पर्वतमा बन्यो नेपालकै पहिलो ‘स्काई क्याफे’

A notice in Nepali from Mechinagar Ward No. 10

२१ माघ, पर्वत : कालीगण्डकी नदीमाथि ‘द क्लिफ’ कम्पनीले नेपालमै पहिलोपटक ‘स्काई क्याफे’ सञ्चालनमा ल्याएको छ।

कालीगण्डकीमा निर्माण भएको बञ्जीजम्पको निर्माण तथा सञ्चालक कम्पनीले उक्त क्याफे सञ्चालनमा ल्याएको हो।

‘द क्लिफ’का सञ्चालक राजु कार्कीका अनुसार ‘स्काई साइक्लिङ’का लागि राखिने तार जस्तै गरेर कालीगण्डकी नदी किनारमा रहेको अग्लो भीरमा तार टाँगिएको छ।

‘क्याफे’ मा बस्नका लागि फलाममा काठका फलेक जडान गरेर बेन्च र टेबल निर्माण गरिएको छ। त्यही टेबललाई घिर्नीको माध्यमबाट तारमा झुन्ड्याइएको छ, घिर्नीकै माध्यमबाट डरलाग्दो तारे भीरका माथि तारमा ‘क्याफे’ बिस्तारै हिँडिरहेको हुन्छ।

त्यहाँ बसिरहेका ग्राहकले यात्रा सुरु गर्ने वेला ‘अर्डर’ गरेका खानेकुरा खाँदै खुला आकाशमा यात्रा गर्न पाउँछन्।

‘बन्जी सहितका अन्य साहसिक खेलका लागि पर्वतको द क्लिफ पर्यायवाची भइसकेको छ। हामी सकेसम्मका फरक तर एडभेन्चर खालका खेल तथा पूर्वाधारको निर्माणमा जुटिरहेका छौँ। स्काई क्याफे पनि यही अवधारणामा तयार भएको हो’, कार्की भन्छन्, ‘तारमा झुन्डिएर हिँडिरहेको क्याफेमा बसेर खाजा खानुको मजा बेग्लै छ। कालीगण्डकी नदीको सातो जाने भीरमा गुडिरहेको क्याफेको आनन्द लिन आउने पर्यटकहरूको चाप बढी हुन्छ भन्ने लागेको छ।’

कालीगण्डकी नदीको सतहबाट २२८ मिटरको उचाइमा रहेको बन्जी बराबरकै उचाइमा ‘स्काई क्याफे’ सञ्चालन गरिएको ‘द क्लिफ’ का अर्का एकजना सञ्चालक युवराज जोशीले बताए।

अहिले सुरुवाती चरण भएको र प्रचार नगरिएकै अवस्थामा समेत दैनिक औसतमा २९ जनाले ‘स्काई क्याफे’ मा बसेर जुस र कफी लिने गरेको उनको भनाइ छ।

‘स्काई क्याफे’ का लागि मात्रै झन्डै ९५ लाख लगानी गरेको बताउँदै उनले प्रतिव्यक्ति २५ सय रुपैयाँ शुल्क राखिएको जानकारी दिए।

‘हामीले स्काई क्याफेको परीक्षणपछि व्यावसायिक रूपमा सुरु गरेको दुई दिन मात्रै भएको छ। यसको प्रचार–प्रसार भएको छैन। तैपनि दैनिक औसतमा २९ जनाले यसको मजा लिनुभएको छ’‚ सञ्चालक जोशीले भने, ‘जसले स्काई क्याफेको मजा लिनुभएको छ‚ उहाँहरूले एडभेन्चर कफी र जुसलाई निकै तारिफ गर्नुभएको छ।’

उनका अनुसार कालीगण्डकी नदीमाथि १२० मिटरको लम्बाइका तारहरू राखेर ‘स्काई क्याफे’ सञ्चालन गरिएको छ। अहिले सुरुवात मात्रै भएका कारण आगामी दिनमा थप साहसिक बनाउनका लागि थप विकल्पको बारेमा छलफल भइरहेको छ।

कोभिड–१९ को सङ्क्रमण फैलिएका यसअघिका लहरमा भन्दा अहिलेको लहरमा व्यवसायलाई कम मार परेको छ। निषेधाज्ञा भए पनि स्मार्ट लकडाउनका कारण स्वास्थ्य सुरक्षा सतर्कता अपनाइएको र बजार पनि पहिलेको जस्तै ठप्प अवस्थामा नरहेका कारण भीडभाड नहुने गरी साहसिक खेलमा आएका पर्यटकले मनोरञ्जन लिन पाएका छन्।

कम्पनीमा प्रशासनिक काम हेर्दै आएका ईश्वर कार्कीका अनुसार सबै खालका साहसिक खेलमा आउनेहरूलाई खोप कार्ड अनिवार्य गरिएको छ। पालो बाँडेर थोरै थोरै सङ्ख्यामा मात्र पर्यटकलाई भित्रिन दिएर सञ्चालनमा राखिएको छ। जसका कारण पर्यटकीय क्षेत्रले सङ्क्रमणका अघिल्ला चरणमा जस्तो बन्द नै गरेर बस्नुपर्ने अवस्था नरहेको उनको भनाइ छ।

‘अघिल्ला चरणमा त बन्द नै गरेर बस्नुपरेको थियो। अहिले भने स्मार्ट लकडाउनका कारण त्यति वेलाका जस्तो मारमा पर्नुपरेको छैन’, उनले भने, ‘हामीले पूर्ण रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेका छौँ। ग्राहकलाई पालोअनुसार मात्रै साहसिक खेलमा रमाउन दिएका छौँ। जसले राज्य, हामी र पर्यटक सबैलाई फाइदा पुगेको छ।’

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.