९ कार्तिक, काठमाडौँ : नेपाल बार एशाेसिएसन सल्लाहकार समितिका सदस्यहरुले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।
‘सल्लाहकार समिति सहितको बैठकमा ३७ जनाले सुझाव दिने क्रममा ३६ जनाले राजीनामा माग्नुपर्छ भनेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अबिलम्ब राजीनामा गर्नुपर्छ भन्ने ९९ दशमलव ५ प्रतिशत सुझाव रह्यो । कार्यसमिति बसेर निर्णय गर्छ र नेपाल बारको त्यो सुझावको आधारमा अबिलम्ब राजीनामा गर्नुभएन भने देशव्यापी रुपमा आन्दोलन गर्नुपर्छ भन्ने छ,’ बैठकपछि वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने ।
यस्तै वरिष्ठ अधिवक्ता शम्भु थापाले बुधबारदेखि कानुन व्यवसायीहरुले सर्वोच्च अदालतमा बहस नगर्ने बताए । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने र उनले गरेका गलत कामको छानबिन हुनुपर्ने आफूहरुको माग रहेको थापाले बताए । सल्लाहकार समितिको बैठकमा आफ्ना धारणा राखेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै वरिष्ठ अधिवक्ता थापाले प्रधानन्यायाधाीश जबरा पदमा रहेसम्म सर्वोच्चमा बहस बहिस्कार गर्ने बताए ।
बारको सल्लाहकार समितिमा पूर्वअध्यक्ष, उपाध्यक्ष र महासचिव रहेका छन् । बारका पूर्वअध्यक्ष समेत रहेका थापाले प्रधानन्यायाधीशले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने बताए ।
सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दिएको प्रतिवेदनले न्यायालयमा बिचौलिया रहेको औंल्याएको भन्दै थापाले त्यसलाई कार्यान्वयन नगरी रोक्न स्वयं प्रधानन्यायाधीश जबरा सक्रिय रहेको आरोप लगाए ।
इकान्तिपुरबाट

























