शुक्रबार १२ ,मङ्गसिर २०७७
जिल्ला प्रशासन कार्यालय बाँकेले भारत सीमाको जमुनाह नाकामा राखिएको ‘होल्डिङ्ग सेन्टर’ हटाइएको छ । होल्डिङ्ग सेन्टर बुधबारदेखि हटाएको हो । भारतबाट आउने नेपाली नागरिकलाई होल्डिङ्ग सेन्टरमा राखेर सम्बन्धित जिल्ला पठाउने गरिन्थ्यो ।
कोरोना संक्रमणको जोखिम पछि गत चैत्र महिनाबाट भारतबाट आउनेलाई नेपालगन्जमै क्वारेन्टाइन गरिन्थ्यो । भारतबाट आउनेको संख्या बढ्दै गएपछि होल्डिङ्ग सेन्टरमा राखेर सम्बन्धित जिल्ला क्वारेन्टाइनका लागि पठाउने गरियो । पछिल्ला दिनमा क्वारेन्टाइन हटिसकेको छ । होल्डिङ्ग सेन्टरको अर्को उद्देश्य भनेको लकडाउनका बेला होटल तथा सार्वजनिक यातायात चलेका थिएनन् त्यसैले भारतबाट आउनेलाई होल्डिङ्ग सेन्टरमा राखेर अन्य सम्बन्धित जिल्ला पठाउनु रहेको थियो ।
हाल सार्वजनिक यातायात पनि चलेको छ भने होटल व्यवसाय सञ्चालनमा छन् । होल्डिङ सेन्टरका कारण स्थानीय होटल व्यवसायी मारमा परेका छन् भने सीमाबाट यातायात भाडा समेत यात्रुले महंगो तिर्नुपरिरहेको थियो । त्यसैले मंगलबार मात्र बाँकेका होटल व्यवसायीले होल्डिङ्ग सेन्टर हटाउन माग गरेका थिए । ‘हाम्रो माग अनुसार होल्डिङ्ग सेन्टर हटाइएको छ’, होटल व्यवसायी संघ बाँके नेपालगन्जका महासचिव रंग बहादुर खड्काले भने ।
यता सोही दिन झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा रहेको होल्डिङ्ग सेन्टर तत्काल हटाउनुपर्ने माग गदैं मेचीनगरमा विभिन्न व्यवसायीहरुले मौन जुलुस प्रदर्शन गरेका थिए ।
जुलुसमा ट्राभल संघ झापाका अध्यक्ष निरबहादुर कार्की, होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ गोपाल फेवा, सुन चाँदी व्यवसायी संघका अध्यक्ष राजेश गहतराजलगायत अन्य व्यवसायमा सम्बद्घ व्यवसायीहरुको सहभागिता रहेको थियो ।