२७ पुस , मेचीनगर : झापाको मेचीनगर —९ धुलाबारीमा मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना अन्तरर्गत धुलावारी स्कीमको ४ सय ५० घन लिटर क्षमताको ओभरहेड ट्यांकीको मंगलबार शिलान्यास भएको छ ।
धुलाबारी खानेपानी उपभोक्ता समितिले आयोजना गरेको शिलान्यास समारोहमा मेचीनगर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना पोखरेल उप्रेतीले संयुक्तरुपमा ओभरहेड ट्यांकीको सिलान्यास गर्नुभएको थियो ।
मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजना कार्यान्वयन गर्न मेचीनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था, मेचीनगर नगरपालिका प्रदेश नम्बर १ झापा र संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरबीच गएको बैशाखमा त्रिपक्षीय सम्झौता भएको थियो ।
झापाको मेचीनगर—४ बाहुनडाँगीमा काँकरभिट्टा खानेपानी स्किमको ४ सय ५० घन लिटरको क्षमता र मेचीनगर—१३ चारआलीमा २२५ घनलिटर क्षमताको ओभरहेड ट्यांकीको निर्माण कार्य धमाधम भइरहेको छ । धुलावारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष अजयकुमार घिमिरेको सभापतित्वमा भएको शिलान्यसा समारोहमा बोल्दैं नगरप्रमुख आचार्यले नेपालको संविधान २०७२ मा हरेक नागरिकले सफा, शुद्ध र स्वच्छ पानी पिउने उस्को नैसर्गिक अधिकार स्पष्ट भएकाले अब मेचीनगर नगरपालिकाले आफ्ना नगरवासीलाई स्वच्छ, सफा र शुद्ध पानी उपलब्ध गराउने बताउनुभयो । समयमै ओभरहेड ट्याँकीको निर्माण कार्य सम्पन्न हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
मेचीनगरक्षेत्रभित्र रहेका करीव २ दर्जन खानोपानी आयोजनामध्ये काँकरभिट्टा, धुलावारी र चारआली तीन ठुला खानेपानी आयोजना रहेको नगरप्रमुख आचार्यको भनाई थियो । यी आयोजनाहरुको आ आफ्नै इतिहास रहेको नगरपालिकाले अन्य साना खानेपानी आयोजनाहरुलाई आफ्नो क्षमताले भ्याएसम्म अघि बढाएको बताउनुभयो । सवै खानेपानीका समितिका पदाधिकारी उपभोक्ता तथा मेचीनगर नगरपालिकाको साथ सहयोग र सहकार्यले यो कामलाई अघि बढाउन सफल भएकोमा नगरप्रमुख आचार्यले सवैप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले यस आयोजनाले नगरपालिकाक्षेत्रभित्र खानेपानीमा निक्कै टेवा पुग्ने बताउनुभयो । मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनामा त्रिपक्षीय सम्झौता भएसँगै नगरवासीले थप सफा, शुद्घ र स्वच्छ पानी पिउन पाउने कुरामा उपप्रमुख उप्रेतीले विश्वास व्यक्त गर्नुभयो ।
काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था तथा मेचीनगर सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष राजकुमार पराजुली, धुलावारी खानेपानी उपभोक्ता समितिका पूर्व अध्यक्ष राम कट्टेललगायतले बोल्नुभएको थियो ।
धुलावारी खानेपानी उपभोक्ता समितिका सचिव कञ्चन तामाङले सञ्चालन र उपाध्यक्ष चेतन विष्टले सहभागी सवैमा स्वागत गर्नुभएको थियो । तीनवटै खानेपानीको आयोजनाको कुल लागत इष्टिमेट ३६ करोड, ९१ लाख ९३ हजार ७ सय २९ रुपैयाँ ७६ पैसा रहेको छ । सहलागानी अवधारणा कुल लागतको नेपाल सरकारको ७० र उपभोक्ता संस्थाको ३० प्रतिशत रहने छ । यस आयोजनाबाट नगरभरिका ४ हजार ७० घरधूरीका २२ हजार ८ सय १२ जना लाभान्वित हुने छन् । यस आयोजनाबाट मेचीनगरका २,३,४, १०,११,१३ र १४ नम्बर वडाहरुमा सेवा विस्तार हुने छ ।