‘पहिले खानेपानी देऊ, अनि दिन्छौँ भोट !’

A notice in Nepali from Mechinagar Ward No. 10

२५ वैशाख, म्याग्दी : १०३ घर र ४०० सय बढी जनसंख्या भएको– पुरण्य गाउँ।  सदरमुकाम बेनी बजारबाट आठ किलोमिटर दूरीमा रहेको गाउँमा दलित समुदायको बस्ती छ।

ज्याला मजदुरी र वैदेशिक रोजगारीबाट जीविका गर्दै आएका गाउँलेले आधारभूत आवश्यकता पूरा गर्न पाएका छैनन्। एक गाग्री पानीका लागि पूरै बिहान खर्चिनु पर्ने मात्र होइन दिसापिसाब गर्न झाडी, पाखो वा अर्कैको शौचालयमा जानुर्ने बाध्यता छ। जिल्ला सदरमुकाम बेनी बजारबाट करिब एक घण्टाको दूरीमा रहेको बस्तीको यथार्थ हो यो।

यो बस्ती चुनावको वेला उम्मेदवारको प्राथमिकतामा पर्छ। नेता–कार्यकर्ताको आजजाउ भइरहन्छ। यहाँका बासिन्दाले चुनावैपिच्छे खानेपानी माग गर्छन्।
खानेपानीको माग मात्र होइन उम्मेदवारहरू विद्यालयलाई व्यवस्थित बनाइ स्तरोन्नति गरिदिने, घरघरमा शौचालय निर्माण गरिदिने, गरिब र मजदुरका लागि रोजगारी दिने लगायत आश्वासन बाँड्छन्। भोट पाउँछन्। चुनाव जित्छन्। जितेपछि अर्को चुनाव नआउन्जेल नाकमुखै देखाउँदैनन्।

२०७४ सालको स्थानीय तहको पहिलो निर्वाचनमा भोट माग्न गाउँमा आएका राजनीतिक दल र तिनका उम्मेदवारले निर्वाचन पछि दुई महिना भित्रमा नै खानेपानीको समस्या समाधान गरिदिने वाचा गरेका थिए।  पाँच वर्ष बित्यो। गाउँमा न खानेपानीको समस्या समाधान भयो, न त नेता आएर यहाँको खबर बुझ्ने प्रयास नै गरे।

६० वर्षीया गौमती दर्जीले २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा नेताहरुले दिएको आश्वासन अझै बिर्सिएकी छैनन्। दमको रोगी दर्जी बिहान ५ बजे नै उठेर गाग्री वोकी गाउँको पुछारमा रहेको धारोमा पानी लिन जाँदा जहिले पनि आश्वासन दिने नेताको वचन सम्झन्छिन्। ‘चुनाव आए नेता आउँछन्, मीठा मीठा आश्वासन दिन्छन् तर कहिल्यै पनि खाने पानी दिँदैनन्’, उनी भन्छिन्, ‘ अहिलेको चुनावमा भोट माग्न आएकाहरूलाई  पहिला खानेपानी देऊ अनि बल्ल भोट दिन्छौं भनेका छौँ।’

स्थानीय बुद दमाई गाउँमा भोट माग्न आउने नेता र समस्याको बारेमा जानकारी लिन आउने पत्रकारसँग निकै रुष्ट छन्। ‘हामीले बोलेर र तपाईँले लेखेर पनि के भयो र खै? वर्षौँदेखि हामी समस्यामा छाौँ’, उनी भन्छन्, ‘यसपालि त हामीले पहिला खानेपानीको समस्या समाधान गर अनि बल्ल भोट दिन्छौँ भनेका छौँ। हामी अब नेताहरुको बोलिलाई मात्रै विश्वास गर्दैनौँ।’

उनले यही वैशाख २९ गतेसम्म गाउँमा पाइप, बालुवा र सिमेन्ट ल्याइदिनेलाई भोट दिने बताउँछन्। त्यसो नभए निर्वाचनका दिन मतदान केन्द्रमा पुगे पनि भोट नखसाल्ने सल्लाह भएको बताए।

