वीरगन्ज महानगरसहित पर्साका सबै पालिकामा छुट्टाछुट्टै चुनाव लड्ने भए कांग्रेस र जसपा

A notice in Nepali from Mechinagar Ward No. 10

३ वैशाख, विरगंज : सत्तारूढ गठबन्धनमा रहेका नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) वीरगन्ज महानगरपालिकासहित पर्साका सबै स्थानीय तहमा छुट्टाछुट्टै चुनाव लड्ने भएका छन्।

केन्द्रले गठबन्धन गर्ने निर्णय गरे पनि अगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कांग्रेस र जसपाले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका हुन्। कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री र जसपाका पर्सा अध्यक्ष रामनरेश यादवबीच आसन्न निर्वाचनमा जिल्लाका १४ वटै पालिकामा मित्रवत प्रतिस्पर्धामा जाने सहमतिमा हस्ताक्षर भएको छ।

स्थानीय नेता र कार्यकर्ताको मनोभावनाको कदर गर्दै प्रतिष्पर्धा गर्ने निर्णय भएको सहमति पत्रमा उल्लेख छ।

पर्सामा मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्ज, ३ वटा नगरपालिका र १० वटा गाउँपालिका छन्। जसपा र कांग्रेस दुबैले वीरगन्ज महानगरपालिकामा मेयर पाउनुपर्ने अडान लिएपछि गठबन्धन गर्न सकस भएको थियो।

‘वर्षौंदेखि पार्टीमा नेता कार्यकर्ताले लगानी गरेका थिए। तर गठबन्धन गर्दा चुनाव लड्ने बेला उनीहरुले टिकटै नपाउने देखियो। कांग्रेस बलियो भएकाले एक्लै चुनाव लडनुपर्ने कार्यकर्ताको भावना थियो। गठबन्धन गर्दा फाइदा नभएर झन् घाटा हुने अवस्था भएकाले छुट्टाछुट्टै चुनाव लड्ने सहमति गरेका हौं,’ कांग्रेस पर्सा सभापति क्षेत्रीले भने।

यसअघि चैत ३० मा कांग्रेसले जिल्लाका प्रभावशाली नेताहरूको उपस्थितिमा जिल्ला कार्यसमितिको बृहत्तर बैठक गरी स्थानीय तह निर्वाचनमा अरू दलसँग चुनावी गठबन्धन नगर्ने निर्णय गरेको थियो। अहिलेको परिस्थितिअनुसार वीरगञ्ज महानगरपालिकामा कांग्रेस, जसपा र एमालेबीच मुख्य प्रतिष्पर्धा हुनेछ। जसपा परित्याग गरेर एमाले प्रवेश गरेका वर्तमान मेयर विजय सरावगीलाई एमालेले मेयरको उम्मेदवार घोषणा गरिसकेको छ। सरावगीविरूद्ध जसपाले लोसपा परित्याग गरी जसपा प्रवेश गरेका राजेशमान सिंहलाई मेयरको उम्मेदवार घोषणा गरेको छ।

कांग्रेसबाट राजेन्द्रबहादुर अमात्य, अजयकुमार द्विवेदी, प्रकाशकुमार उपाध्याय र नरेन्द्र शाह मेयरका अकांक्षी छन्। अमात्य र द्विवेदीमध्ये एकजनालाई टिकट दिने कांग्रेसको तयारी छ। त्यसैगरी लोसपाबाट मेयरमा सुरेन्द्र कुर्मी, पुरूषोत्तमलाल झा र ओमप्रकाश सर्राफको नाम चर्चामा छ। एमाले र लोसपाबीच आन्तरिक रूपमा गठबन्धनको तयारी भइरहेको छ। यी दुई दलबीच गठबन्धन भए एमालेबाट मेयरमा सरावगी र लोसपाबाट उपमेयरमा रम्भा मिश्रा उम्मेदवार बन्ने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित अन्य समाचारहरु

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.