२० पुस, काठमाडौँ : बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा प्रकरणका मुख्य अभियुक्त शोभाकान्त ढकालविरुद्ध राजस्व छलीको समेत मुद्दा परेको छ।
मंगलबार राजस्व अनुसन्धान विभागले ढकालको कम्पनी आनसान इन्टरनेशनलले राजश्व छली गरेको आरोपमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।
विभागले सार्वजनिक गरेको विवरण अनुसार शोभाकान्त ढकाल, सरोज ढकाल, उमाकुमारी ढकाल र सान्टु श्रेष्ठ सञ्चालक रहेको आनसान इन्टरनेशनलले नक्कली बिलबिजक तयार पारी कारोबार नै नभएको देखाएर राजश्व छली गरेका हुन्।
सो कम्पनीको लेखा परीक्षण गर्ने फर्म राजेश्वर एण्ड कम्पनीका सञ्चालक राजेश्वर श्रेष्ठविरुद्ध समेत विभागले मुद्दा दर्ता गरेको हो।
आनसान इन्टरनेसनलले ४२ करोड २६ लाख सात हजार ३५१ मूल्य अभिवृद्धि कर, ६८ करोड ४८ लाख २६ हजार ९७ रुपैयाँ आयकर र नौ करोड, ७४ लाख ८४ हजार ३७६ रुपैयाँ लाभांश गरी एक अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ राजस्व छलेको विभागले आरोपपत्रमा उल्लेख गरेको छ ।
उनीहरुविरुद्ध १ अर्ब २० करोड ४९ लाख १७ हजार ८२४ रुपैयाँ विगो र त्यति नै जरिवाना गरी २ अर्ब ४० करोड ९८ लाख ३५ हजार ६४८ रुपैयाँ असुल गर्न र ३ वर्ष जेल सजाय गर्न माग गरिएको छ । यस्तै, लेखा परीक्षण फर्म राजेश्वर एण्ड कम्पनीलाई मतियार ठहर गरी आधा सजाय मागदाबी गरिएको छ ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गरेको प्रकरणमा विशेष अदालतको आदेशमा ढकाल हाल थुनामा रहेका छन् ।

























