१४ वैशाख, काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुखमा अँगार भएकाले कालो ओकल्नु नौलो कुरा नभएको बताएका छन्।
ओलीले कांग्रेसको घोषणापत्रबारे गरेको टिप्पणीप्रति जवाफ दिँदै थापाले यस्तो बताएका हुन्। आफूलाई पागल भनेकोप्रति टिप्पणी गर्दै थापाले ओलीले मुख छाड्नु नौलो नभएको पनि बताए।
‘जसको मुखमा अँगार छ उसले ओकल्ने भनेको कालै हो’, थापाले भने, ‘उहाँ सनक्क सन्किएपछि सबैभन्दा पहिले पागल नै भन्नुहुन्छ, उहाँले पहिला सुशीला कार्की, गोबिन्द केसीलाई पनि उहाँले पागल नै भन्नुहुन्थ्यो।’
घोषणापत्र नपढी टिप्पणी गरिएको भन्दै थापाले आफ्नाबारे गरिएको आलोचना पचाउन नसकेको बताए।
‘घोषणापत्रको सुरुमै हामीले खेर गएको ५ वर्षका बारेमा उहाँको आलोचना गरेका छौं। खेर गएको कुरामा उहाँको स्तुति गाउने कुरा भएन,’ थापाले भने, ‘सधैं आफ्नो प्रशंसा सुन्ने बानी भएको उहाँले त्यसलाई सहन सक्नुभएन तर केपी ओलीलाई रिस उठ्यो भनेर सत्य बोल्न छाड्नु भएन।’
उनले बेला-बेला सनक्क सन्किँदा शरीरलाई अफ्ठेरो पर्छ भन्दै आफ्नो ख्याल गर्न सुझाए।
आफ्नो आइडिया चोरेको आरोप लगाएकोप्रति थापाले ओलीलाई बालकोटमै गएर ट्युसन पढाउने बताए।
‘उहाँले म महाधिवेशनमा चुनाव लड्दै गर्दा पनि ‘समुन्नत नेपाल’ भन्ने अवधारणा अघि सार्दै गर्दा यो मेरो आइडिया चोर्यो भन्नुभयो, हिजो पनि चोर्यो भन्नुभएछ,’ उनले भने, ‘अहिले चुनाव लागेको छ, उहाँलाई पनि मलाई पनि धपेडी छ, अलिकति भ्याएको बेला बालकोटमै पुगेर ट्युसन पढाउनु छ, एउटा विषयमा त पढाउनै पर्ने भएको छ।’
केपी ओलीलाई लजिकभन्दा बढी म्याजिक मनपर्ने भन्दै थापाले आफूहरूको घोषणापत्रमा लजिक भएकाले ओलीलाई मन नपरेको बताए।
‘समृद्धिको आइडिया कसैले चोरेर लैजाला भनेर अनिँदो नबस्नुस्, तपाईंको आइडिया तपाईंसँगै राख्नुस्’, उनले भने, ‘एउटा कुरा बुझ्नुस् तपाईंको समृद्धिमा अहंकारको भ्युटावर छ, त्यहाँबाट हेर्दा तल मान्छे गान्टे देखिन्छ। हाम्रो समुन्नतिमा ती गान्टे मान्छेको दुःख छ, त्यसको समाधान छ।’
ओलीले मंगलबार आयोजित एक कार्यक्रममा कांग्रेसको घोषणापत्र एमालेकोबाट चोरिएको, गालीको पुलिन्दा र पागलहरूको प्रलाप भएको आरोप लगाएका थिए।
























