२९ माघ, काठमाडौँ : एमसीसी अघिबढाउने सम्बन्धमा प्रधानमन्त्री देउवाको आग्रहलाई प्रचण्ड र नेपालले अस्वीकार गरेका छन् । उनीहरुले स्थानीय तह निर्वाचनअघि एमसीसी अगाडि बढाउन नहुने अडान दोहोर्याए ।
नेताहरुका अनुसार माधव नेपालले जबरजस्ती एमसीसी संसदमा टेबुल गर्न खोजे आगामी वैशाख ३० गतेलाई तय भएको स्थानीय तहको निर्वाचनको वातावरण बिथोलिने बताए ।
‘जबर्जस्ती एमसीसी अगाडि बढाउँदा चुनावी वातावरण बिथोलिन्छ । तोकिएको मितिमा चुनाव नहुन सक्छ । यसका लागि तपाईं तयार हुनुहुन्छ ?’ प्रधानमन्त्री देउवालाई माधव नेपालले सोधेका थिए ।
तर, देउवाले माधव नेपालको यो प्रश्नको जवाफ भने दिएनन् । बरु आफ्नो मनसाय गठबन्धन भत्काउने नभएको भन्दै भूराजनीतिक दबावलाई अन्यथा नलिइदिन आग्रह गरे ।
माओवादी अध्यक्ष प्रचण्डले एमसीसी अगाडि बढाउनेबित्तिकै पनि चुनावी वातावरण असहज बन्ने बताए ।
जनतामा एमसीसीबारे गढेको चुरो निकाल्नका लागि थप प्रष्टता आवश्यक रहेको र त्यो प्रष्टता चुनाव अगाडि संभव नरहेको भन्दै उनले एमालेलाई साथमा लिएर एमसीसीलाई चुनाव पछाडि लैजानु नै उपयुक्त विकल्प रहेको दोहोर्याए ।
‘तपाईंले विपक्षीसंग कुरा गरेर एमसीसीलाई चुनाव पछाडि लैजाने वातावरण बनाउनेतिर ध्यान दिनु उपयुक्त देख्छु’ प्रचण्डले भनेका उनको ब्रिफिङ सुनेका एक नेताले बताए ।
सभामुख हटाउन खोजेको हो ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई सभामुख अग्निप्रसाद सापकोटालाई हटाउन खोजेको हो ? भनी प्रश्न गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार प्रधानमन्त्री देउवा, प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको थियो । छलफलमा प्रचण्डले प्रधानमन्त्री देउवालाई सभामुखबारे प्रश्न गरेका उनी निकट एक नेताले जानकारी दिए ।
‘यो (सभामुख हटाउने विषय) सोच्नै सकिँदैन । केही (हस्ताक्षर) संकलन भएको छैन र होइन । अनावश्यक हल्ला भएको विषयमा कुरै नगरौं’ देउवाको जवाफबारे प्रचण्डको ब्रिफिङ सुनेका ती नेताले भने ।
देउवाले भने : संसदमा पेश गर्न दिनुस्
छलफलमा प्रधानमन्त्री देउवाले एमसीसी सम्झौता संसदमा पेश गर्न दिन आग्रह गरेका थिए । एमसीसी संसदमा लैजाँदैमा गठबन्धन नटुट्टे पनि उनले बताए ।
‘एमसीसी संसदमा टेबुल हुँदैमा गठबन्धन टुट्दैन । बरु तपाईंहरु त्यो दिन उपस्थित नभइदिनुस् वा उपस्थित भएर के गर्नुहुन्छ त्यो निर्णय आफैं लिनुस् । तर, संसदमा टेबुल गर्नुपर्यो’ देउवाको भनाइ उधृत गर्दै एक नेताले भने ।
एमसीसी टेबुल गरेपछि बाँकी प्रक्रिया रोक्ने वा नरोक्ने जे का लागि पनि आफू तयार रहेको देउवाको भनाइ छ ।
‘टेबलु गर्ने दिन उपस्थित हुने वा नहुने ? पास वा फेलको प्रक्रियामा जान दिने वा नदिने ? यसमा हामी संयुक्त वा स्वतन्त्र दुबै ढंगले निर्णय गर्न सक्छौं’ देउवाले प्रस्ताव छ, ‘यही कारण गठबन्धन टुट्दैन, म यसमा प्रतिवद्ध छु ।’
अनलाइनखबरबाट
























