१४, असोज, मेचीनगर : डेढवर्ष अघिदेखि बन्द रहेको भारतीय सवारी साधनले भन्सार महशुल बुझाएर नेपाल घुम्न पाउने सुविधा शुक्रबार भोलि देखि खुलेको छ ।
कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट नेपाल र भारत सरकारले दुवैतर्फबाट नाका बन्द गर्दा नेपालसँग सीमा जोडिएको भारतीय नाका पानीट्याँकी हुदैँ कुनै पनि सवारी साधन नेपालको काँकरभिट्टा नाका भएर भित्रिन पाएका थिएनन् ।
अब सरकारले भन्सार खुला गरेसँगैे भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाल प्रवेश गर्न पाउने भएका छन् । भारतीय नम्बर प्लेटका सवारी साधन भन्सार महसुल बुझाएर निर्वाधरुपमा नेपालमा घुम्न पाउने मेची भन्सार कार्यालय काँकरभिट्टाले जनाएको छ ।
नेपाल सरकारले शुक्रबारबाट भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला गरेपछि नियम अनुसारको राजस्व बुझाएर निर्वाधरुपमा नेपालका हरेक ठाउँमा पुग्न सक्ने मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार लामो दुरीमा भारतीय सवारी साधनले नियम अनुसारको राजस्व र छोटो दुरीमा सुविधा लिनुपर्ने हुन्छ ।

























