१८ असोज, मेचीनगर : नेपाल सरकारले भारतसँगसीमा जोडिएका सवै नाका खोल्ने निर्णयसहित भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला गरेको चारदिन वितिसक्दा सम्म काँकरभिट्टा नाकाबाट यो सुविधा अहिलेसम्म कसैले लिएका छैनन् ।
कोभिड १९ को संक्रमणसँगै डेढवर्ष अघिदेखि बन्द रहेको भारतीय सवारी साधनको भन्सार शुक्रबारबाट खुला गरेको थियो । तर, नेपालको पूर्वीनाका काँकरभिट्टासँग सीमा जोडिएको भारतको पश्चिम बंगालको पानीट्याङ्कीस्थित रानीगञ्ज नाका सञ्चालनमा आउन सक्दा अहिलेसम्म भारतीय नम्बर प्लेटका सवारी साधन नेपाल आउन पाएका छैनन् । भारतीय नम्बर प्लेटका सवारी साधनले भन्सार महसुल बुझाएर निर्वाधरुपमा नेपालमा घुम्न सक्ने कानुनी व्यवस्था छ ।
नेपाल सरकारले शुक्रबारबाट भारतीय नम्बर प्लेटका सवारी साधनको भन्सार खुला गरेपछि नियम अनुसारको राजस्व बुझाएर निर्वाधरुपमा नेपालका हरेक ठाउँमा पुग्न सक्ने भएपनि भारततर्फको नाका नखुल्दा नेपाल घुम्न आउने भारतीय पर्यटकहरुलाई समस्या भएको छ । लामो दुरी जानकालागि भारतीय सवारी साधनले नियम अनुसारको राजस्व र छोटो दुरीमा सुविधा लिनुपर्ने हुन्छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत ध्रुवराज विश्वकर्माले निर्णय भएको चारदिन वितिसक्दासम्म कुनै पनि भारतीय नम्बर प्लेटका सवारी साधन यो सुविधा लिन नआएको बताउनुभयो । नेपालतर्फका सवै नाकाबाट आवतजावत गर्नेका लागि सहज बनाईएको भएपनि भारततर्फले नाका नखुलेका कारण यो समस्या आएको नेपाली अधिकारीहरुको भनाई छ ।
यसका लागि भारतीयपक्षसँग आफुहरुले निरन्तर समन्वय सहकार्य र छलफल गरीरहेको जिल्ला प्रशासन कार्यालय कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहालले यस विषयमा भारतीय समकक्षीहरुसँग पटक पटक छलफल भइरहेको बताउनुभयो । नेपाल सरकारले नेपालतर्फका नाका खोल्ने निर्णय गर्यो तर, भारत सरकारको निर्णय नआएका कारण आफुहरुले भारतीय नम्बर प्लेटका सवारी साधनलाई यो नाका भएर आवतजावतमा रोक लगाएको भारतीय सुरक्षा अधिकारीहरुको भनाई छ ।
कोभिड १९ को पहिलो कहरसँगै २०७६ साल चैत १ गतेबाट नेपाल र भारत सरकारले दुवैतर्फबाट नाका बन्द गर्दा नेपालसँग सीमा जोडिएको भारतीय नाका पानीट्याँकी हुदैँ कुनै पनि सवारी साधन नेपालको काँकरभिट्टा नाका भएर भित्रिन पाएका छैनन् ।

























