१५ फागुन, मेचीनगर : झापाको मेचीनगरमा स्थानीय प्रशासनलाई ग्याटिस बुझाउने अभियान शुरु भएको छ । नगरको वडानम्बर —४ स्थित बाहुण्डाँगीबाट अभियानको थालनी गरिएको हो ।
दुर्गादेखि कटुवाल, अंकित कार्की र सन्देश खड्काले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिल दाहाललाई एक÷एक थान ग्याटिस बुझाएर अभियानको थालनी गरेका थिए । तीनैजना स्थानीय सरस्वती माध्यमिक विद्यालयमा कक्षा १०, ६ र ५ मा अध्ययनरत विद्यार्थी हुन् । विद्यार्थीहरुले स्थानीय प्रशासनलाई ग्याटिस बुझाए वापत जनही एकदर्जन कपी उपहार प्राप्त गर्ने छन् । सोहि अनुसार इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक दाहालले एउटा ग्याटिस स्थानीय प्रसाशनलाई बुझाए वापत विद्यार्थीलाई कपी प्रदान गर्नुभयो ।
वन्यजन्तुको चोरी सिकार गर्न पाइँदैन, संरक्षण गर्नुपर्छ भन्ने सन्देश दिन अभियान शुरु गरिएको ग्रामीण पर्यटन अभियन्ता अर्जुनकुमार कार्कीले जानकारी दिनुभयो । अभियानले समुदायका मानिसलाई संरक्षण गर्नुको आवश्यकता बारे सचेत गराउने छ ।
विद्यालय छुट्टीका दिन वा साप्ताहिक बिदाका दिन प्रायःजसो विद्यार्थी र सर्वसाधारणसमेत ग्याटिस लिएर जंगल क्षेत्रमा सिकार खेल्न जाने गरेका कारण त्यसको नियन्त्रणका लागि पनि यस्तो अभियान शुरु गरिएको सरस्वती माध्यमिक विद्यालयका शिक्षिक अनिता थापाको भनाई छ ।
‘गाउँमा लुकीछिपी सिकार गर्न जाने प्रचलन अझै पनि छ’ शिक्षिका थापाले भन्नुभयो —‘हामी ग्याटिस लिएर आउनेलाई एकदर्जन कपी दिन्छौ । विद्यालय बिदाका दिन शिकार खेल्न छाडेर कपीमा चित्र बनाएर घरमै बसुन्, कुनै विषयमा लेख लेखुँन भन्ने हाम्रो उद्घेश्य हो वा हामीले विद्यालय उमेरदेखि नैतिक शिक्षाको पाठ सिकाउन अभियान सुरु गरेका हौँ ।’ सिकार खेल्न रोक लगाइसकेपछि वा ग्याटिस बोक्ने हातले कपी र कलम समाउन थालेपछि उनीहरुको बानी परिवर्तन हुने विश्वास लिईएको छ ।
हतियार बुझाउनुपर्छ, सिकार खेल्न हुन्न भन्ने सोचको विकास भएकोमा स्थानीय प्रशासनले समेत उक्त कार्यको खुलेरै प्रशंसा गरेको छ । बनका गहनाहरू वन्यजन्तु नै भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायप उपरीक्षक सुनिल दाहालको भनाई छ । ‘चोरी सिकार गर्ने काम अपराध हो’ उहाँले भन्नुभयो —‘ त्यसकारण यस्तो अपराध गर्नुहुदैंन बनजंगलमा हुने पशुपंक्षीको संरक्षण गर्नुपर्छ ।’ घरेलुलगायत अन्य कुनै पनि प्रकारका हतियार चलाउन हुन्न, जनावर मार्न हुन्न भन्ने सन्देश दिनका लगि तीनजना विद्यार्थीले जसरी तीन थान ग्याटिस बुझाए अब विस्तारै गाउँमा अरुले पनि आफुसँग भएका ग्याटिसलगायत अन्य हतियार बुझउनेमा उहाँको विश्वास छ ।
‘यी पात्रहरूले आफू मात्रै संरक्षणको काम गरिरहेका छैनन्, युवालाई समेत संरक्षणमा लाग्न पे्ररित गरिरहेका छन् ।’ ग्रामीण पर्यटन अभियन्ता कार्कीले भन्नुभयो —‘यी विद्यार्थीहरुले आफूजस्ता अन्य विद्यार्थीहरु र सर्वसाधारणमा ऊर्जा भरिरहेका छन् । बन जोगाए प्रकृति र प्रकृति जोगाए वन्यजन्तु जोगिन्छ र जीवन पनि सधैँ हरियाली हुन्छ भन्दै उनीहरूले संरक्षण हुने सन्देश छरेका छन् र अभियान सञ्चालन गरिरहेका छन् ।’ यो अभियानमा जुनसुनै क्षेत्रमा रहेका युवालाई संरक्षणमा सहभागी गराइने छ । अभियानमा हजारौ युवाहरू सहभागी हुने विश्वास लिईएको कार्कीको भनाई छ । संरक्षणमा लाग्न युवालाई हौसला दिनको लागि सबैले अभियानलाई सहयोग गर्नुपर्ने बताईएको छ ।
अवैधरुपमा ग्याटिस सहित अन्य हतियार लिएर बन जंगल पस्ने र चोरी शिकारी गर्ने गरेका कारण धेरै वन्यजन्तु र पशुपंक्षी लोप हुने खतरा भएपछि संरक्षणमा जुटेको स्थानीयको भनाई छ । बन जंगल जरुरी छ, जंगल भए पशुपंक्षी हुन्छन् भनेर सबै संरक्षणमा खटिएका छन् । मानिसलाई जस्तै जंगलका वन्यजन्तु र पशुपंक्षीलाई पनि बाँच्ने अधिकार भएको लुसन तिवारीको भनाई छ ।

























