११ पुस, मेचीनगर : नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्यालसहित झापाली साहित्यकार भूवन सुब्बा खरेल भारतको लखनउमा सम्मानित हुनुभएको छ । साहित्यकारद्वय प्राज्ञ सदस्य अर्याल र कथाकार खरेल ‘भारत रत्न श्री अटल विहारी वाजपेयी अन्तर्राष्ट्रिय गौरव सम्मान’बाट सम्मानित हुनुभएको हो । सम्मानित दुवैजना झापा मेचीनगर—६ काँकरभिट्टा निवासी हुनुहुन्छ ।

राष्ट्रिय केसरिय हिन्दु वाहिनी महासभा (रजि)ले भारतका पुर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको जन्मदिनको अवसर पारेर आयोजना गरेको कार्यकर्ता सम्मेलन, पुस्तक विमोचन तथा संस्मरण समारोहका अवसरमा लखनउका उद्योग व्यपार राज्यमन्त्री मनिस गुप्ताले दुवैलाई ‘भारत रत्न श्री अटल विहारी वाजपेयी अन्तर्राष्ट्रिय गौरव सम्मान’ प्रदान गर्नुभएको थियो ।

सन् २०२० मा उक्त सम्मानका लागि छनौटमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद्रा भट्टराई अर्याल छनौटमा पर्नुभएपनि कोभिडका कारण सहभागि भएर सम्मान ग्रहण गर्न पाउनु भएको थिएन् । सन् २०२१ को यो सम्मान झापा मेचीनगर —६ काँकरभिट्टा निवासी कथाकार खरेललाई प्रदान गर्ने निर्णय भएको थियो । यो सम्मान ग्रहण गर्न पाउदा निक्कै खुशी लागेको सम्मानित दुवैले प्रतिक्रिया दिनुभयो ।
आयोजक संस्थाका अध्यक्ष शैलेन्द्र यादवको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक डाक्टर ब्रम्हानन्द तिवारी अवधुत, डाक्टर आशिष गुप्तालगायत विभिन्न राज्यबाट साहित्यकार, लेखकहरुको सहभागिता रहेको थियो ।

























