भोलिदेखि ए डिभिजन, के भन्छन् प्रशिक्षक-कप्तान ?

A notice in Nepali from Mechinagar Ward No. 10

काठमाडौं । पहिलोपटक शहीद स्मारक ए डिभिजन लिग खेल्न लागेको सातदोबाटो युथ क्लबका मुख्य प्रशिक्षक मेघराज केसीले अन्य क्लबले हेर्ने नजर परिवर्तन गर्ने बताएका छन् । भोलिदेखि सुरू हुने शहीद स्मारक ‘ए’ डिभिजन लिगको खेलअघिको पत्रकार सम्मलेनमा बोल्दै मुख्य प्रशिक्षक केसीले सातदोबाटो सानो क्लब नरहेको बताउँदै केही खेलपछि सातदोबाटोलाई नयाँ क्लबको रूपमा कसैले नहेर्ने बताए ।

‘क्लबले पहिलो पटक ए डिभिजन लिग खेल्दै छ, र क्लबलाई यसको ज्ञान छैन,’ उनले भने उनले भने, ‘अहिले अन्य क्लबहरूले सातदोबाटोलाई नयाँ क्लबको रूपमा हेर्छन्, तर, केही खेलपछि सातदोबाटोलाई हेर्ने नजर परिवर्तन हुनेछ ।’

गत सिजन बी डिभिजन च्याम्पियन बन्दै शीर्ष लिगमा उक्लिएको सातदोबाटोले भोलि हुने उद्घाटन खेलमा फ्रेन्ड्स क्लबसँग प्रतिस्पर्धा गर्दैछ । र, लिगको पहिलो खेल नै भएकाले सुधार गर्ने समय धेरै हुने उनले बताए ।

यस्तै, कप्तान मानबहादुर तामाङले पनि आफूलाई प्रमाणित गर्ने अवसर लिएको बताएका छन् । यसअघि हिमालयन शेर्पाका कप्तान रहेका तामाङले भने, ‘चेन्जलाई च्यालेन्जको रूपमा लिएको छु । आफूले आफूलाई प्रमाणित गर्ननलाई अवसरको रूपमा हेरेको छु । क्लब नयाँ भएकोले सक्दो मेरो टोलीलाई माथि पुर्‍याउन आफ्नो अनुभव बाँड्ने छु ।’

नेपाली फुटबलमा अनुभवी विदेशी खेलाडीहरू- पिटर र मार्टिन्सको प्रभावले युवा खेलाडीलाई मोटिभेसन भइरहेको पनि उनले बताए ।

यस्तै भोलि नवप्रवेशी सातदोबाटोविरुद्ध तीन अंक हासिल गर्ने क्लबको तयारी रहेको फ्रेन्ड्सका कप्तान सुरज विकेले बताए ।

‘हाम्रो औसत टोली छ । भोलिको खेलमा हामी तीन अंक लिने योजनमा छौं,’ उनले भने, ‘नयाँ क्ल्ब भए पनि हामीले सातदोबाटोलाई हामीले कम आँकेका छैनौं । ३ अंक हासिल गर्ने योजना छ ।’

फ्रेन्ड्सका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले रेलिगेसनबाट बच्ने क्लबको प्रमुख लक्ष्य रहेको बताए ।

‘४० दिनदेखि अभ्यास गरिरहेका छौं र ए डिभिजन लिगमै बच्ने क्लबको योजना छ,’ उनले भने, ‘पहिले जोगिने अनि बाँकी योजना बनाउने छौं । सम्भव भयो भने ६-७ सम्म हुन कोसिस गर्नेछौं ।’

के भन्छन् अरू क्लबका प्रशिक्षक ?

जावलाखेल युथ क्लब

प्रशिक्षकः किशोरकुमार केसी

आसन्न लिगमा हाम्रो चौथो हुने लक्ष्य छ । भारतीयसहित विदेशी खेलाडी छन् । रणनीतिक तयारी पनि राम्रो छ ।

कप्तानः कुलदीप कार्की

तयारी राम्रो छ । मानसिक र शारीरिकरूपमा पनि तयार छौं । पहिलो खेलमै मनाङ मर्स्याङ्दी क्ल्बसँग खेल्ने भन्नेबित्तिकै डर छैन । पहिलो नभए पनि हामीले खेल्नै पर्थ्यो । मनाङविरुद्ध हामी धेरै नर्भस र उत्साहित पनि छैनौं ।

नेपाल पुलिस क्लब

प्रशिक्षकः अनन्त थापा

विभागीय टोली भएकाले हामी जहिल्यै तयार छौं । ३/४ महिनादेखि तयारी गरेका छौं । उपाधि जित्ने अपेक्षा छ । युवा टोली छ । नयाँ अनुहार छन् । केही सरप्राइज निकाल्ने योजनामा छौं ।

