१७ फागुन, काठमाडौँ : मेचीदेखि महाकालीसम्मको १ हजार २७ किलोमिटर लामो पूर्वपश्चिम (मेची-काली) राजमार्ग ४ लेनमा विस्तार गर्ने काम चलिरहेको छ ।
झापाको काँकडभिट्टादेखि कञ्चनपुरको गड्डाचौकीसम्म तराई तथा भित्री मधेश हुँदै गएको यो राजमार्गलाई ७ वटा खण्डमा विभाजन गरी विस्तारको काम भइरहेको हो । राजमार्गमा पर्ने बजार क्षेत्रमा ६ लेन (सर्भिस लेनसहित ८ लेन) र ग्रामीण तथा जंगल क्षेत्रमा ४ लेनको बनाउने गरी राजमार्ग विस्तारको काम भइरहेको सडक विभागले जनाएको छ ।
देशको सुदूरपूर्व र सुदूरपश्चिमलाई जोड्ने यो राजमार्ग देशको उत्तर र दक्षिणलाई जोड्न आधारमार्गको रुपमा पनि रहेको छ । देशको आर्थिक विकासका दृष्टिले समेत रणनीतिक मानिने यो राजमार्ग पूर्वी एसियालाई युरोपसम्म स्थलमार्गबाट जोड्ने सडक सञ्जालमा पनि समावेश छ । त्यस्तै, एसिएन रोड नेटवर्कमा नेपालको पूर्व-पश्चिमसहित केही उत्तर-दक्षिण मार्गसमेत परेकाले यसलाई अझ महत्वका साथ विस्तार गर्न लागिएको विभागले जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण तथा अनुदान सहयोगबाट दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य(सासेक) राजमार्ग सुधार परियोजनाअन्तर्गत पाँचवटा खण्डमा काम भइरहेको छ । त्यस्तै, विश्व बैंकको सहयोगमा दुईवटा खण्डमा काम हुने भएको छ । यीनै खण्ड मध्येको एकमा भने अमेरिकी संस्था एमसीसीको अनुदान सहयोगको रकम समेत लगानी गर्ने भनिएको छ । यद्यपी, यो विषयले अझै पूर्णता पाइसकेको छैन ।
पूर्व-पश्चिम राजमार्ग विस्तारको सम्पूर्ण काम ७ वर्षसम्ममा सकिने प्रक्षेपण गरेर काम थालिएको सडक विभागले जनाएको छ । राष्ट्रिय राजमार्गलाई ४ लेनमा विस्तार गर्ने सरकारको नीति नै रहेकोले यो सडक विस्तार गर्न लागिएको हो । तर, अध्ययन, डिजाइन र ठेक्का प्रक्रिया पूरा गरी निर्माण पूरा गर्न थप १० वर्षसम्म लाग्न सक्ने देखिएको छ ।
काँकरभिट्टा -लौकही सप्तकोसीपूर्व (१ सय २० किलोमिटर) २०२२ भित्रै ठेक्का लाग्ने
यो खण्डमा राजमार्ग विस्तारको काम एडीबीको ऋण र अनुदान सहयोगमा भइरहेको छ । यो खण्डलाई ४ लेनमा स्तरोन्नती गर्न ‘रोड डिजाइन’को काम सकिएको छ । यो सडकलाई निर्माणका लागि २०२२ भित्रै बोलपत्र आह्वान गर्ने तयारी भइरहेको सडक आयोजना निर्देशनालय एडीबीका परियोजना निर्देशक सुशीलबाबु ढकालले बताए । एसिएन रोड नेटवर्कभित्र पर्ने भएकोले यो सडकलाई एसिएन स्ट्यान्डरको क्लास ‘ए’ स्तरमा निर्माण गर्ने गरी तयारी अघि बढेको छ ।
यो खण्डमा ६ वटा पुललाई सस्पेन्सन ल्याण्डमार्क ब्रिज बनाउने गरी डिजाइन भइरहेको छ । परामर्शदाता कोरियाली कम्पनी सुसुङ इन्जिनियरिङले यो खण्डको डिजाइन गरेको हो । यो खण्डअन्तर्गत मिक्वा खोला, जुलिङ, रतुवा, कन्काई, महेन्द्रा र बक्राहा गरी ६ वटा नदीमा सस्पेन्सन ल्यान्डमार्क ब्रिज बनाउने गरी डिजाइन गरिएको छ । यही कम्पनीले यी खण्डमा सडक निर्माणका लागि ‘टेन्डर डकुमेन्ट’ तयार गर्न प्राविधिक सहयोग गर्ने र टेन्डर मूल्यांकनको काममा समेत परामर्शदाता कम्पनीले सघाउने सम्झौता भएको छ ।
