७/०७८ को चारवर्षको अवधिमा काँकरभिट्टा नाका भएर भारत निकासी हुने अदुवामा हरेक वर्ष गिरावट आएको पुष्टि गर्दछ । झण्डै डेढवर्ष अघिदेखि कोभिड १९ कारण नाका ठप्प हुदाँ निर्यात व्यापार कम भएको नेपाली अधिकारीहरुको भनाइ छ ।


भारतीय पक्षको कहिले वस्तु तथा सेवा कर (जीएसटी), कहिले अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्ने विभिन्न बहाना र अवरोधका कारण नेपाली अदुवा निकासीमा बारम्वारको समस्या त, कहिले नेपाल सरकारले अदुवा निर्यातका लागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्य भएको कारण पूर्वी नाका हुदै भारत निकासी हुने अदुवाको निकासी हरेक वर्ष ओरालो लाग्ने गरेको व्यवसायीहरुको गुनासो छ ।

पूर्वी पहाड संखुवासभा, भोजपुर, तेह्थुम, धनकुटा, इलाम, पाँचथर, ताप्लेजुङ्ग लगायत जिल्लामा व्यावसायिक अदुवा खेती हुने गरेको छ । झापा सहित ताप्लेजुङ्ग, पा“चथर, इलाम लगायत पूर्वी पहाडी जिल्लाहरुवाट संकलन गरी अदुवा भारत तथा बंगलादेश निकासी हुने व्यवसायीहरुको भनाई छ । नेपालमा उत्पादन भएको मध्येको ८० प्रतिशत अदुवा भारतीय बजारमा खपत हुने गरेको छ । त्यसको सबैभन्दा बढी हिस्सा ३१ प्रतिशत पूर्वका जिल्लामा मात्र उत्पादन हुन्छ । नेपालको नगदे बालीहरु मध्ये अदुवा अलैची पछि सर्वाधिक विदेश निर्यात हुने कृषि उत्पादन हो । मेचीका चार जिल्लामा वार्षिक अन्दाजी ७० देखि ८० हजार मेट्रिक टन भन्दा बढी अदुवा उत्पादन हुने गरेको नेपाल अदुवा उत्पादक संघले जनाएको छ ।

भारतीय पक्षका विभिन्न बहाना र अवरोधका कारण नेपाली अदुवा निकासीमा बारम्बार समस्या हुनु तथा नेपाल सरकारले अदुवा निर्यातकालागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्यका कारण पूर्वी नाका हुदै भारत निकासी हुने अदुवाको निकासी हरेक वर्ष ओरालो लाग्ने गरेको अनुमान व्यवसायीहरुको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य एकरुपता नहुनु तथा नेपालमा हरेक वर्ष अदुवाको उत्पादन घट्नु ले पनि निकासी ओरालो लागेको आशंका समेत गरिएको छ ।

भारतले कृषिका लागि आत्मनिर्भर हुने लक्ष्यका साथ दक्षिणी भारतमा व्यवसायिक अदुवा खेती विस्तार गर्दै गएकाले माग घटेका कारण पनि निर्यात घटेको हुन सक्ने आशंका नेपाली कृषकको छ । कृषि विकास मन्त्रालयले अदुवा निर्यातमा देखिएको समस्या दीर्घकालिनरुपमा समाधान गर्न मन्त्रालयका उपसचिव प्रद्युम्नराज पाण्डेको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरेको थियो । कृषि विभाग, कृषि उद्यम केन्द्र, वाणिज्य विभागका प्रतिनिधि व्यवसायीका प्रतिनिधि समितिमा सहभागी थिए ।

टोलीले झापाको काँकरभिट्टा, बिराटनगर, भैरहवा, नेपालगञ्ज लगायतका नाकाक्षेत्रमा अध्ययन समेत गरेको सरकारी अधिकारीहरुको भनाई छ । नेपाल संसारमा चीन र भारतपछि तेस्रो ठूलो अदुवा उत्पादक मुलुक हो । आन्तरिक खपतपछि लगभग सबै अदुवा भारत तथा बंगलादेश निर्यात हुँदै आएको छ ।

