१४ चैत, मेचीनगर : आगामी वैशाख ३० गते हुन भनिएको स्थानीय तहको निर्वाचनको समय नजिकदै जाँदा झापाका मेचीनगर लगायत विभिन्न पालिकाहरुमा चुनावी चहल पहल शुरु भएको छ ।
गाउँ, शहर, टोल, बजार, चौक ,चौराहा तथा चिया पसलहरुमा चुनाव कै चर्चा चल्ने गरेकोले चुनावी माहौल बन्दै गएको छ । निर्वाचनमा भाग लिने राजनीतिक दलहरुका नेता, कार्यकर्ता र समर्थकहरु अहिलेको जित्ने र को पराजित हुने भने आकलनमा लागेका छन् ।
निर्वाचनको समय नजिक आउदै गरेकोले चुनाव लड्ने आकांक्षी रहेका नेताहरुले नगर प्रमुख, उपप्रमुख र वडा अध्यक्ष पदको लागि धमाधम उम्मेदवार हुने घोषणासमेत गर्ने तयारीमा लागि रहेका बखत जनता समाजवादी पार्टी नेपालले भने मेचीनगर नगरपालिकामा नगरप्रमुख उप्रमुखसहित १५ वटै वडामा उम्मेद्वार खडा गर्ने घोषणा गरेको छ । उस्ले चुनाव लक्षित विभिन्न कार्यक्रम आयोजनाको तयारीमा लागेको जनाएको छ ।
पार्टीका केन्द्रीय सदस्य धनप्रसाद गुरुङ, १ नम्बर प्रदेश समिति सदस्य केवलराम चाम्लिङ राईको उपस्थितिमा सोमबार पत्रकार सम्मेलन मार्फत जनता समाजवादी पार्टीले चुनावी कार्यक्रम सार्वजनिक गरेको छ । सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपालले अन्य दलहरुसँग गठबन्धन बनाएर जानका लागि पनि ढोका खुला गरेको छ । जस्का लागि स्थानीय तहको निर्वाचनमा अन्य दलहरुसँग गठबन्धन गर्नको लागि पार्टीका मेचीनगर अध्यक्ष ओमप्रकाश खापुङ्गको संयोजकत्वमा ५ सदस्यीय वार्ता समिति नै गठन गरेको पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तिमा उल्लेख छ । समितिको सदस्यहरुमा उमेश थापा, दिनेश राई, विमलदेव काफ्ले र नगर सचिव सरोज श्रेष्ठ हुनुहुन्छ ।
पार्टीले निर्वाचनलाई लक्षित गरेर भोलि मंगलबार मेचीनगरस्तरीय वृहत् मोटरसाइकल र्यालीको तयारी गरेको छ । साना ठूला सवारी साधनमा करीव चारसय बढी नेता कार्यकर्ताले नगरपालिका तथा छिमेकी गाउँ तथा नगरपालिकासम्मको परिक्रमा गर्ने छ । केन्द्रीय सदस्य धनप्रसाद गुरुङले नेपाली जनताले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत सबै पार्टी हेरिसकेकाले अब नेपाली जनताले जनता समाजवादी पार्टी नेपालको आवश्यकता महशुस गरेका कारण यो पटक पार्टीले नगरमा नगरप्रमुख उप्रमुखसहित १५ वटै वडामा उम्मेद्वार खडा गर्ने बताउनुभयो । अन्य दलहरुसँग गठबन्धन बनाएर जानका लागि पनि ढोका खुला गरेको नेता गुरुङले स्पष्ट पार्नुभयो ।
स्थानीय तहहरुमा सत्तामा रहेका निर्वाचित जनप्रतिनिधिहरुले पावर र शक्तिको दुरुपयोग गरी आर्थिक अनियमितता बढी गरेकोले नयाँ इमान्दार प्रतिनिधि छनौट गर्नु पर्ने धारणा आम जनताको देखिएको भन्दैं पार्टीका नेता कार्यकर्ताहरुले निर्वाचनमा रकमी चलखेल भएकोले पैसाको प्रलोभनमा नपरी स्वच्छ र निस्वार्थ रुपमा मतदान गरी जनप्रतिनिधि चुन्नु पर्ने बताएका छन् ।
पत्रकार सम्मेलनमा १ नम्बर प्रदेश समिति सदस्य केवलराम चाम्लिङ राईले पहिचानका मुद्घामा आफ्नो पार्टी अन्य राजनीतिक दलहरुको तुलनामा अग्रस्थानमा रहेकाले यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा हुने दावी गर्नुभयो । यसअघिको चुनावमा जनता समाजवादी पार्टी नेपालले नगरका कहाँ जित्यो कहाँ हार्यो भन्दा पनि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीले नयाँ रणनीति योजना बनाएर परिणाम आफ्नो पक्षमा पार्न सवै नेता कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकार सम्मेलनमा पार्टीका महिला नेतृहरु प्रदेश समिति सदस्यहरु उमेश थापा, अग्निमाया मेचे, जिल्ला सदस्य मीराहरु कार्की, शुकमाया लिम्बु, पार्टीका १ नम्बर क्षेत्रीय कोषाध्यक्ष आङ्छेवाङ्ग शेर्पा, महिला समिति नगर अध्यक्ष कोपिला लावती, ६ नम्बर वडाअध्यक्ष हिमवहादुर राईलगायतले पत्रकारहरुको जिज्ञशाको जवाफ दिनुभएको थियो ।

























