कुमारी बैंक प्रकरणमा सीआईबी अनुसन्धान कर्मचारीतिर सोझियो

A notice in Nepali from Mechinagar Ward No. 10

२ मंसिर, काठमाडौं : गायक योगेश्वर अमात्यको जग्गाको नक्कली धनी पूर्जा बनाएर १९ करोड रुपैयाँ ऋण प्रवाह गरिएको घटनामा प्रहरी अनुसन्धान बैंकका कर्मचारीतिर मोडिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सरकारी लिखत सम्बन्धी कसूरलाई बैंकिङ कसूरमा परिणत गरेर ऋाण प्रवाह गर्ने बैंकको कर्मचारीतिर अनुसन्धान केन्द्रित गरेको हो ।

सरकारी लिखत कीर्तेमा प्रहरीले बढीमा २५ दिन आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । कसूर परिवर्तन भएसँगै अब प्रहरीले अनुसन्धानका लागि ६० दिनसम्मको समय पाउने भएको छ ।

ब्यूरोका निर्देशक धिरजप्रताप सिंह कुमारी बैंकले नक्कली धितोमा ऋण प्रवाह गरेको घटनामा बैंकिङ कसूर शीर्षक अन्तर्गत अनुसन्धान थालिएको बताउँदै भन्छन्, ‘बैंकको संलग्नताबारे पनि अनुसन्धान सुरु भएको छ, तर अहिल्यै यसको प्रगतिबारे बताउने बेला भइसकेको छैन ।’

गायक अमात्यले बारामा भएको आफ्नो जग्गाको नक्कली धनी पूर्जा बनाएर कर्जा प्रवाह भएको भन्दै दशैंअघि सीआईबीमा किटानी जाहेरी दिएपछि ब्यूरोले अनुसन्धान थालेको थियो । तर बैंकले जाहेरी नदिँदा बैंकिङ कसूरमा अनुसन्धान अघि बढ्न सकेको थिएन ।

प्रहरीले लिखत कीर्ते सम्बन्धी कसूरमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधानलाई पक्राउ गरिसकेको छ ।

‘सरकारी वकिलको कार्यालय, काठमाडौंले लिखत कीर्तेसँगै बैंकिङ कसूरमा पनि अनुसन्धान गर्न उचित हुने भनेर सल्लाह दिएपछि यो मुद्दामा अनुसन्धान थालेका हौं’ प्रहरी नायब महानिरीक्षक (डीआईजी) सिंह भन्छन्, ‘अहिले उनीहरुविरुद्ध अनुसन्धानका लागि थप तीन दिन म्याद लिएका छौं, क्रमशः म्याद थप गरेर अनुसन्धान हुन्छ ।’

यस प्रकरणको छानविनका लागि नेपाल राष्ट्र बैंकले बनाएको छानविन समितिको अनुसन्धानले पनि हालै ऋण प्रवाह गर्ने कार्यमा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिनाको पनि संलग्नता देखिएको निश्कर्ष निकालेको छ । यो प्रकरणको ऋणको स्वीकृति तिमल्सिनासम्म पुगेर भएको देखिएको समिति स्रोत बताउँछ ।

सीआईबीका एक अधिकृत भन्छन्, ‘राष्ट्र बैंकले पनि छानविन प्रतिवेदन देला, त्यसको आधारमा पनि अनुसन्धान हुन्छ ।’ बैंकिङ कसूरमा अनुसन्धान गर्दा थप समय पनि प्राप्त भएकाले थप केही व्यक्तिहरुलाई पक्राउ गरेर बयान अनुसार विस्तृत अनुसन्धान हुने उनी बताउँछन् ।

बाराको विश्रामपुरमा गायक योगेश्वर अमात्य र उनकी श्रीमती सञ्चालक रहेको विरुवा भूमिवन प्रालिको नाममा १२ विघा जग्गा थियो । उनीहरु काठमाडौंमा बस्ने भएकाले उनले बाराको जग्गा रेखदेखका लागि एक जना स्थानीयलाई जिम्मा दिएका थिए ।

जग्गा खरिदका लागि धेरैले चासो देखाएका थिए । त्यसपछि अमात्यले ‘यो जग्गा विक्रीमा छैन’ भनेर बोर्ड नै राख्न लगाएका थिए । त्यहीबीच एक व्यक्तिमार्फत एउटा गिरोहले अमात्यको जग्गाको नक्कली धनीपूर्जा बनाएर ऋण निकालेको थियो ।

प्रहरी अनुसन्धानका क्रममा जिल्ला मालपोत कार्यालय, बारामा उक्त जग्गा अमात्यकै नाममा रहेको देखिएको छ । यसको अर्थ सम्पूर्ण कागजात कीर्ते गरेर तयार पारिएका थिए । ब्यूरोका एक अधिकृत भन्छन्, ‘नक्कली कागजातमा भएका हस्ताक्षर पनि जाँचका लागि पठाएका छौं, रिपोर्ट आइसकेको छैन ।’

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.