हराउँदै पिङ संस्कृति‚ गाउँघरमा देखिँदैन रोटे र लिङ्गे पिङ

A notice in Nepali from Mechinagar Ward No. 10

धनकुटा : एक दशकअघिसम्म दशैं तथा तिहारको अवसरमा ग्रामीण भेगमा रोटेपिङ र लिङ्गेपिङ मुख्य आकर्षण हुन्थ्यो। मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ।

धनकुटाका गाउँगाउँमा पनि दशैं तिहारको मौसममा लिङ्गेपिङ र रोटेपिङ लगाउने गरिन्थ्यो। यस वर्ष भने कमै मात्रामा पिङ लगाइएको धनकुटाको हिले बजारका मोहन घिमिरेले बताए। गाउँमा पिङ नभएपछि जमघट र भेटघाट खल्लो हुने उनको अनुभव छ। पिङमा वृद्धवृद्धा, युवादेखि बालबालिकासम्म झुम्मिने गरेका थिए।

पछिल्लो समय युवा पुस्ता गाउँमा नबस्नु र परम्परा भुल्दै गएपछि पिङ देख्नसमेत मुस्किल भएको हो। ‘पछिल्लो पुस्ताका युवायुवतीलाई त्यस्ता पिङ बनाउने कुनै चासो नै छैन‚’ चौबिसे गाउँपालिकाका कुमार खत्रीले भने, ‘हामी सानो हुँदा गाउँमै तीन/चार स्थानमा रोटे र लिङ्गे पिङ हुन्थ्यो।’

उनका अनुसार पछिल्लो पुस्ताका युवा अत्यधिक विदेश मोहमा छन्। दशैं र तिहारका बेला मात्रै गाउँघरमा जुट्ने उनीहरूलाई रोटे पिङ बनाउने फुर्सद पनि छैन। काठैकाठको बनाउने भएकाले सामुदायिक वनले सजिलै काठ दिनसमेत खोज्दैनन्।

‘पछिल्लो पुस्ताले दुःख गरेर बनाउन खोज्दैन,’ उनले भने, ‘घरमै टेलिभिजन हेरेर बस्ने, अन्य रमाइला कार्यक्रम गर्ने तर पिङ बनाउनेतर्फ ध्यान दिएको पाइँदैन।’

जाँतेपिङ लोप भइसकेको छ। लिङ्गे र रोटेपिङ पनि हराउँदै गएका छन्। महालक्ष्मी नगरपालिकाका कुमार कार्कीले सानै उमेरदेखि दशैंमा पिङ खेल्ने गरेको उल्लेख गर्दै यस वर्ष कतै पिङ नथापिएकाले दशैं खल्लो भएको बताए।

‘पहिले टोलटोलमा पिङ थाप्ने प्रतिस्पर्धा नै हुन्थ्यो तर अहिलेको पुस्तामा त्यसप्रति आकर्षण घटेको पाइन्छ। युवाहरूले आधुनिकताका नाममा संस्कृति छाड्दै गएका छन।,’ कार्कीले भने, ‘संस्कृतिसँग जोडिएका यस्ता प्रचलनलाई युवाले निरन्तरता दिनुपर्छ।

छथर जोरपाटी गाउँपालिकाका नारायण कार्कीले पनि यो वर्ष आफ्नो गाउँ र वरपर रोटे पिङ देख्न पाएनन्। सानो छँदा काठले बनाएको रोटे पिङ खेल्न पुगेको अनुभव छ उनीसँग। तीन वर्ष साउदी अरब बसेर आएका उनी यो वर्ष दशैंमा घर आएका हुन्। तर, पहिलेजस्तो दशैंमा रौनक नहुने उनको भनाइ छ। केही वर्षअघिसम्म पिङ आफूहरू मिलेर हाल्ने गरेको बताउन कार्की अहिले गाउँमा युवा नभएको कारणले पिङ हाल्न नसकेको बताउँछन।

‘पिङ हाल्न एक्लै हुँदैन‚’ उनी भन्छन्‚ ‘गाउँमा एकदुई जनाबाहेक युवा भेटिनै छोड्यो।’ विदेश जानुअघि उनी साथीभाइसँगै पिङका लागि लाइन लागेर खेल्थे। तर‚ यो वर्ष भने पिङ खेल्ने त परैको कुरा, देख्नसमेत पाएका छैनन। उनले गाउँको दुई घण्टा टाढा पनि पिङ खेल्न पुगेको उनले सुनाए।

कस्तो हुन्छ पिङ?

