मेरो मेचीनगर डेस्क,मंसिर ७ ।
प्रदेश १ सरकारले भोजपुरको ट्याम्के डाँडामा १४ करोड रुपैयाँ लागतमा भ्यू टावर बनाउने योजनालाई राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले डाँडाका टुप्पोमा पैसा खर्च गरेर भ्यू टावर बनाउने कुराको विरोध गरेका छन् ।
उनले फेसबुकमा स्टाटस लेख्दै भ्यू टावर बनाउनको साटो अनुसन्धान केन्द्र बनाउन सुझाएका छन् । उनले लेखेका छन्, ‘भ्यूटावर बनाउने पैसाले त्यही डांडामा एउटा अनुसन्धान केन्द्र खोलेर त्यो भेकमा भएका प्रतिभाशाली र सृजनशीललाई पालन पोषण गर्ने र उद्यमी बनाउने कामको सुरुवात गरेमा धेरै फाइदा होला ।’
यस्तै उनले टेम्के डाँडामा मात्रा होइन कि नेपालका अरु अरु ठाउँहरुमा पनि करोडौं रुपैंया खर्च गरेर भ्यूटावर बनाउन तम्सिने नेताहरुलाई खबरदारी समेत गरेका छन् ।
महावीरले मुलुक समृद्ध हुनुपर्नेमा जोड दिँदै भने, ‘पहिला देशलाई समृद्ध बनाऔ अनि त्यस्ता भ्यूटावरहरु भविष्यमा जति बनाए पनि बनाउनु होला।’ उनले आफूले भने जस्तो गरे देश २५ वर्षमा समृद्ध हुने समेत उल्लेख गरेका छन्।
उनले केही दिन अघि एक स्टाटस लेख्दै यस्तो बताएका थिए । तर त्यस स्टाटसको विरोध आएपछि पुनले पुनः स्पष्टिकरण दिंदै अर्को स्टाटस लेखेका छन् । संस्कृतिक पहिचानका लागि टावर बनाउन लागिएकोमा पुनले आपत्ति जनाएको भन्दै विरोध भएपछि पुनले पुनः स्टाटस लेख्दै सांस्कृतिक पहिचानको लागि कुनै स्मारक निर्माण गर्ने भन्नु र दृद्श्यवलोकन लागि भ्युटावर बनाउँछु भन्नु फरक कुरा रहेको बताएका छन् ।
उनले लेखेका छन्, ‘हिमाल सहित नेपालका सबै डांडाहरु प्राकृतिक टावरहरु हुन् र हाम्रा डांडाहरु कृत्रिम टावरहरु भन्दा हजारौं गुणा अग्ला छन । मेरो कुरा राम्रो संग पढ्नु होला । मैले त्यो टेम्के डांडाको भ्युटावर बनाउने कुराको मात्र बिरोध गरेको होइन नि, लाखौं करोडौंको लागतमा दृश्याबलोकन र पर्यटक भित्राउने भन्ने निहुँमा सयौं र हजारौं मिटर अग्लो प्राकृतिक डांडामा बीस तीस मिटर अग्लो टावरहरु पैसा खाने उदेश्यले नेपाल भरि धेरै ठाउँहरुमा बनिसके र बन्दैछन् । मेरो भनाई त्यो पैसा अहिलेलाई अति आवश्यक र गतिलो काममा प्रयोग गरौँ भन्ने हो । यस्ता टावरहरु बनाउनु भन्दा पहिला देशलाई अनुसन्धान तथा बिकासको माध्यमबाट धनी बनाउँ । देश धनी भएपछी जे जे बनाए पनि हुन्छ नि ।’
ट्याम्केमैयुम गाउँपालिकामा उक्त टावर बन्न लागेको हो । अहिले उक्त टावरको फोटो सामाजिक संजालमा भाइरल नै बनिरहेको छ ।