५ भदौ, मेचीनगर : झापामा गठित नेकपा एमालेको समानान्तर जिल्ला कमिटी अध्यक्ष पुराना बामपन्थी नेता बेदराज रेग्मीले समानान्तर कमिटी पार्टी विभाजन गर्नका लागि नभई पार्टीलाई अझ मजवुत बनाएर अघि बढ्नका लागि निर्माण गरिएको बताउनुभएको छ ।
एमालेभित्र आन्तरिक विवाद चर्की रहेका बखत संगठन विस्तार गरिरहेको नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष खड्गप्रसाद ओलीाके गृह जिल्ला झापामा पनि आफ्नो संगठन विस्तार गरेको थियो । मालेकालदेखिका पुराना बामपन्थी नेता बेदराज रेग्मीको अध्यक्षतामा ३ सय ५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको थियो ।
अहिले वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी दर्ताका लागि निर्वाचन आयोग पुगेपछि अध्यक्ष रेग्मीले यो घटनाले पार्टीका गाउँ र वडा वडाका कार्यकर्तामा निराश पैदा भएको बताउनुभयो । जतिबेला झापामा नेकपा एमालेको समानान्तर जिल्ला कमिटी निर्माण गरियो त्यसको लक्ष्य पार्टीलाई विभाजनतर्फ नलगेर अझ मजवुत बनाएर अघि बढ्नु रहेको उहाँको भनाई छ ।
‘पार्टी विभाजन हुनु दुःखद कुरा हो ’समानान्तर कमिटी अध्यक्ष रेग्मीले भन्नुभयो—‘यसको जिम्मा पार्टीको केन्द्रीय नेतृत्वले लिनुपर्छ ।’पार्टी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीको व्यक्तिगत आकांक्षाले नेपाली कम्युनिस्ट आन्दोलनलाई नै क्षति पुगेको भन्दै उहाँले गलत प्रवृत्तिको भण्डाफोर गर्न पनि आग्रह गदैं यसको सवैभन्दा बढी दोष ओलीलाई जाने बताउनुभयो । ओलीको हठ र निरंकुश कार्यशैलीकै कारण नेपालमा कम्युनिस्ट संकटमा परेको उहाँको आरोप लगाउनुभयो । ओलीको राष्ट्रवाद नक्कली सावित भई सकेको उहाँको टिप्पणी छ ।
पार्टीका उपमहासचिव घनश्याम भुषाल नेताहरु भीम आचार्य, घनेन्द्र बस्नेत, नरेश खरेल, रविन कोईरालालगायतको उपस्थितीमा गठित ३ सय ५१ सदस्यीय जिल्ला कमिटीको उपाध्यक्षमा भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ, सचिव निलमणि बराल, उपसचिव मणि भण्डारीलगायत रहनुभएको थियो ।
माधव नेपाल नेतृत्वको नेकपा एमाले समाजवादीको केन्द्रिय सदस्यमा नेता रविन कोइराला र नरेश खरेलको नाम भए पनि दुवैले आफुहरु नेकपा एमालेकोे मुलधारमै रहेको र माधव नेपाल नेतृत्वको पार्टीको केन्द्रीय सदस्य नरहेको धारणा सार्वजनिक गर्नुभएको छ । २०५४ सालमा भएको एमाले विभाजनबाट नेता कार्यकर्ताले धेरै कुरा सिक्नुपर्ने उहाँहरुको तर्क छ ।

























