अब पास हुन ३५ अंक अनिवार्य

A notice in Nepali from Mechinagar Ward No. 10

१३ पौंष, काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतका पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि परीक्षामा ३५ अंक नल्याउने विद्यालय तहका विद्यार्थीलाई फेल गराउने गरी परीक्षा मूल्यांकनको नयाँ व्यवस्था कार्यन्वयनमा ल्याएको छ।

केन्द्रले चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याएको ‘लेटर ग्रेडिङ निर्देशिका, ०७८ले विद्यालय तहको कक्षा १–१२ सम्मका विद्यार्थीहरू अब परीक्षमा उत्तीर्ण हुन प्रत्येक विषयमा ३५ नम्बर अनिवार्य ल्याउनुपर्ने व्यवस्था गरेको ०७२ सालदेखि कार्यन्वयनमा ल्याएको ग्रेडिङ प्रणालीले विद्यार्थीको सिकाइस्तर खस्काएको, शिक्षकमा पढाउने र विद्यार्थीको अध्ययन गर्ने संस्कृति हटाएको निष्कर्ष निकाल्दै पाठ्यक्रम विकास केन्द्रले अक्षराङ्कका पद्धति कार्यान्वयन कार्यविधि, ०७२ खारेजी गरी नयाँ लेटर ग्रेडिङ निर्देशिका, ०७८ कार्यन्वयनमा ल्याएको केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।

नयाँ व्यवस्थाअनुसार अब विद्यार्थीको मूल्यांकन कक्षा १ देखि १२ सम्म एकरूपता कायम गरेको उनले जनाए। आठवटा श्रेणीमा वर्गीकृत ग्रेडिङ प्रणालीमा ९० र सो भन्दामाथि अंक प्राप्त गर्नेले स्तरीकृत अंक ४.० प्राप्त गर्नेछन् भने अक्षरमा ए प्लस र उपलब्धिस्तर सर्वोत्तम कायम हुनेछ।

८० र सोभन्दा माथि ९० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत ३.६ र अक्षरमा उपलब्धिस्तर ए प्राप्त गर्नेछन्। यी समूहका विद्यार्थीको उपलब्धिस्तरको व्याख्या अत्युत्तम हुनेछ। ७० र सोभन्दा माथि ८० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक ३.२ र अक्षरमा उपलब्धिस्तर बी प्लस कायम हुनेछ भने उपलब्धि स्तरको व्याख्या उत्कृष्ट कायम हुनेछ।

६० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक २.८ कायम हुने र अक्षरमा उपलब्धि बी हुनेछ भने उपलब्धिस्तरको व्याख्या उत्तम हुनेछ। ५० र सोभन्दा माथि ६० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.४ कायम हुने अक्षरमा उपलब्धि सी प्लस र उपलब्धिस्तरको व्याख्या सन्तोषजनक कायम हुनेछ।

४० र सोभन्दा माथि अंक प्राप्त गर्ने विद्यार्थीको स्तरीकृत अंक २.० हुने अक्षरमा उपलब्धिस्तर सी कायम हुने र उपलब्धिस्तरको व्याख्या ग्राह्य कायम हुनेछ। यसैगरी, ३५ र सोभन्दा माथि ४० भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तरीकृत अंक १.६ हुने, अक्षरमा उपलब्धिस्तर डी र उपलब्धिस्तरको व्याख्या आधारभूत कायम गरिनेछ भने ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीहरूको स्तर अवर्गीकृत गरिने अर्थात् फेल गरिने व्यवस्था नयाँ ग्रेडिङ प्रणालीले गरेको छ।

‘परीक्षा मूल्यांकनको नयाँ व्यवस्था अनुसार न्यूनतम सिकाइ नभएको विद्यार्थीले अर्को कक्षा चढ्न पाउने छैनन्,’ महानिर्देशक न्यौपानेले नागरिकसँग भने, ‘विगतमा नपढे पनि पास हुने, नपढाए पनि पास हुने अक्षराङ्कन प्रणालीको गलत बुझाइलाई नयाँ व्यवस्थाले दूर गरेको छ,’ उनले थपे, ‘विद्यार्थीको सिकाइस्तरको स्तरीयता कायम गर्न र अन्तर्राष्ट्रियस्तरमा समेत मानक कायम गर्न विद्यालय तहको शिक्षामा अक्षराङ्कन प्रणालीमा एकरूपता कायम गर्न नयाँ व्यवस्था कार्यन्वयन गरिएको हो।’

यसअघि आधारभूत तहमा स्थानीय तहपिच्छे फरक–फरक अक्षराङ्कन प्राणाली लागु थियो भने निजी र सरकारी विद्यालयबीच पनि फरक नै रहेकाले मूल्यांकनमै समस्या आएको थियो।

यति मात्र होइन विगतमा सैद्धान्तिकमा ५ नम्बर मात्र ल्याए पास हुने व्यवस्थाको अन्त्य गरेर नयाँ निर्देशिकाले विद्यार्थीमा सिर्जनात्मक क्षमताको विकास र शिक्षकका मिहिनेत गरेर पढाउने बानीको विकास गर्ने विश्वास शिक्षाविद् विद्यानाथ कोइरालाको छ।

नयाँ व्यवस्थाअनुसार अब विद्यार्थीले सैद्धान्तिकमा अनिवार्य ३५ अंक र व्यावहारिकमा ४० अंक ल्याए मात्र मूल प्रमाणपत्र पाउने व्यवस्था गरेको छ भने दुई विषयभन्दा बढी विषयमा ३५ भन्दा कम अंक प्राप्त गरे वा ग्रेड वृद्धि परीक्षामा ३५ अंक प्राप्त गर्न नसकेका परीक्षार्थीले अर्को वर्षको सम्पूर्ण विषयको परीक्षामा संलग्न हुने वा सोही कक्षामा पुनः अध्ययन गर्नुपर्ने व्यवस्थाले विद्यार्थीमा अब अनिवार्य रूपमा मिहिनेत गरेर पढ्ने संस्कृतिको विकास गर्ने शिक्षाविद् कोइरालाको विश्लेषण छ।

‘०७२ सालसम्म विद्यार्थीले पढेर अध्ययन गरेर कम्तीमा ३२ नम्बर ल्याउने व्यवस्थाले शिक्षाको गुणस्तर कायम गरेको थियो,’ शिक्षाविद् कोइरालाको विश्लेषण छ। ‘०७२ पछि दातृ निकायको निर्देशनमा धेरै विद्यार्थी पास गराउने निहुँमा नपढे पनि पास हुनेगरी अक्षराङ्कन पद्धतिले समग्र विद्यालय शिक्षाको स्तरै खस्काएको सरकारी प्रतिवेदनलेनै उजार गरिदियो,’ उनले भने, ‘हाल सरकारले कार्यान्वयनमा ल्याएको लेटर ग्रेडिङ निर्देशिका, ०७८ले अब नपढे फेल हुन्छ है भन्ने व्यवस्था गरेको अवस्थमा परिणाम उपलब्धिमूलक हुने विश्वास लिन सकिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.