७ असोज, काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए।
बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भने, ‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न। उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो। संसदलाई वेवास्ता गर्नुभयो । पटक-पटक भंग गर्नुभयो। अहिले संसद पुर्न स्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छ की यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ। अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा(एमाले) लाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ।’
संसदप्रति ओलीको घृणा सिंगो नेकपा(एमाले)मा पनि पुगेको भन्दै एमालेले संसदीय मर्यादामा बस्न नसकेको आरोप लगाए। प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण सांसदहरुले बजेटको बिषयमा बोल्न नपाएको उल्लेख गरे। एमालेको अवरोधले सांसदहरुले संसदमा आफ्नो भुमिका समेत निर्वाह गर्न नपाएको बताए। एमालेको प्रस्तुतिले संसदीय पद्धतिको गरिमा राख्न नसक्ने उनको भनाइ छ।
यस्तै, नेता थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताए। बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुङ्ग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए।
नेता थापाले भने, ‘महाधिवेशन बारेको जुन अन्योल छ, यो अन्योल थप बढ्दै गएको छ। महाधिवेशनको १३ जिल्ला जुन बाँकी छ, १३ जिल्लाको सदस्यताका कुराहरु टुंग्याउने कुरा तत्काल आजभोली गरिएन र यो तिथि मिति सार्दै जाने, जति सारेपनि हुन्छ भन्दै गयो भने थप अन्योल हुँदै जान्छ। मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरा ढुक्क भएर भन्न सक्ने अवस्थामा म छैन। महाधिवेशनको तिथि मिति सार्ने कुरा अब पार्टीको नेताहरुले आउन दिनुहुन्न।’
























