२५, फागुन मेचीनगर : १ नम्बर प्रदेशसभा सदस्य गोपालचन्द्र बुडाथोकीले मुलुकलाई हरेक कुरामा आत्मनिर्भर बनाउनका लागि तीनै तहका सरकार लाग्नुपर्ने बताउनुभएको छ ।
बुधबार झापाको मेचीनगर नगरपालिकाको नवौँ नगरसभा बैठकको उद्घाटन गर्नुहुदैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेशसभा सदस्य बुढाथोकीले आयात प्रतिस्थापन गरे मुलुकलाई आत्मनिर्भर बनाउने भन्ने कुरा भाषणमा मात्र सीमित रहेको भन्दैं उहाँले अब नीति बनाएर त्यसलाई सफलरुपमा कार्यान्वयन गर्न जोड दिनुभयो । सीपमुलक शिक्षा अघि सारेर दक्ष जनशक्ति उत्पादन गर्नु राज्यको दायित्व भएको भन्दै सरकारले सीप सिकाएर मात्र नपुग्ने उनीहरुलाई व्यवहारमा समेत उतार्नुपर्ने प्रदेशसभा सदस्य बुढाथोकीको भनाई थियो ।
नगरप्रमुख विमल आचार्यले कार्यक्रमको सभापतित्व गदै आर्थिक वर्ष २०७८÷२०७९ मा नै कार्यान्वयनमा ल्याउने गरी विभिन्न नीतिगत विषय प्रस्ताव नगर सभामा पेश गर्नुभयो । सुशासन क्षमता विकास तर्फ, भौतिक पूवाृधार तर्फ, सामाजिक विकास तर्फ, वन, वातावरण तथा विपद् व्यवस्थापन सम्बन्धि नीति, आर्थिक विकास सम्बन्धी नीति र विधेयक सम्बन्धी नीति नगरप्रमुख आचार्यले प्रस्तुत गरेको प्रस्तावमा उल्लेख छ ।
उपप्रमुख मीना पोखरेल उप्रेतीले सहभागी सबैलाई स्वागत गर्दै नगरपालिकाले विगतदेखि वर्तमानसम्म भए गरेका कामका बारेमा जानकारी गराउनुभएको थियो । वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा १ नम्बर प्रदेशसभा सदस्य राधा थापा, नेपाली काँग्रेस मेचीनगर समितिका सहसचिव मुकेश लिम्बु, नेकपा माओवादी केन्द्र मेचीनगर इञ्चार्ज पुष्प गुरागाईँ, राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समिति अध्यक्ष सविना बजगाईं लगायतले बोल्नुभएको थियो ।

