रिजल्टका लागि खेल्छौं । खेलाडीहरूबीच पनि राम्रो कम्युनिकेसन छ । विभागीयमा विदेशी खेलाडी नहुनु तर रेगुलर तालिम हुनु ब्यालेन्स हुन्छ जस्तो छ । सबै टोली २०/१९ नै छ । मच्छिन्द्र क्लब केही बलियो होकी जस्तो लागेको छ ।

कप्तानः राम वाजी

टोलीको तयारी कोभिडको दोस्रो लहरपछि सुरू गरेका थियौं । तर, हाम्रो तयारी राम्रो छ । पहिलो पटक कप्तानी हो, जिम्मेवारी बढेको छ ।

त्रिभुवन आर्मी फुटबल क्लब

प्रशिक्षकः राजु तामाङ सहायक

तयारी एकदमै राम्रो छ । लिगको उपाधि जित्ने योजनामा छौं । नवयुग श्रेष्ठले लिग गुमाउने भएसँगै आक्रामक फ्रन्ट लाइनमा समस्या भएको छ । तर, नवयुग जत्तिकै क्षमता भएका खेलाडी छन् ।

कप्तानः भरत खवास

तयारी राम्रो छ । परिवारमा एक सदस्य नहुँदा अप्ठेरो हुन्छ । तर, उसलाई रिप्लेस गर्न उत्तिकै क्षमता भएका खेलाडी छन् । उनीहरूलाई मौका हुन सक्छ । आर्मीको सधैँ अल्टिमेट टार्गेट भनेको च्याम्पियन हुनु हो । तर, कमजोरी हुँदै आएको छ ।

यसपाली पनि राम्रो टोली बनेको छ । युनाइट भएर खेलेका छौं । सफल हुने आशा गरेका छौं । सबै टोली उपाधि दाबेदार छन्, जस्तो लाग्छ ।

न्युरोड टिम (एनआरटी)

प्रशिक्षकः राजुकाजी शाक्य

तयारी राम्रो छ । तर, मैदानको समस्या भयो । अरू राम्रो छ । केही खेल खेल्यौं । धेरै खेलाडी ट्रयालबाट लिएका छौं । तर, तयारीको समय कम भयो । सक्दो उत्कृष्ट दिनेछौं ।

एनएसएलको कारणले विदेशीको उपस्थितिले खेलाडी राम्रो छ । युवा खेलाडीले उनीहरूलाई समर्थन गर्न सक्यो र कम्बिनेसन भयो भने राम्रो हुन्छ । सके उपाधि जित्ने, नसके शीर्ष चारमा पर्ने कोसिस गर्नेछौं ।

कप्तानः अजित प्रजापती

पहिलो भन्दा क्लब राम्रो बन्दै छ । युवा खेलाडीहरू छन् । तयारी र टोलीको मनोबल उच्च छ । विदेशी बलियो खेलाडी छन् ।

सबैभन्दा राम्रो मच्छिन्द्र जस्तो छ । हामीले गत वर्ष पनि फाइट दिएका थियौं । यो वर्ष पनि दिनेछौं ।

एपीएफ फुटबल क्लब

प्रशिक्षकः कुमार थापा

परिवर्तन केही पनि छैन । हामीले रिजल्ट परिवर्तन गर्ने योजनामा छौं । १२औं स्थानबाट आठमा पर्ने योजना छ । नयाँ र युवा खेलाडी पनि छन् । दुई खेलाडीले डेब्यू गर्नेछन् ।

फर्मेसन र रिजल्टमा परिवर्तन होला, तर टोलीको संरचनामा परिवर्त हुँदैन ।

कप्तानः टोप विष्ट

समग्रमा तयारी राम्रो छ । ३ महिनादखि अभ्यास गरिरहेका छौं । धेरै माथिको अपेक्षा छैन । चौथोदेखि आठौं स्थानमा फिनिस गर्ने योजना छ ।

मच्छिन्द्र क्लब

प्रशिक्षकः प्रवेश कटुवाल

डिफेन्डिङ च्याम्पियन भएर हामीलाई बलियो देखेको छ । हामीले यसपाली राष्ट्रिय टोलीका नयाँ खेलाडीहरू पनि अनुबन्ध गरेका छौं । उपाधि जित्नभन्दा उपाधि जोगाउन गाह्रो हुन्छ भनेर फरवार्ड लाइनमा धेरै खेलाडी राखेका छौं ।

धेरै स्टार खेलाडीहरूलाई म्यानेज गर्न गाह्रो नै हुन्छ । तर, प्रशिक्षकले चुनौती लिनैपर्छ । च्याम्पियन हुन् स्टार खेलाडी धेरै राख्नैपर्छ । धेरै स्टारलाई म्यानेज गर्न गाह्रो त हुन्छ नै । हामीले गत सिजन राम्रो गर्यौं सबैले खेल्न पनि पाए । यो सिजन पनि त्यसलाई निरन्तरता दिन चाहन्छौं ।

