२९ माघ, मेचीनगर : झापाको मेचीनगरमा शनिबार आयोजित एक कार्यक्रमका सहभागीहरुले आफुले सिकेको सीपलाई सदुपयोग गर्न सके आर्थिकरुपमा मजवुत र आत्मनिर्भर बन्न सकिने बताएका छन् ।
मेचीनगर नगरपालिकाको आर्थिक सहयोगमा ऋद्घिसिद्घ महिला संघ मेचीनगर १० ले आयोजना गरेको ९ दिने व्याग झोला सिलाई कटाई तालिमको समापन समारोहका अधिकाँश वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य ९ दिनसम्म सिकेको सीपलाई आजै अन्त्य नगरी निरन्तरता दिन तालिममा सहभागिहरुलाई सुझाव दिनुभयो । उहाँले आफुसँग जतिनै शैक्षिक योग्यताको प्रमाण पत्र भए पनि हातमा सीप भए बेरोजगार बस्नु नपर्ने बताउनुभयो ।
नगरप्रमुख आचार्यले सीप हुने मान्छे कहिल्यै वेरोजगार बस्नु नपर्ने तथा आर्थिकरुपमा कमजोर नभई सधै मजवुत हुने विश्वास व्यक्त गर्नुभयो । सीपले मानिसलाई दक्ष बनाउने भन्दैं उहाँले अब हरेक मान्छे आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभयो । यस्ता झोला उत्पादन गर्न सके प्लाष्टिक मुक्त नगरपालिका बनाउन सकिने उहाँको भनाई थियो ।
यस्ले स्वदेशको पूँजी स्वदेशमै लाग्ने र परनिर्भरतालाई अन्त्य गर्ने नगरप्रमुख आचार्यको भनाई थियो । स्थानीय स्तरमा उत्पादन भएका वस्तुलाई बजारको समस्या भएको भन्दैं यस्ता वस्तुको बजारका लागि नगरपालिका लाग्ने बताउनुभयो ।
विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेतीले हरेक महिला अब चुलो र चौकोमा मात्र सिमित हुन नहुने बताउनुभयो । महिलाहरु स्वयम् आत्मनिर्भर भए दुई चार पैसोका लागि कसैको मुख ताक्नु नपर्ने उहाँको भनाई थियो ।
प्रशिक्षक निर्मला चौहान भण्डारी, वडानम्बर १० का वडाध्यक्ष सुदय पनेरु, महिला नेतृ रेणुका डाँगीलगायतले बोल्नुभएको थियो । ऋद्घिसिद्घ महिला संघ मेचीनगर— १० का अध्यक्ष रुपा पौडेल खतिवडाको सभापतित्वमा भएको समापन समरोहमा प्रशिक्षक निर्मला चौहान भण्डारीलाई सम्मान पत्र र तालिममा सहभागीहरुलाई प्रदान गरिएको थियो ।
प्रमुख अतिथि नगरप्रमुख आचार्य, उपप्रमुख उप्रेती संघकी अध्यक्ष खतिवडालगयातले सम्मान पत्रसहित प्रमाण पत्र प्रदान गदैं प्रशिक्षार्थीहरुले तयार गरेको झोला प्रदान गरिएको थियो । समापन समारोहको सञ्चालन सकुन्तला अधिकारीले स्वागत सदस्य सविना अधिकारी र संघको परिचय कुमारी खनालले गराउनुभएको थियो । तालिममा नगरको वडानम्बर १० र ११ का १५ जना महिला सहभागि थिए ।

























