२९ माघ, मेचीनगर : मगमग चाउचाउ उद्योगमा भइरहेको आगलागी नियन्त्रण गर्न मेचीनगर नगरपालिकासहित १७ वटा दमकलले को करिब १० घण्टाको लगातारको प्रयास पछि नियन्त्रणमा आएको छ ।
मेचीनगरसहित झापा, मोरङ, सुनसरी लगायतका जिल्लाबाट १७ वटा दमकल आगो निभाउन आएको चाउचाउ उद्योगका प्रबन्ध निर्देशक बुद्धि घिमिरेले बताए ।
मनषा थाइफुड्सद्वारा उत्पादित चाउचाउ उद्योगमा शनिबार बिहान करिब साढे ४ बजेदेखि विद्युत सर्ट भएर आगलागी सुरु भएको थियो ।
मनषा थाइफुड्सले चिज बल्स र मगमगलगायत चाउचाउ उत्पादन गर्दैआएको थियो । आगलागीका कारण सिंगो कारखाना र कारखानाभित्र रहेको कच्चापदार्थ, उत्पादित सामान र मेसिन जलेर पूर्ण रुपमा नष्ट भएको संचालक बुद्धि घिमिरेले दाबी गरेका छन्।
‘आगलागीबाट केही पनि बाँकी रहेन’, घिमिरेले भने, ‘करिब एक अर्ब बढी क्षति भयो भन्ने हाम्रो अनुमान हो ।’ आगलागीबाट भौतिक संरचना, कच्चापदार्थ, मेसिनलगायत नष्ट भएको र करिब एक अर्ब क्षति हुनसक्ने प्रहरीको आकलन छ ।
दमकलका कर्मचारीहरु, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, उद्योगका कर्मचारी लगायत स्थानीयले आगो नियन्त्रणमा ल्याउने प्रयास गरिरहेका छन् ।
चार वर्षअघि एक अर्बको लगानीमा झापाली उद्यमीहरुले स्थापना गरेको सो उद्योग आगलागीबाट पुरै खरानी भएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । आगलागीमा कुनै पनि मालबस्तु जोगाउन नसकिएको घिमिरेले बताए ।

