कप्तानः सुजल श्रेष्ठ

हामीले तीनपटक लगातार जित्यौं । दुई पटक मनाङ र पछिल्लो समय मच्छिन्द्रबाट । यसपाली पनि हामीलाई त्यही चुनौती छ । पहिले कै जोसमा छौं । अपेक्षा गर्छौं यो सिजन पनि रक्षा गर्नेर्छौं । धेरै पोजिसनमा खेल्न सक्छु, र त्यसले प्रशिक्षकलाई फाइदा हुन्छ जस्तो लाग्छ ।

संकटा क्लब

प्रशिक्षकः विष्णु गुरुङ

सबैले टोलीले राम्रो तयारी गरेका छन्, हामी पनि त्यसैअनुसार तयारी गरेका छन् । कम्युनिकेसन महत्त्व्पूर्ण हुन्छ हामीलाई । र, मलाई पहिले खेलाडी भएकाले अहिले कम्युनिकेसन गर्न पनि सजिलो भइरहेको छ ।

कप्तानः रवि सिलवाल

छोटो समयमा तयारी राम्रो भएको छ । पर्फर्मेन्स राम्रो गर्ने प्रमुख लक्ष्य हुनेछ । क्लबको आफ्नै मैदान भएकाले ट्रेनिङ गर्न सजिलो छ । होस्टेल पनि भएकाले राम्रो तयारीका लागि सजिलो भएको छ ।

च्यासल युथ क्लब

प्रशिक्षकः बालगोपाल साहुखल

युवा खेलाडी धेरै छन् । इनर्जेटिक टोली छ । मुख्य कुरा टोली बनाउँदै छौं । खेलाडीहरूको ‘मोरल हाइ’छ । युवा खेलाडी धेरै भएकाले हामी धेरै उत्साहित छैनौं । दुई अफ्रिकन अनुभवी छन् । तर, विकाश (मेराग्लिया) युवा छ, अन-प्रेडिक्टेबल छ ।

युवा खेलाडीलाई म्यानेज गर्न सजिलो हुन्छ । अनुभवीलाई स्ट्रेट फरवार्ड कम्युनिकेनस गर्न गाह्रो हुन्छ । सन्तोष साहुखल आउने कुरा निश्चित छ, तर कहिले भन्ने निश्चित छैन ।

कप्तानः विराज महर्जन

गत सिजन मच्छिन्द्रबाट लिग जितेका थियौं । यसपाली च्यासलको एभरेज टोली छ । टप फाइट दिनेछौं । शीर्ष चारसम्म पुग्ने लक्ष्य छ ।

ब्रिगेड ब्वाइज

प्रशिक्षकः सनोज श्रेष्ठ

यसपाली हामी गत संस्करणको नतिजा सुधारेर राम्रो नतिजा ल्याउने तयारीमा छौं । उत्कृष्ट नतिजा दिने योजनमा छौं । प्राय धेरै खेलाडी युवा छन् । नतिजा राम्रो दिने अपेक्षा छ ।

कप्तानः अनिल गुरूङ

पहिलेको भन्दा केही राम्रो छ । उमेर समूहमा खेल्ने धेरै खेलाडी हामीसँग छन् । लिगमा सिनियरभन्दा युवा धेरै छन् । तर, हामी सन्तुलन बनाएर राम्रो गर्छौं ।

मनाङ मर्स्याङ्दी क्लब

प्रशिक्षकः राजेश तामाङ

चाडको बेला तयारी पर्‍यो । बलियो टोली हो, विदेशी-स्वदेशी सबै खेलाडी अनुभवी छन् ।

उपाधि जित्ने योजनमा छौं । केही खेल पोखरामा खेलाउने पहल भइरहेको छ । यस्तो भयो भने फाइदा हुन्छ । समर्थक पनि धेरै छन् । चार्म पनि छ । तर, तयारी पनि गर्नैपर्छ ।

सतप्रतिशत समर्थन हुन्छ भनेर सोच्न सक्दैनौं । पहिलो कुरा त तयारी गर्नैपर्छ ।

कप्तानः विमल राना

कोच र तोपे फुजाको तरिका करिब-करिब मिल्छ । त्यसैले हामीलाई तयारी गर्न सजिलो छ । लकले फेभर गर्नुपर्छ । धेरै खेलाडीले छाडेर जाँदा पनि क्लबमा राम्रो थियो तर केही मिस्टेक भए । यसपाली हामी गल्ती सुधारेर लिग जित्ने ।

थ्री स्टार क्लब

प्रशिक्षकः उर्जन श्रेष्ठ

हाम्रो तयारी राम्रो छ । अपेक्षा उपाधि जित्ने छ । सबै टोली बलियो छन् । गत सिजनभन्दा राम्रो गर्दै उपाधि जित्ने योजनासहित थ्री स्टारले तयारी गरेको छ ।

कप्तानः विक्रम लामा

तयारी राम्रो छ । दसैँ-तिहारले केही प्रभाव परे पनि हामी सन्तुष्ट छौं । मुख्य कुरा फिल्डमा प्रदर्शन गर्ने नै हो । र, हामी तयार छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.