३ माघ, मेचीनगर : नोवल कोरोना भाइरस कोभिड १९ को ओमिक्रोन भेरियन्टको संक्रमण तीव्ररुपमा फैलिएसँगै सोमबारबाट नेपाल प्रवेश पूर्वीद्वार काँकरभिट्टा नाकाहुँदै आवतजावत गर्नेमाथि कडाई गरिएको छ । प्रहरीले चेकजाँचलाई समेत कडा बनाएको छ ।
अत्यावश्यक काम बाहेक अन्य कामका लागि काँकरभिट्टा नाका भएर आवातजावत गर्ने सवैलाई रोक लगाइएको स्थानीय प्रशासनले जनाएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टाका अनुसार उपचारका लागि जानेले चिकित्सकले प्रेस्क्राईप गरेका कागजात, हवाईयात्रुले जहाजको टिकट अनिवार्य देखाएर मात्र भारततर्फ जान तथा नेपालतर्फ आउन पाउने प्रहरी नायव उपरीक्षक सुनिल दाहालले जानकारी दिनुभयो । अत्यावश्यक काम बाहेक भारततर्फ जान नदिने र सर्वसाधारणलाई समेत अनावश्यकरुपमा भारतीय बजार नजान मेचीनगर नगरपालिकाले आग्रह गरेको छ ।
अरु कुनै कारणले नभएर संक्रमण पुनः तीव्ररुपमा फैलिएका बेला नेपालतर्फ संक्रमण फैलिन नदिनका लागि चेकजाँच र आवतजावतमा कडाई गरिएको प्रहरी नायव उपरीक्षक सुनिल दाहालले बताउनुभयो । आइतबारसम्म सिटी सफारी तथा नेपाली र भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा अन्य सवारी साधन नेपाल भारत आवतजावत गरेका भए पनि सोमबारबाट निश्चितक्षेत्रसम्म मात्र सञ्चालन गर्न पाउने भएका छन् ।
स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न गराउन , मास्कको प्रयोग गन गराउन, सीमानाकालाई व्यवस्थित गर्न, सीमानाका वारिपारी गर्न निरुत्साहित गर्न अहिले स्थानीय प्रशासन लागेको छ । सडकमा अहिले सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुले काँकरभिट्टानाका भएर आवतजावत गर्ने सवैप्रति निगरानी बढाइरहेका छन् मास्क, सेनिटाइजर, सामाजिक दूरीलगायत स्वास्थ्य सुरक्षा सम्बन्धि मापदण्ड कार्यान्वयन गर्न प्रहरी कडाईका साथ लागेको छ । दक्षिण अफ्रिका भएर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन को संक्रमण भारतको पश्चिम बंगाल राज्यको विभिन्न शहरमा देखिए लगत्तै भारतसँग सीमा जोडिएको नेपाल प्रवेशको पूर्वीद्वारमा भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने मानिसहरुलाई चेकजाँचमा कडाई गर्न थालिएको थियो । सोमबारबाट झनै कडाइ गरिएको छ ।
नेपाली सीमा नजिकै रहेको भारतीय सहर सिलिगुडीमा ओमिक्रोनको संक्रमण देखापरे पछि त्यस क्षेत्रका सम्पूर्ण शिक्षण संस्थाहरु बन्द गरिएको छ । पश्चिम बंगाल सरकारले १५ दिनका लागि उत्तर बंगाल क्षेत्रका सिलिगुडी, बाघडुग्रा, दार्जिलिङ, खरसाङ, कालेबुङ क्षेत्रका सबै सरकारी तथा नीजि शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
पश्चिम बंगालको सिलिगुडी नक्शलवाडीमा यसको संक्रमण देखिएको छ । सिलिगुडी काँकरभिट्टा नाकाको छेउमै पर्दछ । नेपाल प्रवेश गर्दा अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको हुनुपर्ने स्थानीय प्रशासनको भनाई छ ।

