सामान्यतया लिङ्गेपिङ बाँसका लिङ्गो गाटेर बाबियो या नाइलन डोरीको लठ्ठाबाट बनेको हुन्छ भने परम्परागत नेपाली रोटेपिङमा चारवटा काठका पिर्का हुन्छन्। रोटेपिङमा एकैपटक चारभन्दा बढी व्यक्ति एकसाथ खेल्न सक्छन्। दुई व्यक्तिले पिङ हल्लाउनुपर्छ।

पिङको सबै पिर्कामा बराबर वजन भएका व्यक्तिहरू बस्दा सजिलैसँग मच्चिन्छ। जाँतेपिङमा दुईजना बसेर मच्चिन सकिन्छ। काठको मियोको माथिल्लो भागबाट काठ तेस्र्याएर दुवै भागमा एक–एकजना बस्न मिल्ने गरी यसको निर्माण गरिएको हुन्छ।

जाँतो जसरी घुम्ने यो पिङ मच्चाउन एकजनाको सहयोग चाहिन्छ। पिङ खेल्नाले खेल्ने मान्छेलाई त शारिरीक व्यायम हुनुका साथै धकेल्ने मान्छेलाई पनि व्यायम हुने चिकित्सक बताउँछन।

पहिलेका दशैंमा केटाकेटीहरू रमाइलोका लागि पिङमा झुत्तिएका हुन्थे। युवायुवती तथा प्रौढहरू टीकाको दिन धर्ती छाड्नुपर्छ भन्ने मान्यताका आधारमा एकपटक पिङ खेल्न पुग्थे। वयस्क युवायुवतीहरू एउटै लठारोमा चढेर लिङ्गे पिङ मच्चाउँथे। जसलाई दोहोरी खेलेको भन्ने गरिन्छ।

सामाग्री कै अभाव

पछिल्लो पुस्ताले भने पिङको महत्व र मज्जा थाहा पाउने सम्भावना कमै रहेको छ। युवापुस्ता दशैं मनाउन घर आए पनि फूलपातीदेखि टीकाको दिनसम्म घरमा बस्ने भएकाले पनि पिङ हाल्न छाडेका हुन्।

पहाडतिर परम्परागत रुपमा भीरमा पाइने बाबियोबाट बनाइने लठारोलाई नै पिङको डोरीको रुपमा प्रयोग गरिने गरेको थियो। तराईमा भने जुटको डोरी र शहरमा प्लास्टिकको डोरी प्रयोग हुने गरेको छ। पहाडी क्षेत्रमा बाबियो बाट्ने सीप नहुनु र त्यसका लागि चाहिने बाबियो घाँससमेत गाउँघरमा पाइन छोडेपछि दशैंको बेलामा हालिने मौलिक पिङ देख्न मुस्किल परेको स्थानीय बताउँछन्। पिङ हाल्ने र दशैंमा पिङ खेल्ने चलन आधुनिक जीवनशैलीसँगै हराउँदै गएको जानकार ठाकुर बरालको भनाइ छ।

विगतमा दशैं आउनुअघि नै कोही डोरी त कोही बाँस तथा काठको जोहो गर्न थाल्थे। अनि विभिन्न स्थानमा दर्जनौं दर्जन रोटेपिङ, जाँतेपिङ र लिङ्गे पिङ हालेर बालबालिकादेखि युवाको भीड हुने गर्थ्यो। अझ रोटेपिङ निर्माण गर्नका लागि धेरै समय र खर्च, आवश्यक सामग्री र बनाउने मान्छेको कमी पनि भएको छ।

पिङको इतिहास

पौराणिक कथाअनुसार पिङको इतिहास खोज्दै जाने हो भने भगवान कृष्णको पालाभन्दा अगाडिदेखि पिङको विकास भएको बताइन्छ। पौराणिक कथामा वृन्दावनमा चराले गीत गाइरहेको बेला भगवान कृष्णले पिङ खेलिरहेको बताइन्छ।

धार्मिक ग्रन्थका अनुसार कृष्ण गाई चराउँदा पिङमा राधासँग मस्त हुन्थे र पिङमै कृष्णको साथमा राधा पनि लुटुपुटु हन्थिन भनिने गरिन्छ। कृष्ण–राधा दिनभर पिङ मच्चाउथ्यें भन्ने उल्लेख छ।

नेपाली बृहत् शब्दकोशमा ‘रुखको हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनको टुप्पामा बाँधिएको गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन’ भनेर पिङलाई परिभाषित गरिएको छ। गाउँघरमा खेतीपातीमा खटिएका मानिसले दशैंलाई सुस्ताउने र रमाइलो गर्ने मौकाका रुपमा लिन्छन्।

त्यसै कारण बर्खामा हिलो खेलेको खुट्टा, कुटो, कोदालो गरेर थाकेको शरीर, दशैंमा टन्न खाएर पिङमा मच्चिँदा नसा तन्किन्छन् र स्वस्थ्य भइन्छ भन्ने चलन रहेको छ। पिङसँग स्वास्थ्यका कुरा जोड्दा मान्छेले वेवास्ता गर्ने भएकाले यसको महत्त्व दर्शाउन ‘दशैंमा धर्ती छोड्नैपर्छ एकपटक’ भन्ने प्रचलित भनाइ पनि छ। पिङ लोप हुन थालेपछि वर्षमा एक चोटि धर्ती छाड्नुपर्छ भन्ने जनविश्वास पनि विस्तारै टुट्दै गएको छ। पिङ भेट गर्ने मात्र नभएर शुभकामना साटसाट गर्ने स्थलसमेत हुने गरेको थियो।

 

थाहाखबरबाट ईश्वर थापाको आलेख

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.