झलनाथको निर्वाचन क्षेत्रमा जनसभा गर्दै केपी ओली

आइतबार हुने जनसभामा १० हजारभन्दा बढी सहभागी हुने

A notice in Nepali from Mechinagar Ward No. 10

४ चैत्र, इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिकामा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन्। इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो। पछिल्लो चुनावमा खनाल यो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

आगामी चैत ६ गते आइतबार हुने बृहत जनसभामा १० हजारभन्दा बढीको सहभागिता रहने नेकपा एमाले इलामले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। आमसभाको तयारीबारे जानकारी दिँदै नेकपा एमाले इलामका अध्यक्ष एवम् इलाम नगर प्रमुख महेश बस्नेतले १० हजारभन्दा बढी शुभेच्छुक सभामा सहभागी हुने जानकारी दिए। उनले सूर्योदयमा ओलीको पहिलो कार्यक्रम भएकाले सहभागिताका लागि कार्यकर्ता उत्साहित भएको बताए।

‘कुनै पनि हैसियतमा केपी कामरेडको सूर्योदयमा पहिलो जनसभा भएकाले इलामका विभिन्न क्षेत्रका कार्यकर्ता र शुभेच्छुकहरू सहभागी हुन उत्साहित हुनु हुन्छ। उहाँहरूलाई व्यवस्थापनका लागि तयारी भइरहेको छ,’ बस्नेतले भने। सभाका लागि स्टेज निर्माणलगायत अन्य व्यवस्थापकीय काम पूरा भएको नेकपा एमाले इलामले जनाएको छ।

जनसभाका लागि अध्यक्ष ओलीसँगै एमाले उपाध्यक्ष एवम् पूर्वसभामुख सुवासचन्द्र नेम्बाङसमेत इलाम आउने छन्। सभाका लागि चैत ६ गते भद्रपुर विमानस्थल हुँदै आउने अध्यक्ष ओली सोही दिन काठमाडौं फर्कने र नेम्बाङ जिल्लामा नै रहने बस्नेतले बताए।

इलाममा एमालेको सबैभन्दा कमजोर क्षेत्र सूर्योदय भएकाले शक्ति प्रदर्शनको रुपमा आमसभा राखिएको हो भन्ने प्रश्नमा बस्नेतले भने, ‘साना-साना मान्छेलाई धेरै बल देखाउनै पर्दैन। हामीसँग छुट्टिएर गएको ठूलो शक्ति हैन, संख्यात्मक रुपमा १ सयभन्दा बढी सांसद भएको क्षेत्रमा १४ जना जानु ठूलो कुरो भएन। झलनाथ खनाल पनि पूर्वएमाले नै हो अहिले छुट्टिएर जानुभए पनि। सूर्योदय नगरपालिकामा एमाले कमजोर छैन, पहिलो शक्ति हो। छुट्टिएर जाने साथीभाइहरूलाई परीक्षण गर्नै बाँकी छ को कति ठूलो वैशाख ३० ले देखाउँछ।’

उनले १० हजारभन्दा बढी सहभागी हुने भएकाले सहजताका लागि फिक्कल बजारमा २ वटा एलइडी स्क्रिन राखेर अध्यक्ष ओलीको सम्बोधन प्रशारण गरिने बताए। बस्नेतले मञ्च व्यवस्थापन, साउन्ड सिस्टम र एलइडीलगायत सम्पूर्ण कार्यक्रम गर्न करिब ५ लाख रूपैयाँ खर्च लाग्ने अनुमान गरेको बताए। सभामा इलामका विभिन्न क्षेत्र र छिमेकी जिल्लाबाट समेत कार्यकर्ता आउने उनले बताए।

जनसभाका लागि ९ वटा उपसिमति गठन गरि काम गरिरहेको नगर अध्यक्ष दुर्गादेवी भट्टराईले जानकारी दिइन्। सूर्योदय नगर कमिटीको आयोजना र नेकपा एमाले जिल्ला कमिटीको समन्वयमा जनसभा आयोजना गरिएको हो। फिक्कलचोकमा कार्यक्रम हुनेछ। जनसभासँगै पार्टी प्रवेशको कार्यक्रम पनि राखिएको जानकारी भट्टराईले दिइन्। यातायात व्यवस्थापनका लागि यातायात व्यवसायी संघ र प्रहरीसँगको समन्वयमा वैकल्पिक बाटोको प्रयोग गर्दै सहज गरिने उनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.