त्यसैगरी पुरण्य गाउँकै तिलु दमाईले अब नेताहरूको आश्वासनको जवाफ रुखो शब्दले दिने बताए। ‘हाम्रा लागि जुन पार्टी र जो नेता पनि उस्तै भए। सबै कान चिरेका जोगी जस्ता। भोट पाए पछि कसैले वास्तै गर्दैनन्’, उनले भने, ‘एक गाग्री पानी लिन एक घण्टा हिड्नु पर्छ, दिसा पिसाब गर्न अझै पनि पाखो र बारीको कुनोमा लुक्नु पर्छ।’ त्यसैले पनि  यसपालि भोट दिन मन नलागेको उनले बताए

स्थानीय ६८ वर्षिया कालिका दर्जीले गाउँमा रहेको एउटा धारोमा बिहान ४ बजेदेखि नै घुइँचो हुने बताइन्। उनले भनिन् ‘११ वर्षमा बिहे भएर यो गाउँमा आएकी हुँ। त्यतिबेलादेखि नै खानेपानीको समस्या जस्ताको यस्तै छ।’

दर्जीको जस्तै समस्या यो गाउँका सबै गृहिणीले भोग्दै आएका छन्। एक गाग्री पानी भर्न एक घण्टाभन्दा बढी लाइनमा बस्नु पर्ने बाध्यता भएको स्थानीय पार्वती दर्जीको गुनासो छ। ‘घरको अरु काम गर्नै भ्याइदैन। बिहान धारामै कित्छ, काममा जाने मान्छे र विद्यालय जाने केटाकेटीहरुलाई खाना पकाएर खुवाउन ढिला हुन्छ’, उनी भन्छिन्, ‘अरु गाउँका घरघरमा धारा छन्। हाम्रो गाउँमा गाउँभरिमा जम्मा एउटा धारो छ।’

गाउँको माझमा गणेश दर्जीको भत्किनै लागेको घर छ। झट्ट हेर्दा ठाँटी जस्तो देखिने दर्जीको घरमा दुई छोराछोरी सहित दर्जी दम्पती बस्छन्। पानी पर्दा चुहिने छानो फेर्न नसकेका दर्जीले ज्याला मजदुरी गरेर गुजारा चलाउँछन्। उनी भन्छन् ‘घर नामको एउटा छाप्रो छ, तर लालपुर्जा छैन, पैसा नभएर शौचालय समेत बनाउन सकेको छैन,हाम्रो व्यथा कसले बुझिदेला?’

बाक्लो बस्ती भएको यस गाउँलाई चुनावका बेला भने राजनीतिक दलका नेताहरुबाट मीठामीठा आश्वास मिल्ने गरेका तर ती आश्वासन कहिल्यै पनि वास्तविकतामा परिणत हुन नसकेको स्थानीय अगुवा हिराबहादुर परियारले बताए। ‘हामी जहिल्यै पनि राजनीतिक दलका लागि भोट बैंकको रूपमा प्रयोग भयौँ। दलित भएकै कारण सबै राजनीतिक दलहरुबाट हेपिएका छौँ। अहिलेसम्म चुनावको बेला आश्वासन बाहेक अरु केही पाउन सकेनौं’ उनले भने। राजनीतिक दलहरूले मात्रै होइन स्थानीय तहका जनप्रतिनिधिले समेत योगाउँलाई बेवास्ता गरेको उनीहरुको आरोप छ।

‘हाम्रो भोटले नै जितेर गएका जनप्रतिनिधिले चुनावको बेला बाहेक अरु समयमा हामीलाई फर्केर पनि हेर्दैनन्। खानेपानी र मोटरबाटोको मर्मतका लागि कति पटक यहाँका जनप्रतिनिधिलाई भन्यौँ। तर सुनेको नसुन्यै गरे’, स्थानीय लालबहादुर परियारले भने। ​​​

पुरण्य गाउँलाई समेटेको बेनी नगरपालिका–५ का वडाध्यक्ष लक्ष्मण बानियाँले गाउँमा खानेपानीको समस्या भएको स्वीकार गरे। उनले भने ‘पुरण्यमा खानेपानीको समस्या छ। तर खानेपानीको स्रोत अभावमा समस्या सम्बोधन गर्न नसकिएको हो’, उनले भने, ‘स्रोतको खोजी भइरहेको छ।’ नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार यामबहादुर बानियाँले आफू निर्वाचित भएपछि सबैभन्दा पहिलो काम पुरण्यमा खानेपानी पुर्‍याउने बताए।

थाहाखबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

– विज्ञापन –

ADVERTISEMENT

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.