झापामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियानको तयारी सुरु

A notice in Nepali from Mechinagar Ward No. 10

१२ फागुन, भद्रपुर : झापामा हात्तीपाइले रोगबिरुद्धको आमऔषधि सेवन अभियानका लागि आवश्यक तयारी सुरु गरिएको छ ।
एक दशकदेखि अभियान सञ्चालन भइरहेको झापामा हात्तीपाइले रोग निवारणको चरणमा नपुगिसकेकोले एघारौं पटक अभियान सञ्चालन हुन लागेको हो ।
झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा आज जिल्लामै पहिलो पटक अभियान बारे सर्वपक्षीय अन्तरक्रिया गरिएको छ ।
भद्रपुर नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा अभियान बारे सञ्चालन गरिएको योजना तर्जुमा तथा बहुनिकाय गोष्ठीमा स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले हात्तीपाइले रोग, यसबाट बँच्ने उपाय, आम औषधी सेवन अभियान र अभियानका प्रभावहरुका बारे जानकारी गराउनुका साथै तयारी बारे स्पष्ट पार्नुभएको थियो ।
सन् २०२० मै नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिबद्धता नेपाल सरकारले गरे पनि केही जिल्लामा निवारण हुन नसक्दा अभियान थपिएको उहाँले जानकारी दिनु भयो । प्रदेश १ मा झापा र मोरङमा यो कार्यक्रम छ । उहाँका अनुसार यही फागुन २८ देखि आमऔषधी सेवन अभियान सञ्चालन हुनेछ । यसका लागि झापामा ६ सय स्वास्थ्यकर्मी र त्यति नै संख्यामा स्वास्थ्य स्वयम्सेविका परिचालन हुनेछन् भने जिल्लाका ८ लाख ४३ हजार नागरिकलाई औषधी सेवन गराउने लक्ष्य छ । उक्त संख्याका लागि करिब ९ लाख चक्की एडबान्डाजोल र २० लाख चक्की डीइसी औषधीको व्यवस्था गरिएको चौलागाईंको भनाइ छ ।
ब्राक्रोप्टी नामको परजीवीबाट लाग्ने हात्तीपाइले रोग सरुवा रोग मानिन्छ । उक्त परजीवी एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाइबाट सर्दछ । यो रोग लागेका व्यक्तिहरुमा खुट्टा हात सुन्निे, पुरुषमा हाइड्रोसिल हुने, महिलामा यौनांग तथा स्तन सुन्निने हुन्छ । यो रोग लागिसकेपछि उपचार नहुने हुँदा रोग लाग्न नदिने उपायको रुपमा आमऔषधी सेवन गर्नुपर्ने स्वास्थ्यकर्मीहरुको भनाइ छ ।
पछिल्लो तथ्यांक अनुसार झापामा हात्तीपाइले आशंका गरिएका २९० बिरामी छन् । तीमध्ये १४६ जनामा हाइड्रोसिल, १४० जना खुट्टा सुन्निएको र ६ जना हात र स्तन सुन्निएका बिरामी रहेको चौलागाईंले जानकारी दिनु भयो ।
स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईको अध्यक्षतामा स्वास्थ्य शाखाका मनोज भट्टराईले सञ्चालन गरेको सो गोष्ठीका प्रमुख अतिथि जीवनकुमार श्रेष्ठले हात्तीपाइले बिरुद्धको औषधीका सम्बन्धमा जनमानसमा अनावश्यक भ्रम रहेको बताउँदै विश्व स्वास्थ्य संगठनले प्रमाणित गरी प्रयोगका लागि पठाइएकोले बिनासंकोच सेवन गर्न आग्रह गर्नुभयो ।
उक्त औषधी ओछ्यान परेका सिकिस्त बिरामी, दुई वर्षमु्निका केटाकेटी र गर्भवती तथा तीन हप्ता सम्मका सुत्केरी बाहेक सबैले सेवन गर्न मिल्ने जिल्लाका फोकल पर्सन चौलागाईंले जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.