२० माघ, मेचीनगर : मेचीनगरका न्युनतम अलग अलग तीन स्थानमा एक/ एक वटा बारूणयन्त्र (दमकल) र एउटा व्याकअप ट्याङ्कीकाे व्यवस्था गर्नुपर्नेलगायतका चार सुत्रीय माग राख्दै शुक्रबार विद्यार्थी संगठन, युवा संगठन र राजनीतिक दलले नगरपालिकालाई एउटै व्याेहाेराकाे अलग अलग ध्यानाकर्षण पत्र बुझाएका छन् ।
नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल मेचीनगर कमिटीले ध्यानाकर्षण पत्र बुझाएका हुन् । नगरकाे वडानम्वर ७ र ६ मा भएका आगलागीकाे घटनामा यदि नगरपालिकाकाे बारूणयन्त्र (दमकल) समयमै पुगेकाे भए मानवीय र धनकाे क्षति यति ठुलाेरूपमा नहुने निष्कर्ष दल र संगठनकाे छ ।
मेचीनगर नगरपालिकामा रहेका दमकल, एम्बुलेन्स अन्य स्वास्थ्य उपकरण दुरूस्त राख्न नसकेका कारण ती आगलागीमा ठुलाे क्षति भएकाेप्रति आत्मा आलाेचित हुँदै नगरवासीसँग नगर नेतृत्वले क्षमा माग्न समेत ध्यानाकर्षण पत्रमा भनिएकाे छ ।
नगर उपप्रमुख मीना पाेखरेल उप्रेतीकाे कार्यकक्षमा उहाँलाई दल र संगठनकातर्फबाट ध्यानाकर्षण पत्र बुझाईएकाे थियाे । नेकपा एमालेका जिल्ला कमिटी सदस्य डिल्लीराम घिमिरे, मेचीनगर उपाध्यक्ष दिनेश राजवंशी, राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला सदस्य सुशील आचार्य, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन मेचीनगर अध्यक्ष वीरू मेचे तथा राष्ट्रिय युवा संघ नेपालका मेचीनगर कमिटी अध्यक्ष मानबहादुर तामाङले ध्यानाकर्षण पत्रमा हस्ताक्षर गर्नुभएकाे छ ।
नगरपालिकामा रहेका दमकल के कारणबाट दुरूस्त रहन सकेनन् र नगरवासीकै वेईज्जत हुने गरि उपकरण दुरूस्त राख्न नसक्नुकाे कारण तत्काल नगरवासीलाई जनकारी दिनुपर्ने र जनउत्तरदायी बिपरीत कार्य नगर्न र जनताप्रति उत्तरदायी बन्न नगरपालिकाकाे जनप्रतिनिधिहरूलाई ध्यानाकर्षण पत्र मार्फत सचेत गराईएकाे छ । दुबै घटनाप्रति दुःख व्यक्त गर्दै नगर उपप्रमुख उप्रेतीले नगरपालिकाकाे दमकल खराव भएर मर्मत सम्भारकालागि पठाएकाे बताउनुभयाे ।
नगरपालिकाकाे दमकल नभए पनि नगरप्रमुख उपप्रमुखले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीसँग छलफल गरेर तत्काल मित्रराष्ट्र भारतका विभिन्न स्थानबाट समेत दमकल बाेलाईएकाे बताउनुभयाे । साथै छिमेकी नगरपालिका, गाउँपालिकालगायत माेरङ र ईलाम जिल्लाका नगरपालिका र गाउँपालिकाबाट समेत दमकल बाेलाईएकाे जानकारी दिनुभयाे ।

