भारतीय भन्सारले नेपाली अदुवामा वस्तु तथा सेवा कर (जीएसटी) लागू गर्न खोजेपछि पूर्वी नाका हुदै भारत निकासी हुने ठूलो परिमाणको अदुवा एकसातासम्म सीमामा रोकिनु परेको थियो । जीएसटीका कारण अदुवा निकासीमा अवरोध भएपछि करोडौं मूल्यको अदुवा सडेको व्यपारीले बताएका छन् ।

व्यवसायीका अनुसार अदुवाको निर्यात ठप्प भएका कारण मेची भन्सार परिसरमा अदुवा लोड भएका दर्जनौ मालबहाक ट्रक हप्तौ दिनसम्म थन्केका थिए । यसअघि नेपालवाट निकासी भएको अदुवामा ‘एल्डिकार्ड’ नामक घातक विषादी फेला परेको भन्दै भारतीय भन्सारले करिव तीन साता निकासी अवरुद्ध समेत गरेको थियो । भारतको खाद्य विभागले नेपाली अदुवामा हानीकारक विषादीको मात्रा पाइएको भन्दै नेपाली अदुवाको भारत निर्यातमा प्रतिबन्ध लगाएको भएपनि परीक्षणका लागि भारत लगिएको नमुनामा कुनै पनि प्रकारको विषादी र मानव स्वास्थ्यमा असर पर्ने वस्तु फेला नपरेपछि भारतीय पक्षले निर्यात खुला गरेको थियो ।

नमुना जाँचका लागि १० क्विन्टल अदुवा भारत लगिएको थियो, नेपाली अदुवाको नमुना परीक्षणका लागि माग गरेपछि अदुवा पठाइएको थियो । भारतको कोलकाता स्थित खाद्य प्रयोगशालाले नेपाली अदुवामा कुनै विषादी नमिसिएको प्रतिवेदन दिएपछि मात्र निकासी खुला भएको थियो । भारतले नेपाली अदुवामा ‘एल्डिकार्ड’ नामक प्रतिबन्धित विषादी फेला परेको भन्दै ‘भारतीय बजारमा प्रवेश नदिन’ आफ्ना सबै भन्सार कार्यालयलाई परिपत्र गरेको थियो । यही परिपत्रका आधारमा करिब दुई सातासम्म कुनै पनि भन्सार नाकाबाट अदुवा भारत छिर्न पाएको थिएन ।

भारतले नेपाली अदुवाको क्वारेन्टाइन परीक्षण तीन ठाउँमा गर्दै आएको छः कलकत्ता, पटना र लखनउ । नेपाली अदुवा राम्रो गुणस्तरको मानिन्छ । कुनै बेला भारतीय कृषिविज्ञ टोली नेपाल आएर यहाँ उत्पादन हुने अदुवालाई ‘उच्च गुणस्तरको’ भनी प्रशंसा गरेको थियो । दक्षिण भारतको कर्नाटकमा अदुवा उत्पादन बढेपछि भने परिस्थिति फेरिएको छ ।

भारतले नेपाली अदुवाको निर्यातमा लगाएको प्रतिबन्धका कारण आर्थिक व्ययभार खेप्न बाँध्य नेपाली कृषक र व्यवसायी राज्यले अदुवा निर्यातकालागि जिल्ला कृषि कार्यालयको सिफारीश अनिवार्य गरेका कारण पनि झन मारमा परेका थिए । भारतलाई नेपाली अदुवामा कुनै रोग छैन भन्न र यो नेपालमै उत्पादन भएको अदुवा भन्ने कुराको ग्यारेन्टी गर्न कृषि मन्त्रालयले अदुवा निकासीमा अनिवार्य सिफारिस लागू गरेको अदुवा व्यवसायीहरुको भनाइ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.