४ जेठ, इलाम : इलाम नगरपालिकाकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार केदार थापा विजयी भएका छन् । उनले नेकपा एमालेका धीरेन चेम्जोङलाई पराजित गरेका हुन् । थापाले १३ हजार एक सय ६५ मत पाउँदा चेम्जोङले १० हजार पाँच सय ८७ मत प्राप्त गरेका छन् ।
उपप्रमुखमा कांग्रेसकी विष्णु दाहाल लिम्बूले एमालेकी सीता रिजाललाई हराउँदै उपप्रमुखमा निर्वाचित भइन् । दाहालले १३ हजार पाँच सय ४२ मत प्राप्त गर्दा एमालेकी रिजालले १० हजार ८८ मत पाइन् । इलाम नगरपालिकामा कांग्रेस २५ वर्षपछि नेतृत्वमा फर्किएको हो । ०४९ सालमा कांग्रेसका केशव थापाले प्रमुख जितेयता कांग्रेस नगरको नेतृत्वमा पुग्न सकेको थिएन ।
जिल्लाको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ । एमालेबाट अध्यक्षका उम्मेदवार खम्बसिंह लिम्बूले गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका धनकुमार लिम्बूलाई एक हजार छ सय १७ मतले पराजित गरेका हुन् । एमालेका लिम्बूले आठ हजार एक सय ३२ मत पाउँदा माओवादीका लिम्बूले छ हजार पाँच सय १५ मत पाएका छन् । उपप्रमुखमा नेकपा एमालेकी हिमा भण्डारी निर्वाचित भएकी छिन् । उनले नेपाली कांग्रेसका हेमबहादुर लिम्बूलाई एक हजार पाँच सय ३० मतले पराजित गरेकी हुन् । भण्डारीले सात हजार आठ सय ७५ मत पाउँदा लिम्बूले छ हजार तीन सय ३६ मत पाएका छन् ।
त्यसैगरी, इलामको देउमाई नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारलाई हराउँदै नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुवैजना दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । पोख्रेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गरेका हुन् । पोखरेलले आठ हजार छ सय ९५ मत प्राप्त गर्दा दुलालले सात हजार छ सय २२ मत प्राप्त गरेका छन् । उपप्रमुखमा राईले आठ हजार ५६३ मत ल्याएर विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम राईले पाँच हजार ७६५ मत प्राप्त गरेका छन् ।(नयाँपत्रिकाबाट)


























