२० भदौ, काठमाडौँ : गृह मन्त्रालयले छिमेकी प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने नाराबाजी, जुलुस प्रदर्शन र पुत्ला दहनलाई उच्छृङ्खल र निन्दनीय गतिविध भन्दै त्यस्ता गतिविधिप्रति आपत्ति जनाएको छ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणीन्द्रमणि पोखरेलले आज (आइतबार) एक विज्ञप्तिमार्फत त्यस्ता गतिविधले मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै आपत्ति प्रकट गरेको हो।
‘मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच आउने गरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधिप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता उच्छृङ्गल र निन्दनीय गतिविधिप्रति मन्त्रालय गम्भीर आपत्ति प्रकट गर्दछ।’
सबै मित्रराष्ट्रसँग पारस्परिक सम्बन्ध प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै राष्ट्र विरुद्धका गतिविधि हुन नदिने विषयमा नेपाल कटिबद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख छ। मित्रराष्ट्रहरुको आँच आउनेगरी कुनै कार्य नगर्न मन्त्रालयले आग्रह गरेको छ।
उत्पन्न समस्या वार्ता र अन्य कूटनीतिक पहलद्वारा समाधान गरिँदै आएको स्मरण गराउँदै मन्त्रालयले मित्रराष्ट्रहरुविरुद्ध लक्षित हुने गतिविधिलाई नियन्त्रण गर्न रत्यस्ता गतिविधिमा संलग्न भई कानुन हातमा लिनेलाई कारबाही गर्ने चेतावनी पनि दिएको छ।
दार्चुला घटना र नेपाली आकाशमा भारतीय हेलिकोप्टर उडानको विषयमा सरकार चुप लागेको भन्दै त्यसविरुद्ध विभिन्न गतिविधि हुँदै आएक छन्।
हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति :


























