१२ जेठ, मेचीनगर : मेचीनगर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले सपथ ग्रहण गरेका छन् । नगरपालिका कार्यालय परिसरमा आयोजित सपथ ग्रहण समाराेहमा नवनिर्वाचित नगरप्रमुख गाेपालचन्द्र बुढाथाेकीले उपप्रमुख मीनाकुमारी पोखरेल सहित सबै वडाध्यक्ष र सदस्यहरूलाई एकमुष्ठ सपथ ग्रहण गराउनु भएकाे छ ।
नगरका प्रमुख प्रशासकीय अधिकृत सुरेश दाहालकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संविधान सभा सदस्य रविन काेइराला, निर्वतमान नगरप्रमुख विमल आचार्य, एमाले नेता विष्णु प्रसाईं, काँग्रेस झापाका उपसभापति केशवराज पाण्डे, काँग्रेसबाट प्रमुख पदका उम्मेद्वार इन्द्र बहादुर बुढाथाेकी, माओवादीबाट उपप्रमुख पदका उम्मेद्वार प्रकाश भण्डारी लगायत नगरका पूर्व जनप्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।
नगरका शिक्षा शाखा प्रमुख हाेमनाथ भण्डारीले स्वागत मन्तव्य राख्नु भएकाे कार्यक्रम नगरका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे । यसअघि आज बिहान जिल्ला अदालत झापाका मुख्य न्यायधीशबाट मेचीनगरका नवनिर्वाचित नगरप्रमुख गाेपालचन्द्र बुढाथाेकीले सपथ ग्रहण गर्नु भएकाे थियाे ।

























