नेपोलियन वोनापार्टलाई फ्रान्सका सम्राट भैसकेपछि पनि कहिलेकहीँ जनताको अवस्था बुझ्न र आफूबारे बिरोधीको टिप्पणी सुन्न भेष बदलेर नचिनिने भइ हिँड्ने गर्थे । अहिले जस्तो पत्रपत्रिका, टेलिभिजन, इन्टरनेट आदिको सुबिधा नभएकोले उनलाई धेरैजसो जनताले प्रत्यक्ष देख्दा पनि चिन्दैनथे । तिनै नेपोलियन एकदिन सामान्य अवस्थामै कतै जाँदै थिए । बाटामा केही श्रमिकले एउटा निकै ठूलो ढुंगो पल्टाउन बल गरिरहेको देखेर उनी टक्क अडिए । श्रमिकहरु सकी नसकी पसिना चुहाउँदै भए भरको बल लगाएर ढुंगो पल्टाउन खोजिरहेका थिए ।
त्यहीँ नजिकै एकजना मोटोघाटो मानिसचाहिँ छाता ओडेर ती श्रमिकलाई यसरी गर उसरी गर भनेर निर्देशन दिदै छिटो ढुंगा पल्टाउन नसकेकामा हकार्दै थिए । नेपोलियनले तिनैसित सोधे, ‘बिचरा श्रमिकहरु असिनपसिन हुँदै बल गरिरहेका छन् तर तपाईं चाहिँ यहाँ बसेर उनीहरुलाई हकारिरहनु भएकोछ । यसरी गाली गर्नुभन्दा त यसो उनीहरुलाई मद्दत गर्नुभए उनीहरुलाई बल पुग्ने थियो नि ।’ नेपोलियनको भनाइ सुनेपछि ती मानिसले जंगिदै भने ‘तिमीलाई थाहा छ म को हुँ ?’ नेपोलियनले नम्रभावले भने, ‘अहँ मलाई थाहा छैन ।’ ती मानिसले फुर्र्तिसाथ भने ‘म यो आयोजनाको ठेकेदार हुँ । अनि के म ती मजदुरसँगै गएर ढुंगा पल्टाउनु ?’ उनको कुरा सुनेपछि नेपोलियनले मन्द मुस्कुराउँदै ए.. भने र ढुंगा पल्टाइरहेका मजदुरलाई सघाउन पुगे ।
एकैछिनमा ढुंगो पल्टियो । यो सब हेरिरहेका ती ठेकेदारले नेपोलियनलाई बोलाएर सोधे, ‘अनि तिमी चाहिँ को हौ नि ?’ नेपोलियनले हँसिलो मुख बनाएर जवाफ दिए, ‘चिन्नेहरुले मलाई नेपोलियन वोनापार्ट भन्छन् ।’ यति जवाफ दिएर उनी फटाफट आफ्नो बाटो लागे । उनको जवाफ सुनेर ती ठेकेदारको अनुहार पँहेलो भयो । उनले मूर्तिवत ती नेपोलियन गएको हेरिरहे ।
























