२० कार्तिक,पोखरा : पश्चिमाञ्चल होटल संघ पोखराले तिहारका अवसरमा आयोजना गर्दै आएको भाइटीका महोत्सवले दुई वर्षपछि पुनः निरन्तरता पाएको छ । कोभिड–१९ को कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं संस्करणको रुपमा पुनः निरन्तरता पाएको हो । महोत्सवमा २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् ।
पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राहरुले विदेशी पर्यटकलाई टीका लगाइदिएका थिए । तिहारको अन्तिम दिन भाइटीकाका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए । नेपाली संस्कृति संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रवर्द्धनमा सघाउने उद्देश्यले भाइटीका कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बताए ।
कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।
महोत्सवमा टीका ग्रहण गर्न कतिपय विदेशी नागरिक दोहोर्याएर समेत सहभागी भएको उनले बताए ।
विदेशी नागरिकलाई टीका लगाइदिएपछि उनीहरुलाई सयपत्री फूलको माला, टोपी र सेलरोटी लगायतका परिकार छात्राहरुले पस्किएका थिए । उक्त अवसरमा देउसी-भैलो तथा सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो । संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकको महत्वबारे विदेशी नागरिकलाई जानकारी गराएका थिए ।
इकान्तिपुरबाट

