कञ्चनपुर–कमला खण्ड (८७ किलोमिटर) निर्माणाधिन
कञ्चनपुरदेखि कमलासम्मको ८७ किलोमिटर खण्डमा एडीबीकै सहयोगमा राजमार्ग विस्तारको काम भइरहेको छ । यो खण्ड ४ लेनमा निर्माणधिन छ ।
कमला–पथलैया (१३० किलोमिटर) डिजाइन २०२२ भित्र तयार हुने
सन् २०२२ को डिसेम्बरभित्र आयोजनाको डिजाइन निर्माणको काम सकिने सडक विभागको वैदेशिक सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर लक्ष्मीदत्त भट्टले मकालु खबरलाई जानकारी दिए । ‘हाल उक्त कम्पनीले फिल्ड सर्वेको काम गरिरहेको छ,’ उनले भने, ‘अब चाँडै सर्वे सकेर डिसेम्बर २०२२ भित्रै आयोजनाको डिजाइन तयार पार्ने छ ।’ डिजाइन प्राप्त भएको ३ महिनासम्म उक्त खण्ड निर्माणको ठेक्का प्रक्रियाका लागि डकुमेन्ट तयार गरि ठेक्का प्रक्रियामा प्रवेश गरिने उनले बताए ।
पथलैया-नारायणगढ (१२० किलोमिटर) डिजाइन हुँदै
यो खण्डमा पनि राजमार्ग डिजाइनको काम भइरहेको छ । अध्ययन सकेर आएका तथ्यका आधारमा सडक खण्डमा आवश्यक पुल, कल्भर्टलगायत संरचनाको अवस्था, नयाँ संरचनाको आवश्यकताको आधारमा नयाँ संरचना बनाउनुपर्ने र नपर्ने अध्ययन गरी डिजाइनको काम भइरहेको छ । ‘भइरहेका पुलहरु ५० वर्ष पुराना छन्,’ निर्देशक ढकालले भने, ‘ती पुल पनि प्रयोग गर्न मिल्छ कि नयाँ बनाउनुपर्छ भन्ने विषयमा अध्ययन भइरहेको छ ।’
नारायणगढ-बुटबल खण्ड (११३ किलोमिटर) निर्माणाधीन
नारायणघाटदेखि बुटवलसम्मको ११३ किलोमिटर राजमार्गमा अहिले सडक विस्तारको काम भइरहेको छ । यो खण्डमा ठेक्का व्यवस्थापन सकेर निर्माण सुरु गरिएको हो । यो खण्डको निर्माण पनि एडीबीकै सहयोगमा भइरहेको छ ।
बुटबल-गोरुसिंगे खण्ड (५० किलोमिटर) डिजाइन हुँदै
यो खण्डमा एसियाली विकास बैंककै ऋण सहयोगमा डिजाइन निर्माण गर्ने काम भइरहेको छ । डिजाइन सकिनासाथ सडक विस्तार सुरु गर्न खरिद प्रक्रिया सुरु गर्ने तयारी छ ।
एमसीसीबाट दाङको भालुवाङदेखि शिवाखोला र भालुवाङदेखि धानखोलासम्मको ७७ किलोमिटर सडक निर्माण गर्ने भनिएको छ । एमसीसी अनुदानमा एमसीए नेपालले निर्माण गर्ने भनिएको सडक खण्डमा दाङको भालुवाङदेखि पश्चिम शिवाखोलासम्म र अन्य गरी ७७ किलोमिटर सडक निर्माण गर्ने योजना छ । यद्यपी यो विषयले मूर्त रुप पाउन बाँकी छ ।
गोरुसिंगे-गड्डा चौकी खण्ड (३९० किलोमिटर) विश्व बैंकले सम्भाव्यता अध्ययन गर्ने
गोरुसिंगेदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको ३ सय ९० किलोमिटर सडक विस्तारको सम्भाव्यता अध्ययन भने विश्व बैंकले गर्ने सैद्धान्तिक सहमति भएको छ । सम्भाव्यता अध्ययनको काम सकिएपछि मात्र बाँकी काम अघि बढ्नेछ ।(मकालुखबरबाट)

























