१० कार्तिक, काठमाडौँ : नेपाली कांग्रेसको १४औं महाधिवेशनको कार्यतालिमा हेरफेर हुने भएको छ ।
बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।
उनका अनुसार अब कांग्रेस महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म गर्ने निर्णय भएको छ। यसअघि कांग्रेसले मंसिर ९ देखि १२ गतेसम्म गर्ने जनाएको थियो । केन्द्रीय महाधिवेशनसँगै तल्लो तहको अधिवेशन पनि सर्ने भएको छ । जसअनुसार वडा अधिवेशन नभएका १३ जिल्लामा कात्तिक २७ गते हुने छ ।
यस्तै, पालिका तहको अधिवेशन कात्तिक ३० का लागि तोकिएको छ भने मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ। अहिलेसम्म हिमाली र उच्च पहाडी गरी १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन भएको छ।
मंसिर १६ र १७ गते प्रदेश अधिवेशन गर्ने गरी मिति तय भएको छ । नयाँ कार्यतालिकामा छलफल भएको भएपनि निर्वाचन समितिका एकजना सदस्य राजधानी बाहिर भएकाले प्रस्ताव हुन र सार्बजनिक हुन मात्र बाँकी रहेको संयोजक यादवले बताए ।
मंगलबार मात्र प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्रै अधिवेशन सक्ने गरी नयाँ कार्यतालिका ल्याउन भनेका थिए ।

























