४ फागुन, काँकरभिट्टा : कतिपय स्थानीय तहमा विकासको नमुना देख्न थालिएको छ । जोश र जाँगर चलाउने अनि जनताप्रति उत्तरदायी जनप्रतिनिधि हुने हो भने गाउँघरको विकास र जनताको सेवा सुविधामा कायापलट हुन कतिबेर पनि लाग्दैन । अहिले यस्तै अवस्था देखिएको छ, झापाको मेचीनगर नगरपालिकामा ।
स्वास्थ्य सम्बन्धि अधिकारलाई संविधानले मौलिक अधिकारमा प्रत्याभूत गरेको छ । तर नेपालमा अहिले पनि ठूलो हिस्साका जनताहरु स्वास्थ्यको पहुँचबाट टाढा छन् । स्वस्थ्य हरेक नागरिकको नैसर्गिक अधिकार भए पनि स्वास्थ्यको पहुँचबाट अझै टाढा रहेका नगरवासीलाई लक्षित गरेर अहिले मेचीनगर नगरपालिकाले नगरका विभिन्न वडामा सुविधा सम्पन्न र दक्ष जनशक्ति सहितको आधारभुत स्वास्थ्य सेवा केन्द्र धमाधम सञ्चालनमा ल्याएको छ । त्यसमा पनि आफ्नै भवनमा । जस्ले गर्दा ग्रामीणक्षेत्रका वासीन्दाले निक्कै ठूलो राहत पाएको महशुस गरेका छन् ।
विकासको पहिलो आधार स्वास्थ्य सेवा नै भएको बताउनुहुन्छ मेचीनगर नगरपालिकाका नगरप्रमुख विमल आचार्य । नगरपालिकाले स्वास्थ्य सेवालाइ विषेश प्राथमिकताका आधारमा अगाडी बढाइएको उहाँको भनाई छ ।
ग्रामीण भेकका धरै जसो जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा नपाएर अकालमै मृत्युवरण गरी रहेको अवस्थामा यो आधारभुत स्वास्थ्य सेवा केन्द्रले यो समस्यालाई केही हल गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । उहाँले आधारभुत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवाका बारेमा जानकारी गराउनुभयो ।
यस्तो पवित्र कार्यमा कुनै पनि प्रकारका पुर्वाहग्रही नगरी सवै जना हातेमालो गरेर जानु पर्ने र स्थानीयको साथ सहयोगको अपेक्षा गदैं नगरप्रमुख आचार्यले निकट भविष्यमा प्रयोगशाला र तथा दक्ष र अनुभवी जनशक्तिको व्यवस्थापन गर्ने प्रतिवद्घता व्यक्त गर्नुभयो ।
उपप्रमुख मीना पोखरेल उप्रेती नेपालको संविधानले प्रत्याभुत गरेको मौलिक अधिकार भित्र रहेको स्वास्थ्य सेवाले यस क्षेत्रको स्वास्थ्य सेवा विस्तारमा ठुलो मद्धत पुग्ने कुरामा आफु विश्वस्त हुनुहुन्छ । पालिकाको समग्र विकासमा स्वास्थ्य सेवाको अहम भुिमका रहने भएकोले मानव समाज जति सुकै विकसित भए पनि स्वास्थ्य सेवा प्रभावकारी हुन नसके विकास गर्न कठिन हुने र त्यसैले विकासको पुर्वाधार भनेको स्वस्थ्य सेवा नै भएको उहाँको तर्क छ । स्वास्थ्य सेवा घर घरमा प्रवाह गर्नकालागि स्थानीय सरकार लागि परेको उहाँ बताउनुहुन्छ ।
नगरपालिकाले आफनै स्वास्थ्य केन्द्र मार्फत सेवा प्रवाह गर्नको लागि विभिन्न वडामा आधारभुत स्वास्थ्य केन्द्र धमाधम निर्माण गरीरहेको भइसकेको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाले वडानम्बर ३, ५, ७, ८ र १३ मा आफनै भवनबाट आधारभुत स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । वडानम्बर १ को निर्माण कार्य सम्पन्न भएको छ । २ को निर्माण प्रक्रियामा छ भने १२ मा जग्गा व्यवस्थापन भइसकेको छ ।
वडानम्बर ७ को अरनिको माध्यमिक विद्यालयले स्वास्थ्य केन्द्र निर्माण गर्न ३ कठ्ठा प्रदान गरेपछि भवन निर्माण भएको आधारभुत स्वास्थ्य सेवा केन्द्र व्यवस्थापन समितिका अध्यक्ष तथा वडानम्बर ७ का कार्यवहाक वडाध्यक्ष नेत्रप्राद दाहाल बताउनुहुन्छ ।
मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सालघारीमा आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन भएको छ । पछिल्लो समय मानव स्वास्वास्थ्यमा चुनौति थपिदै गएको र बिभिन्न रोगको सामना गर्नु परेकाले पनि स्वास्थ्य प्रति सचेत रहन खानपानमा सुधार ल्याउनु पर्ने देखिन्छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारबाट स्वास्थ्य मन्त्रालय मार्फत विनियोजित २८ लाख रकमबाट वडा नम्बर ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण भएको हो । उक्त केन्द्रले वडा नम्बर ८ सहित अन्य छिमेकी वडाका नागरिकहरुलाई पनि स्वास्थ्य सेवा लिन सहज भएको मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमालको भनाई छ ।
एउटा वडामा सुविधा सम्पन्न स्वास्थ्य केन्द्र सञ्चालनमा आए पनि सम्बनिधत वडावासीले मात्र होइन छिमेकी वडाका वासिन्दाले समेत स्वास्थ्य सेवा लिन पाउने भएकाले खुशी व्यक्त गरेका छन् । गाउँघरमै चिकित्सक पुगेर स्वास्थ्य सेवा प्रदान गर्न थालेपछि नगरवासी तथा बिरामी निकै खुशी भएका छन् ।
नगरका सबै स्वास्थ्य चौकीलाई आधूनिक स्वास्थ्य सेवा सहितको पूर्वाधार थप्दै आगामी दिनमा सो क्षेत्रका नागरिकलाई अझ दक्ष जनशक्तिका साथ स्वास्थ्य सेवा प्रदान गर्ने वातावरण बनाउन समेत नगरपालिका लागि परेको छ ।
स्वास्थ्य सेवा केन्द्रको उद्घाटनका अवसरमा नगरपालिकाले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरमा महिलाहरुको आङ्ग खस्ने तथा पाठेघरको मुखको क्यान्सर पूर्व परीक्षण भिआइए सम्बन्धि स्क्रिनिङ्गलगायतका अन्य स्वास्थ्य सेवाले त झन स्थानीयमा राहत मिलेको छ ।


























